• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि ढोरपाटन घोषणा–पत्र जारी

बागलुङ । राष्ट्रिय जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा आयोजित वृहत अन्तरक्रिया कार्यक्रमबाट “प्रश्न जनताको, जवाफ राज्यको” विशेष कार्यक्रममार्फत १० बुँदे ढोरपाटन घोषणा–पत्र–२०८३ जारी गरिएको छ ।

पश्चिम बागलुङ संयुक्त दलित समन्वय समितिको संयोजन तथा ढोरपाटन र गलकोट नगरपालिका,ताराखोला,निसीखोला र तमानखोला गाउँपालिकाको सहयोगमा बिहीवार ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा सञ्चालित कार्यक्रमबाट घोषणा–पत्र जारी गरिएको हो । घोषणा–पत्रमा नेपाली समाजमा युगौँदेखि कायम रहेको जातीय भेदभाव तथा छुवाछूत व्यवहारिक रूपमा अझै पूर्ण रूपमा अन्त्य हुन नसकेको उल्लेख गर्दै समानता, मानवअधिकार र सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि सबै सरोकारवालाले साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।

घोषणा–पत्रमा जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि संविधान र प्रचलित कानुनको प्रभावकारी कार्यान्वयन गर्ने, भेदभाव गर्ने व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाही गर्ने, सार्वजनिक पदमा रहेका व्यक्तिबाट कुनै पनि प्रकारको भेदभावजन्य व्यवहार हुन नदिने लगायतका प्रतिबद्धता जनाइएको छ । त्यसैगरी दलित समुदायको शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय र सुरक्षामा पहुँच अभिवृद्धि गर्ने, विद्यालय, सरकारी कार्यालय, मठमन्दिर तथा सार्वजनिक एवं निजी क्षेत्रलाई भेदभावमुक्त क्षेत्रका रूपमा विकास गर्ने, दलित समुदायको सशक्तीकरण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने विषय पनि घोषणा–पत्रमा समेटिएको छ ।

सार्वजनिक निकायबाट प्रदान गरिने सेवामा दलित समुदायको सहज पहुँच सुनिश्चित गर्ने, समाजमा सामाजिक सद्भाव, सहिष्णुता, मेलमिलाप र आपसी सम्मानको भावना विकास गर्ने तथा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै नागरिक समाज, सञ्चारमाध्यम र सरोकारवाला निकायबीच निरन्तर सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
घोषणा–पत्रमा जातीय भेदभाव तथा छुवाछूतबाट पीडितको संरक्षण र पुनःस्थापनाका साथै दलित समुदायको समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सम्बन्धित निकाय जिम्मेवार र प्रतिबद्ध रहने उल्लेख गरिएको छ । घोषणा–पत्रमा प्रतिनिधिसभा सदस्य सोम शर्मा, गण्डकी प्रदेशसभा सदस्य दिलमाया पौवी, जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराल, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईं, जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता भीमप्रसाद भुर्तेल, ढोरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख धनबहादुर कायत, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा, ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक (हिमाल) लगायत विभिन्न राजनीतिक दल तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ ।

पश्चिम बागलुङ संयुक्त दलित समन्वय समितिको संयोजनमा जारी घोषणा–पत्रले जातीय विभेदमुक्त, समतामूलक र समावेशी समाज निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रमको अवसरमा बागलुङ–२ का प्रतिनिसभा सदस्य सोम शर्माले जातीय भेदभाव दलितको मात्र समस्या नभई समग्र राज्यको समस्या रहेको भन्दै अहिलेको सरकारले सुरुमै दलित समुदायलाई माफी मागेर समस्या समाधानका लागि सुरु गरेको बताउनु भयो । अहिलेको सरकार दलित समुदायको मस्याप्रति गम्भिर रहेको समेत उल्लेख गर्नु भयो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले प्रदेश सरकार सामु दलितको हक अधिकारका निम्ति आवाज उठाने गरेको बताउनु भयो । कार्यक्रममा सहभागिले जनप्रतिनिभि तथा सरोकारवाला निकायलाई प्रश्न गरेका थिए । अझैपनि विभिन्न स्थानमा सार्वजनिक भोजमा दुई भान्छाको प्रयोग भएको,दलित समुदायले उत्पादन गरेको सामग्री विक्री वितरणमा बाधा पुगेको,प्रहरीले दलित समुदायको विवादमा मुद्धा दर्ता गर्न आनकानी गरेको,विभेद हटाउन सरकारको नीति तथा कार्यक्रम लगाएतको विषयमा प्रश्न गरेका थिए ।

कार्यक्रम पश्चिम बागलुङ संयुक्त दलित समन्वय समितिका संयोजक दिलिप कुमार विश्वकर्माको अध्यक्षता तमानखोला गाउँपालिका–२ का वडा अध्यक्ष नारायण सुनारको स्वागत र सचिव देव बहादुर विश्वकर्माको सञ्चालन र पत्रकार लोकेन्द्र सुनार र विनोद थापाको सहजीकरणमा सम्पन्न भएको थियो ।