बागलुङ । निर्माण व्यवसायी संघ बागलुङले निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि, मूल्य समायोजन तथा निर्माण व्यवसाय संकटमा परेको भन्दै जिल्लाका विभिन्न सरकारी कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापन पत्र बुझाउदै काम ठप्प पार्ने चेतावी निर्माण व्यवसायीले दिएका छन् । निर्माण व्यवसायी संघ बागलुङका अध्यक्ष रामराज गुरुङले मुल्य समायोजन नभए काम गर्न नक्ने भन्दै निर्माण ठप्प पार्ने चेतावनी सहित ज्ञापन पत्र बुझाइएको छ ।
संघले जिल्ला प्रशासन कार्यालय बागलुङ, सडक डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय, सघन शहरी विकास तथा भवन निर्माण आयोजना, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तथा बागलुङ नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो ।
संघका महासचिव ध्रुव खड्काद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा पछिल्लो समय डिजेल, बिटुमिन लगायत निर्माण सामग्रीको मूल्यमा अत्याधिक वृद्धि हुँदा निर्माण व्यवसायी मारमा परेको उल्लेख गरिएको छ । ज्ञापनपत्रमा पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण निर्माण कार्य प्रभावित भएको, लागतअनुसार मूल्य समायोजन नहुँदा व्यवसायी आर्थिक संकटमा परेको तथा सरकारले समयमै उचित निर्णय नगरे सम्पूर्ण निर्माण कार्य स्वतः बन्द हुने अवस्था सिर्जना हुने चेतावनी दिइएको छ ।
संघले निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने, बैंक ग्यारेन्टी जफत गर्ने जस्ता कार्य तत्काल रोक्न, सबै आयोजनाको म्याद थप गर्न तथा आवश्यक बजेट व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।