बागलुङ । सरकारी विज्ञापन नीति प्रेस तथा सञ्चारमाध्यममैत्री नभएको भन्दै त्यसविरुद्ध हस्ताक्षर नेपाल पत्रकार महासंघ बागलुङ शाखाले संकलन अभियान सुरु गरेको जनाएको छ ।
स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमलाई विभेद गर्ने, स्वतन्त्र पत्रकारितामाथि असर पार्ने र साना मिडियालाई संकटमा पार्ने खालका प्रावधान सच्याउन महासंघले सरकारसँग माग गर्दै अभियान थालेको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा ‘अविरल’ले जानकारी दिनुभयो ।
पत्रकारको संकलित हस्ताक्षर अभियान सकिएपछि सम्बन्धित निकायमा बुझाइनेछ । विज्ञापन वितरण प्रणाली पारदर्शी, समानुपातिक र लोकतान्त्रिक बनाउन दबाब सिर्जना गरिने शाखाका कोषाध्यक्ष सुवास गौतमले जानकारी दिनुभयो ।
जेठ १३ गतेसम्म महासंघ बागलुङको कार्यालयमा हस्ताक्षर संकलन अभियान जारी रहने छ । महासंघले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सरकारी विज्ञापन निजी र सामुदायिक सञ्चारमाध्यमलाई नदिने विभेदकारी निर्णय र परिपत्र खारेज गर्न माग गर्दै दबाबमूलक आन्दोलन सुरु गरेको हो ।
महासंघले संचार तथा सूचना प्रविधि मन्त्रीलाई ज्ञापन पत्र पनि दिएको थियो । तर सञ्चार मन्त्रालय समस्या समाधानमा उदासिन देखिएको भन्दै बुधबारबाट महासंघले आन्दोलन थालेको हो ।