बागलुङ । पछिल्लो समय प्रजनन् स्वास्थ्य सम्बन्धी जटिलता बढ्दै गएको छ । प्रजनन स्वस्थ्यप्रतिको हेलचक्राइ, समयमै रोगको पहिचान नहुँदा प्रजननसम्बन्धी स्वास्थ्य समस्या जटिल बन्दै गइरहेको बागलुङका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा प्रजनन स्वास्थ्य तथा रोग सम्बन्धी सञ्चारकर्मी तथा सरोकारवालासँग आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख प्रविण शर्माले प्रजननसम्बन्धी समस्या आम महिलालाई बुझाउन कठिन भइरहेको बताउनुभयो । उहाँले रोग लुकाउने तथा बेवास्ता गर्ने प्रवृत्तिका कारण समस्या थप जटिल बन्ने र अन्तिममा मात्रै स्वास्थ्यकर्मीको पहुँचमा आउने गरेको पाइएको बताउनुभयो । शर्माले दुर्गम गाउँका महिलाहरु स्वास्थ्य चौकी समेत आउन नमान्ने बताउनुभयो ।
शर्माले बागलुङका निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका क्षेत्रमा स्वास्थ्यसम्बन्धी जनचेतनामा अझै कमी आएको बताउनुभयो । दुर्गम गाउँमा अशिक्षा र चेतनाको कमीका कारण प्रजनन स्वास्थ्य समस्या बढ्दै गएको बताउदै सबैले रोग लुकाउनु हुँदैन भन्ने सन्देश दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कार्यालयका जनस्वास्थ्य निरीक्षक समिता घिमिरेले महिलाको प्रजनन स्वास्थ्य, स्तनक्यान्स, आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सरको लक्षण र उपचारका विषयमा सहजीकरण गर्नुभएको थियो । प्रजनन् रोग, तिनका लक्षण, पहिचान र उपचारका विषयमा सबै जानकार हुन आवश्यक रहेको बताउनुभयो । प्रजननसम्बन्धी रोग समयमै पहिचान गर्न सके उपचार सहज हुने भन्दै परिवारका महिलाको प्रजनन स्वास्थ्यप्रति पुरुषहरूले पनि चासो दिनुपर्ने बताउनुभयो । आमाको स्याहार सुसार तथा संकास्पद देखिएका स्वास्थ्यकर्मीकोमा पु¥याउनुभयो ।
धौलागिरि प्रादेशिक अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. विजय वझाले प्रजनन सम्बन्धी सेवा लिन धेरै विरामीहरु हिचकिचाउने गरेको सुनाउनुभयो ।
रोगको उपचार सरकारी अस्पतालमा निःशुल्क हुने भए पनि सेवाको उपयोग गर्नेको संख्या न्यून रहेको बताउदै उहाँले नियमित स्वास्थ्य परीक्षणको आवश्यकता समाजमा फैलाउन आवश्यक रहेको सुनाउनुभयो । समस्या देखिएपछि मात्र अस्पताल जाने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउदै दुर्गम गाउँका महिलामा सचेतना ल्याउन आवश्यक रहेको बताउनुभयो । “समस्या नहुँदै गरिने नियमित परीक्षणले रोग लागिहाले पनि समयमै उपचार गर्न सहज हुन्छ,” उहाँले भन्नुभयोे ।
डा. वझाले अस्पतालबाट प्रदान भइरहेका प्रजनन स्वास्थ्यसम्बन्धी सेवाबारे पनि जानकारी गराएका थिए । कार्यक्रममा जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिका लागि सञ्चारमाध्यम, स्वास्थ्य संस्था र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन कार्यालयका क्षयरोग तथा कुष्ठरोग निरीक्षक देवप्रकाश घिमिरेले गर्नुभएको थियो भने प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले समापन गर्नुभएको थियो । शर्माले अझै दुरदराजमा स्वास्थ्यचौकी आउन नमन्दा आमा र बच्चा दुबै जोखिममा रहेको र भविश्यमा आमामा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर लगायतको समस्या देखिने बतानुभयो ।