• २०८३ आश्विन १९, सोमबार
  • 2026 October 05, Monday

धौलागिरी अस्पतालमा सर्पदंशको सफल उपचार

बागलुङ । धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार गरिएको छ ।

बागलुङको निसीखोला गाउँपालिका–७ राजकुटका ६० वर्षीय जुठे विकलाई शनिबार बिहान ७ बजे विषालु सर्पले टोकेको थियो ।
विकलाई परिवारका सदस्यले बेहोस अवस्थामा बिहान ११ बजे धौलागिरी अस्पताल ल्याएका थिए ।

विषालु सर्पले टोकेर बेहोस भएका विकको सर्पदंशको उपचारका लागि तालिम प्राप्त चिकित्सकको टोलीले धौलागिरी अस्पतालमै सफल उपचार गरेको हो ।

यसअघि पनि सर्पले टोकेका बिरामी अस्पताल आउँथे, उनीहरूको अवस्था हेरेर सामान्य उपचारपछि रेफर गरिन्थ्यो । तर, धौलागिरी प्रादेशिक अस्पताल बागलुङ सर्पदंश उपचार केन्द्रको रूपमा विकास भएपछि विषालु सर्पले टोकेका बिरामीको उपचार गरिएको यो पहिलो पटक हो ।

विषालु सर्पको विष मार्ने औषधिको व्यवस्थापन र चिकित्सकको टोली धौलागिरी अस्पतालमै उपलब्ध रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले बताउनुभयो ।

कन्सल्टेन्ट सर्जन डा. शंकर राज लामिछानेको टोलीले सर्पदंशको सफल उपचार गरेको हो । उपचारपछि निको भएका विकलाई चिकित्सकसँग सम्पर्कमा रहने गरी डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

सर्पले टोकेमा घरेलु उपचार र धामीझाँक्रीको पछि नलागी जतिसक्दो छिटो अस्पताल आउन धौलागिरी प्रादेशिक अस्पताल बागलुङका अध्यक्ष श्रीप्रसाद शर्माले आग्रह गर्नुभयो ।

सबै प्रकारका स्वास्थ्य समस्याको उपचार बागलुङमै गराउने गरी अस्पतालको स्तरोन्नति र व्यवस्थापनमा व्यवस्थापन तथा प्रशासन टोली लागिरहेको भन्दै उहाँले यस क्षेत्रका बिरामीलाई पोखरा–काठमाडौँ जानुभन्दा पहिले एकपटक धौलागिरी अस्पतालमा सेवा लिन आउनका लागि समेत आग्रह गर्नुभयो ।