• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

किन बिर्सियो एमाले बागलुङले आफ्नै वैचारिक धरोहर ?

बागलुङ । आज जेठ ३ गते, नेपाली कम्युनिष्ट आन्दोलनका दुई प्रभावशाली पात्र—नेकपा एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित को स्मृतिमा देशभर विभिन्न कार्यक्रम भएका छन् ।
तर, जनताको बहुदलीय जनवाद (जबज) को नारा सबैभन्दा धेरै घन्किने जिल्लामध्ये एक बागलुङमा भने यस वर्ष स्मृति दिवस मौनजस्तै बन्यो ।

एमालेले अपनाउदै आएको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) का प्रणेताका रुपमा रहेका मदन भण्डारी र उनका सहयात्री जिवराज आश्रितलाई एमाले बागलुङले बिर्सेको कि ? गुटगत समस्यामा अल्झेको ? भन्ने चर्चा एमाले वृतमा शुरु भएको छ ।

विगतका वर्षमा सरसफाइ, विचार गोष्ठी, श्रद्धाञ्जली सभा, निवन्ध लेखन, पार्क संरक्षणदेखि रक्तदानसम्मका कार्यक्रम गर्दै आएको नेकपा एमाले बागलुङ यस पटक भने कुनै औपचारिक कार्यक्रमबिनै बसेको छ । पार्टीभित्र चर्किएको आन्तरिक विवाद र लामो समयदेखि बैठकसमेत बस्न नसक्ने अवस्थाका कारण मदन–आश्रित स्मृति दिवस ओझेलमा परेको कार्यकर्ताहरु बताउँछन् ।

“मदनको विचार बोकेर राजनीति गर्ने नेताहरु नै आज मदन–आश्रितलाई सम्झिन नसक्ने अवस्थामा पुगे,” एक पुराना एमाले कार्यकर्ताले गुनासो गरे, “यो केवल कार्यक्रम छुटेको होइन, पार्टीभित्रको संकटको संकेत हो ।”

नेकपा एमाले बागलुङमा महाधिवेशनयता नेतृत्वको विषयलाई लिएर विवाद चुलिएको छ । प्रतिनिधिसभा निर्वाचनपछि जिल्ला कमिटीको बैठक नियमित बस्न सकेको छैन । अध्यक्षको भूमिकादेखि बैठक कसले बोलाउने भन्ने विषयमै अन्योल कायम रहेको स्रोत बताउँछ ।

यही अन्योलले पार्टीका वैचारिक र संगठनात्मक कार्यक्रमसमेत प्रभावित बन्न थालेका छन् ।
एमालेका जिल्ला उपाध्यक्ष विष्णु भुसालले पार्टीको बैठक बस्न नसक्दा कार्यक्रम आयोजना हुन नसकेको स्वीकार गर्नु भयो ।
“केही न केही गरौँ भन्ने छलफल भएको थियो,” उहाँले भन्नुभयो, “तर नेताहरु जिल्ला बाहिर हुनु, बैठक नबस्नु र समन्वय अभावका कारण कार्यक्रम हुन सकेन । पहिला मदन–आश्रित पार्कमा सरसफाइदेखि श्रद्धाञ्जलीसम्म हुन्थ्यो ।”
उपाध्यक्ष भुसालले आफू कार्यवाहक अध्यक्ष नभएको भन्दै कार्यक्रम सञ्चालन गर्ने औपचारिक जिम्मेवारी नपाएको पनि बताउनुभयो ।

जिल्ला सचिव गणेश थापाले पनि यस वर्ष स्मृति दिवस मनाउन नसकिएको स्वीकार गर्दै निर्वाचनपछि पार्टी गतिविधि नियमित हुन नसकेको जानकारी दिनुभयो । पार्टीको दशौ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्ष हिरा बहादुर केसी ११ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवार भएका कारण उहाँको अध्यक्ष पद निष्क्रिय भएको र उपाध्यक्षलाई कार्यवाहक तोक्नका लागि हालसम्म पनि वैठक नबसेका कारण पार्टीका गतिविधि प्राय ठप्प नै छन् ।

छिमेकी जिल्ला पर्वत र म्याग्दीमा भने एमालेले स्मृति दिवस विभिन्न कार्यक्रमसहित मनाएको छ । म्याग्दीमा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको थियो भने पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना गरिएको छ ।

देशभर विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर र श्रद्धाञ्जली कार्यक्रम भइरहँदा बागलुङमा भने एमाले नेतृत्व “तैं चुप मै चुप” देखिनु कार्यकर्तामाझ चासो र निराशाको विषय बनेको छ ।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय सवारी दुर्घटनामा मदन कुमार भण्डारी र जीवराज आश्रितको निधन भएको थियो । तीन दशक बितिसक्दा पनि एमालेले उनीहरुलाई आफ्नो वैचारिक मार्गदर्शकका रुपमा स्मरण गर्दै आएको छ । तर यस वर्ष बागलुङमा भने प्रश्न उठेको छ— जबजको नारा दिनेहरु किन आफ्नै वैचारिक धरोहर सम्झिन चुके ?