• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

गण्डकीका सहकारी रजिष्ट्रार रिजालको सरुवा : २८ महिनामा ५० करोड बचत फिर्ता

सारांश

२८ महिनामा भएका मुख्य काम
निष्क्रिय सहकारी संख्या ५२२ बाट घटाएर २७७ मा झारियो ।
अद्यावधिक सहकारी संख्या ४२२ बाट बढाएर ५९५ पु¥याइयो ।
सहकारी हिनामिनामा संलग्न संस्थामाथि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाइयो ।
विभिन्न सहकारीबाट करिब ५० करोड रुपैयाँ बचतकर्तालाई फिर्ता गराइयो ।
वार्षिक १०० भन्दा बढी सहकारी संस्था अनुगमन गरियो ।
तीन वर्षमा ३५ भन्दा बढी तालिम तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरियो ।
४२ वटा निष्क्रिय सहकारी संस्था खारेज गरियो ।
आधा दर्जन सहकारीबीच एकीकरण गरियो ।
कार्यालयलाई बेरुजु शून्य बनाइयो ।

बागलुङ । गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयको रजिष्ट्रारको जिम्मेवारीमा साढे दुइ वर्ष पहिला पोखरा आएका भेषराज रिजालको सरुवा भएको छ ।
बारा जिल्ला अन्तरगत महागढीमाइ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएर मधेश प्रदेश छिरेका रिजालले गण्डकीको सहकारी रजिष्ट्रारका रुपमा २८ महिना जिम्मेवारी बहन गर्नु भएको छ ।

सहकारी अभियानमा देखिएको संकटको समयमा प्रदेश अन्तरगतका सहकारीहरुको दर्ता, नियमन, अनगुमन, निर्देशन, नियन्त्रणको जिम्मेवारी सम्हाल्ने महत्वपूर्ण अवसर आफुले पाएको रिजालले बताउनु भएको छ । संकटको बेलामा काम गर्नुको आनन्द नै फरक हुन्छ, जिम्मेवारी लिएर आउदै गर्दा सहकारी क्षेत्रमा पहाड जस्तो समस्याको अनुभूति भएको थियो, तर काम गर्दै जादा समस्याको पहिचान, समन्वय र सहकार्यसंगै समाधानका उपायको खोजी गर्न थालियो र केही हदसम्म सफल पनि भइयो, रिजालले बताउनुभयो ।

धेरै चुनौती थियो, अलमलकै अवस्थामा थियौ, यद्यपी सहकारी अभियान, सरकारी निकाय, सहकारीका शेयर सदस्य लगायत आम सरोकारवालाहरुसंगको सहकार्यले २८ महिना बितेको पत्तै भएन, उहाँले पोखरा बसाईको स्मरणगर्नु भयो । सहकारी अभियानमा देखिएको संकटको समयमा काम गर्दा साथ सहयोग दिने, समन्वय र सहकार्य गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका रिजालसंग आदर्शसञ्चार अनलाइनले गरेको सम्वाद प्रस्तुत गरिएको छ ।

गण्डकी प्रदेशको सहकारी रजिष्ट्रारको जिम्मेवारी कति समय सम्हाल्नुभयो ?

 २०८० मंसिर २० देखि २०८३ बैशाख १४ गतेसम्म अर्थात् २८ महिना २४ दिन कार्यरत रहे । काम गर्छु भनेर मात्र हुँदैन, काम गर्ने अवसर पाउनु र उचित कार्यवातावरण हुनु सबैभन्दा महत्वपूर्ण कुरा हो । मलाई त्यस्तो अवसर प्राप्त भयो ।

सहकारीको रजिष्ट्रारका रुपमा गण्डकी प्रदेशको जिम्मेवारी लिएर आउदा र सरुवा भएर अर्कै कार्यक्षेत्रमा जादाको अनुभूति कस्तो रह्यो ?

 कार्यालयमा आउँदाको समयमा शेयर सदस्य, बचतकर्ता, सञ्चालक, ऋणी समेतले विभिन्न समस्या लिएर आउने गर्दथे । ती समस्या समाधान गरेर कार्यालयबाट बाहिर निस्कन कठिन हुने अवस्था थियो । सबैभन्दा ठूला समस्या तेस्र्याउनेहरु नै हिनामिनामा संलग्न भेटिन थाले । ती सहकारीमा पुगी छानविन वा अनुगमन गरी संलग्नहरुको रकम एकीन गरी रकम तिराउन थालेपछि समाधानले गति लिँदै जान थाल्यो । त्यतिबेला गण्डकी प्रदेश नियमन क्षेत्राधिकारभित्र सहकारीको संख्या ९४४ रहेकोमा ५२२ वटा त निष्क्रिय नै थिए । त्यतिबेला सम्म कार्यालयले एकाध तालिम र अन्तरक्रिया बाहेक राम्ररी अनुगमन कार्य समेत गर्न सकेको थिएन ।

रजिष्ट्रारको जिम्मेवारीमा रहदा गरेका मुख्य मुख्य कामहरु के के हुन् ?

 गण्डकी प्रदेश सरकारको नीति बमोजिम उक्त अवधिमा गरिएका मुख्य कामहरु निम्नानुसार रहेका छन् ।
(क) निष्क्रिय सहकारी खोजी र अद्यावधिक गरी निष्क्रिय सहकारीको संख्या ५२२ बाट झारेर २७७ मा ल्याइयो । अद्ययावधिक सहकारी संख्या ४२२ बाट बढाई ५९५ पु¥याइएको छ ।
(ख) सहकारीको रकम हिनामिना गरी सहकारी संस्था नै बन्द रहेका सहकारी उपर छानबिन गरी हिनामिना रकम तिर्न बुझाउन समय दिइयो । उक्त समयावधिमा हिनामिना असुलउपर नगरी थप सहकारी कसूर तर्फ उद्यत १४ वटा सहकारीलाई आवश्यक कारबाही गर्न लेखी पठाइयो ।
(ग) २८ महिने अवधिमा विभिन्न सहकारीको करिब ५० करोड भन्दा बढी रकम असुल उपर भई बचत कर्ताको बचत र शेयर रकम फिर्ता भएको छ ।
(घ) सहकारीको रकम हिनामिना गर्ने सञ्चालक, व्यवस्थापकका साथै खराब ऋणीलाई कारबाहीका लागि लेखि पठाइयो । हिनामिनामा संलग्न पदाधिकारीको व्यक्तिगत बिगो एकीन गरी पठाउनाले त्यस्ता कतिपय व्यक्तिले आफ्नो रकम तिरी मिलापत्र समेत भएको अवस्था छ ।
(ङ) वार्षिक १०० भन्दा बढी सहकारी संस्था अनुगमन गरियो । सहकारी क्षेत्र सुधारका लागि निष्पक्षतापूर्वक निर्देशन र जरिवाना गरियो । कार्यालयको निर्देशन पालना गर्दै अघि बढेका सहकारी संस्थामा सुधारका संकेत देखिन थालेका छन् ।
(च) सहकारी सम्बन्धी विभिन्न तालिम र अन्तक्रिया गरी वार्षिक ८० भन्दा बढी कार्यक्रम सम्पन्न गरिए । विभिन्न जिल्लाका विभिन्न स्थानीय तह र दूर दराजमा पुगी कार्यक्रम सञ्चालन गर्नाले सहकारी सचेतना वृद्धि भएको छ ।
(छ) गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बमोजिम लिनुदिनु पर्ने दायित्व नरहेका ४२ वटा सहकारी संघ संस्थाको दर्ता खारेजी गरियो ।
(ज) कार्य प्रकृति र कार्य क्षेत्र मिल्दा सहकारीहरुबीच एकीकरण गरियो । उक्त अवधीमा आधा दर्जन सहकारीबीच एकीकरण भयो ।
(झ) कार्यालयको न्यून जनशक्तिबीच उचित कार्य विभाजन, समन्वयबाट समूह कार्य गरी उत्कृष्ट नतिजा निकाल्न सफलता मिल्यो । कार्यालयका अनुभवी र इमान्दार कर्मचारीबाट उल्लेख्य सहयोग मिल्यो । त्यसैगरी कार्यालयका वित्तीय विश्लेषक तथा परामर्शदाताबाट सहकारी छानबिनमा उत्कृष्ट कार्य सम्पादन हुनाले पनि सहकारी क्षेत्र सुधारमा सफलता मिल्न सक्यो ।
(ञ) सहकारी रजिष्ट्रारको कार्यालयमा सहकारीमैत्री सोच, संस्कार र व्यवहार निर्माण गर्न सक्नाले पनि सहकारी क्षेत्र सुधारमा सकारात्मक गति लिन सकेको हो । कार्यालयका कर्मचारी संस्थाको साधारण सभामा नजाने, अनुगमनमा जोड दिने, फजुल खर्च नियन्त्रण गर्न सहकारीलाई प्रोत्साहित गर्ने कार्य भए ।

(ट) यस अवधिमा कार्यालयको तीन आर्थिक वर्षको अन्तिम लेखापरीक्षण गराउने अवसर मिल्यो । उक्त अवधिमा कार्यालयलाई बेरुजु शून्य कार्यालय बनाउन सकियो ।
(ठ) सहकरीका सन्देशमूलक विभिन्न जिङ्गल तयार गरी एफएम रेडियोबाट प्रचार प्रसार गराउने कार्य गरिए, दैनिक पत्रिकाहरुमार्फत सार्वजनिक सूचना र जानकारीहरु दिइयो ।
(ड) विभिन्न सहकारीका विरुद्धमा कार्यालयमा परेका उजुरी निवेदनका सम्बन्धमा यथासम्भव छिटो अनुगमन गरी गुनासो सम्बोधन गरियो । सहकारीको हिनामिना पत्ता लगाई अनुगमन वा छानबिन कुन माध्यमबाट सहकारीको समस्या समाधान हुन्छ भनी रणनीति बनाई कार्य गरियो ।
(ढ) उजुरी निवेदनका सम्बन्धमा सम्बन्धित पक्षबीच छलफल गराई दीगो समाधान निकाल्ने नीति लिइयो । कार्यालय वा सहकारी संस्थामा समेत पुगी समन्वय बैठक सञ्चालन गरियो ।
(ण) सहकारी संस्थाका समस्या समाधान गर्ने हेतुले प्रचलित कानुनी प्रबन्धलाई समेत समेटी विनियम संशोधन वा पुनर्लेखन गरियो । यस अवधिमा करिब १०० जति संस्थाका विनियम संशोधन गरिए ।

नियमनकारी निकायमा बसेर सहकारी क्षेत्रमा काम गर्नु भयो, गण्डकीको सहकारी अभियानका बारेमा धारणा कस्तो रह्यो ?

हालको गण्डकी प्रदेश अन्तर्गत पर्ने साविकका सहकारी डिभिजन कार्यालयको खारेजी र सहकारी रजिष्ट्रारको कार्यालयको कार्यले गति लिई नसकेको अवधीमा केही सहकारीमा विभिन्न अनियमितता मौलाएको देखिन्छ । सहकारीको रकम जसरी पनि आफ्नो बनाउने, खाइमासी भाग्ने प्रवृत्तिलाई नियामकले नियन्त्रण गर्न नसकेको अवस्थाका केही बाछिटा र अवशेष अद्यापी छँदैछन् । त्यस्ता प्रवृत्ति उपर निर्ममतापूर्वक कारबाही गर्ने र राम्रा सहकारीलाई सहजीकरण र प्रोत्साहित गर्दै जाने हो भने गण्डकी प्रदेश सहकारी क्षेत्रका लागि अनुकरणीय र उर्बर क्षेत्र बन्ने निश्चित छ । तथापि गण्डकी क्षेत्रका अधिकांश पालिका नियमन क्षेत्राधिकार भित्रका सहकारीको अनुगमन भने तत्काल गरी सही मार्गमा ल्याउन जरुरी छ ।

गण्डकी प्रदेशको सहकारी अभियानमा देखिएका मुख्य चुनौती, समाधानका उपाय र सम्भवना के देख्नु भयो ?

 केही सहकारी अभियानकर्मीले असल नियतका लागि आएका सहकारी कानुनको अवज्ञाका लागि लविङ गर्ने गरेको पनि पाइयो । कानुन असल आसय र वाध्यकारी हुनाले परिपालना गर्न सहज प्रक्रिया र सरल उपायको खोजी गर्न भने जरुरी छ । तथापी गण्डकी क्षेत्रका अधिकांश सहकारी अभियानकर्मी बौद्धिक, विवेकी र सद्नियतवाला हुनाले सहकारी क्षेत्र सुधार र सुदृढीकरण सम्भव भएको हो । निष्क्रिय सहकारी खोजी गरी सञ्चालन हुन सक्ने अवस्था भएमा साधारणसभा गरी अद्यावधिक गर्ने र सञ्चालन हुन नसक्ने भएमा हिसाब राफसाफ गरी खारेजी गर्नु पर्दछ । एउटै स्थानका धेरै सहकारीबीच एकीकरण हुन जरुरी छ । यस्ता सुधार भएमा सहकारी प्रबल सम्भावनायुक्त क्षेत्र हो । सहकारी क्षेत्र सुधारका लागि सहकारीमा थुप्रिएको तरलता व्यवस्थापन हुन जरुरी छ । राज्यले वैदेशिक ऋण लिनभन्दा सहकारीको पुँजीको उचित परिचालन गर्न‘ उपयुक्त हुन्छ ।

गण्डकी प्रदेशमा रहदा गरेका काम मध्ये उत्कृष्ट लागेको कुनै काम छ कि ?

 सहकारीको रकम हिनामिना पत्ता लागी बचतकर्ताले रकम फिर्ता पाउँदा प्रकट गरेको खुसी अवर्णित छ । निष्क्रिय सहकारी खारेजीबाट त्यस्ता सहकारीका सञ्चालक र शेयर सदस्य निकै खुसी भएको अनुभूत भएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले मापदण्ड बनाउनुभन्दा अघि नै खादा माला, मायाको चिनो वितरण, लामो भाषण नियन्त्रण गर्ने, सहकारीको फजुल खर्च नियन्त्रण गर्ने, साधारणसभालाई सार्थक बनाउने विषयमा कार्यालयले थालनी गरेका प्रयास कार्यान्वयन भएको देखेर औधि खुसी लाग्थ्यो । कार्यालयबाट विदा हुनुभन्दा ३ दिन अगाडि २०८३ वैशाख ११ गते स्थानीय तहका पदाधिकारी र कर्मचारीसँग दमौलीमा गरिएको अन्तरक्रियाबाट पारित दमौली घोषणापत्रबाट निकै उत्साहित भएको थिएँ । स्थानीय तहका सहकारी सुधारका लागि मार्गदर्शक हुने ठानेर त्यो कार्यक्रमलाई सञ्चार जगतले समेत महत्व दिएको छ ।
गण्डकी प्रदेशका सहकारी सम्बन्धी ऐन नियममा समसामयिक संशोधन भएको, सहकारी संस्थाहरुले प्रयोग गर्ने एप्लिकेशन सफ्टवेयर सम्बन्धी निर्देशिका पारित भएको, ठूलै हिनामिना भएका केही बाँकी सहकारीको छानबिन गरी बचतकर्ताको रकम फिर्ता भएको हेर्ने रहर छ । केही निष्क्रिय सहकारी खारेज गर्न जरुरी छ । चालु आवको अन्त्यसम्ममा राम्रै नतिजा निकाल्ने योजना पूर्णरुपेण सफल हुन पाएन । तथापी छोटो समयमा जे जति गरियो, सन्तुष्टी मिलेको छ । यस सफलतामा कार्यालयका कर्मचारीहरुको पनि उत्तिकै हात छ । तसर्थ, कार्यालयले बाँकी कामलाई निरन्तरता दिनेछ भन्ने अपेक्षा समेत छ ।

सहकारी अभियान र राज्यका निकायको भूमिका कस्तो रह्यो, के गर्दा थप सुधार हुन सक्छ ?

 गण्डकी प्रदेशका सहकारी अभियानकर्मीबाट सकारात्मक सहयोग र सुझाव प्राप्त भए । गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सहकारी हेर्ने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, विभिन्न जिल्लाका जिल्ला सहकारी संघ लगायत विषयगत सहकारी संघहरु, विभिन्न जिल्लाका जिल्ला प्रहरी कार्यालय समेतबाट सह्राहनीय सहयोग प्राप्त भयो । मिडिया जगतबाट सहकारी क्षेत्रप्रति उल्लेख्य फोकस प्राप्त भएको छ । विगतमा काम गरेका अन्य कार्यालयमा झैँ सहकारी रजिष्ट्रारको कार्यालय, पोखरामा कार्यरत रहँदा पनि केही गर्न सकेको आत्मसन्तुष्टि र खुसीले जीवन थप उर्जाशील बनेको छ । यो खुसीले जिन्दगीका कठिन घुम्तीहरुमा पनि हिम्मतिला पाइला टेक्न सक्ने आत्मबल हासिल भएको छ । सहकारी क्षेत्रलाई समस्याको थुप्रोका रुपमा होइन, सहजीकरण र समन्वय मार्फत समाजको आर्थिक विकास र सामाजिक रुपान्तरणको महत्वपूर्ण आधारस्तम्भका रुपमा विकास गर्नका लागि यसमा आवद्ध अभियानकर्मी लगायत सरोकारवाला सबैको साथ सहयोग आवश्यक छ ।
धन्यवाद