• २०८३ आश्विन १३, मंगलवार
  • 2026 September 29, Tuesday

निसीखोलामा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी अभिमुखीकरण

बागलुङ । निसीखोला गाउँपालिकाको आयोजनामा “अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ । आइतवार गाउँपालिकाका उपाध्यक्ष प्रेम बहादुर घर्तीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्ती को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी कानुनी व्यवस्था, यसको प्रभावकारी कार्यान्वयन तथा विद्यालय उमेरका सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्ने विषयमा विस्तृत छलफल तथा अभिमुखीकरण गरिएको थियो । सहभागीहरूले स्थानीय तह, विद्यालय तथा अभिभावकबीचको समन्वयलाई अझ प्रभावकारी बनाउँदै विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका थिए ।

कार्यक्रममा माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरू तथा निसीखोला गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन तथा नीतिगत व्यवस्थाबारे जानकारी दिँदै प्रत्येक बालबालिकाले गुणस्तरीय शिक्षाको अवसर पाउनुपर्ने विषयमा जोड दिइएको थियो । साथै विद्यालय भर्ना, नियमित उपस्थिती र सिकाइ उपलब्धि सुधारका लागि सबै सरोकारवाला निकायले साझा जिम्मेवारीका साथ काम गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो । कार्यक्रमको सञ्चालन निसीखोला गाउँपालिकाका शिक्षा अधिकृत बिष्णु प्रसाद न्यौपानेले गर्नुभएको थियो ।