बागलुङ/ राजश्व सुधार कार्ययोजना निर्माणमार्फत बागलुङ नगरपालिका आन्तरिक आम्दानी वृद्धि गर्ने दिशामा सक्रिय बनेको छ ।
नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाको सहयोगमा बुधबार नगरपालिकामा जनप्रतिनिधि, राजश्व शाखाका कर्मचारी तथा वडा सचिवहरूबीच अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सार्वजनिक वित्त व्यवस्थापन विज्ञ दामोदर गिरीले बागलुङ नगरपालिकाले ठोस योजना, दृढ इच्छाशक्ति र प्रभावकारी कार्यान्वयनमार्फत राजश्व संकलनमा उल्लेखनीय सुधार गर्न सक्ने पर्याप्त आधार रहेको उल्लेख गर्नुभयो । उहाँले विकास र सेवाको सम्बन्ध प्रत्यक्ष रूपमा राजश्वसँग जोडिएको स्पष्ट पार्दै कर्मचारी तथा जनप्रतिनिधिहरूको क्षमता विकास, कानुनी आधारको उपयोग र न्यायोचित वितरण प्रणालीमार्फत राजश्व सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
नगर उपप्रमुख तथा राजश्व परामर्श समितिका संयोजक राजु खड्काले लक्ष्यअनुसार राजश्व संकलन हुन नसक्दा नगरको वार्षिक बजेट व्यवस्थापन प्रभावित हुँदै गएको बताउँदै राजश्व सुधार कार्ययोजना निर्माण अपरिहार्य बनेको उल्लेख गर्नुभयो । उहाँले सरोकारवालाबीच साझा बुझाइ निर्माण गर्दै सुझावहरूलाई आगामी आर्थिक वर्षदेखि कार्यान्वयन गर्ने गरी योजना अघि बढाइने जानकारी दिनुभयो ।
उहाँले प्रविधिको प्रयोग, व्यवसायी तथा नागरिकमा राजश्व सचेतना अभिवृद्धि र कर्मचारी–जनप्रतिनिधिको क्षमता विकासलाई प्राथमिकतामा राखिने पनि स्पष्ट गर्नुभयो ।
५६ हजार १ सय २ जनसंख्या रहेको नगरपालिकामा राजश्व शाखा र वडा कार्यालयमार्फत राजश्व संकलन हुँदै आएको छ । साथै घुम्ती शिविर तथा घरदैलो सेवामार्फत पनि कर संकलन भइरहेको छ । उद्योग वाणिज्य संघसँगको सहकार्यमा सार्वजनिक–निजी साझेदारीमार्फत व्यवसाय कर संकलनको अभ्यास पनि गरिएको छ ।
नगरपालिकाले घरबहाल कर, व्यवसाय कर, सम्पत्ति कर, सिफारिस दस्तुर, नक्सापास लगायतका शीर्षकबाट राजश्व संकलन गर्दै आएको छ ।