• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

धवलागिरि बहुमुखी क्याम्पसमा आयोजित प्रथम राष्ट्रिय सेमिनार : अनुसन्धान र नवप्रवर्तनको दिशामा ऐतिहासिक पहल

परिचय
उच्च शिक्षा केवल ज्ञान हस्तान्तरणको माध्यम मात्र होइन, समाज रूपान्तरण, नीति निर्माण, नवप्रवर्तन तथा दिगो विकासको प्रमुख आधार हो । विश्वविद्यालय र उच्च शैक्षिक संस्थाहरूले शिक्षणसँगै अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकतामा राख्न सकेमा मात्र विश्वव्यापी प्रतिस्पर्धामा आफ्नो स्थान सुनिश्चित गर्न सक्छन् । नेपालका अधिकांश सामुदायिक क्याम्पसहरू अझै पनि शिक्षण केन्द्रित अभ्यासमा सीमित रहेको अवस्थामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको धवलागिरि बहुमुखी क्याम्पस, बागलुङले पहिलो पटक The Role of Research and Innovation in Higher Educational Institutions शीर्षकमा राष्ट्रिय सेमिनार आयोजना गर्नु अत्यन्त महत्वपूर्ण र दूरगामी महत्वको कदम हो ।

२०८३ जेठ २२ र २३ गते २ दिनसम्म आयोजित उक्त राष्ट्रिय सेमिनारले क्याम्पसको इतिहासमा मात्र नभई धवलागिरि क्षेत्रकै शैक्षिक विकासको यात्रामा नयाँ अध्यायको सुरुवात गरेको देखिन्छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिको सक्रियतामा सम्पन्न उतm कार्यक्रमले क्याम्पसमा अनुसन्धान संस्कृतिको विकासलाई थप प्राज्ञिक नेटवर्क विस्तार गर्ने तथा नविनतम ज्ञान उत्पादनको प्रक्रियालाई सुदृढ बनाएको छ ।

सेमिनारको उद्देश्य र सान्दर्भिकता

नेपालमा उच्च शिक्षाको विस्तार उल्लेखनीय रूपमा भएको छ । देशभर विश्वविद्यालय र क्याम्पसहरूको संख्या बढे पनि अनुसन्धान तथा नवप्रवर्तनको क्षेत्रमा अपेक्षित उपलब्धि भने हासिल हुन नसकेको अवस्था छ । यस्तो अबस्थामा यो कार्यले महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । सन्सारभरका विश्वविद्यालयहरूको मूल्याङ्कनमा अनुसन्धान, प्रकाशन, उद्धरण तथा नवप्रवर्तन महत्वपूर्ण सूचकका रूपमा प्रयोग गरिन्छन् । यस सन्दर्भमा धवलागिरि बहुमुखी क्याम्पसले आयोजना गरेको राष्ट्रिय सेमिनार अनुसन्धानमुखी विश्वविद्यालय निर्माणको अवधारणासँग प्रत्यक्ष रूपमा जोडिएको छ ।

सेमिनारको मूल उद्देश्य उच्च शैक्षिक संस्थाहरूमा अनुसन्धान र नवप्रवर्तनको भूमिका, चुनौती तथा सम्भावनाबारे बहस सिर्जना गर्नु, अनुसन्धानकर्ताहरूलाई साझा मञ्च उपलब्ध गराउनु तथा क्याम्पसमा अनुसन्धान संस्कृतिकोलाई थप उचाईमा पुर्याउनु रहेको छ । विशेषगरी बागलुङ जस्तो राजधानीभन्दा टाढाको क्षेत्रमा यस्ता कार्यक्रमको आयोजना हुनु आफैंमा सकारात्मक र प्रेरणादायी पक्ष हो ।

सहभागिता र विषयगत विविधता

सेमिनारमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय तथा गण्डकी विश्वविद्यालयसँग सम्बन्धित करिब ८० जना अनुसन्धानकर्ता, प्राध्यापकहरूको सहभागिता रहेको उक्त कार्यक्रममा ४४ कार्यपत्रहरू प्रस्तुत गरिनु सेमिनारको महत्वपूर्ण उपलब्धि हो । तीनवटा प्यानलमा छुट्टाछुट्टै सञ्चालन गरिएका कार्यपत्रहरू शिक्षा, शासन, सार्वजनिक प्रशासन, संघीयता, संस्कृति, साहित्य, विज्ञान, कृषि, आदिवासी अध्ययन, वातावरण, जलवायु परिवर्तन, दिगो विकास, बसाइँसराइ, विश्वव्यापीकरण, श्रम तथा विकास, सामाजिक न्याय, लैंगिकता र सहभागिता, नेतृत्व विकास लगायतका विविध विषयमा केन्द्रित थिए ।
यसले सेमिनारलाई केवल एउटा शैक्षिक कार्यक्रम मात्र नभई बहुआयामिक ज्ञान, सीप र क्षमता विकास आदानप्रदानको राष्ट्रिय मञ्चका रूपमा स्थापित गरेको पाइन्छ । विविध विषयगत क्षेत्रको प्रतिनिधित्वले अन्तरविषयक Interdisciplinary अनुसन्धानको आवश्यकता र महत्वलाई समेत उजागर गरेको छ ।

उद्घाटन र समापन सत्रका मुख्य सन्देशहरू

विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्रा.डा. भीमप्रसाद सुवेदीले उद्घाटन र समापन मन्तव्यका क्रममा विश्वविद्यालयहरू अनुसन्धान र नवप्रवर्तनका केन्द्र भएको धारणा प्रस्तुत गर्नुभयो । उहाँका अनुसार विश्वविद्यालयहरू केवल प्रमाणपत्र वितरण गर्ने संस्था होइनन । तिनीहरू राष्ट्र निर्माण, ज्ञान उत्पादन तथा सामाजिक रूपान्तरणका प्रमुख आधार हुन् ।
उहाँले धवलागिरि क्याम्पसको भौतिक पूर्वाधार, विद्यार्थी संख्या तथा प्राज्ञिक गतिविधिको प्रशंसा गर्दै यस प्रकारको राष्ट्रिय सेमिनारले विश्वविद्यालयको समग्र अनुसन्धान स्तर उकास्न सहयोग पुग्ने बताउनुभयो । नेपालको उच्च शिक्षामा लगानी बढ्दै गए पनि गुणस्तरीय प्रतिफल हासिल गर्न चुनौती रहेको उहाँको विश्लेषण निकै सान्दर्भिक देखिन्छ ।
प्रा.डा. सुवेदीको मन्तव्यले अनुसन्धानलाई विश्वविद्यालयको मूल दायित्वका रूपमा पुनःस्थापित गर्ने आवश्यकता औंल्याएको छ । वर्तमान समयमा विश्वस्तरका विश्वविद्यालयहरू अनुसन्धान उत्पादनका आधारमा पहिचान बनाइरहेका बेला नेपाली विश्वविद्यालयहरूले पनि सोही दिशामा अघि बढ्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले विश्वविद्यालयलाई चेतना, ज्ञान र राष्ट्रनिर्माणको केन्द्रका रूपमा व्याख्या गर्नुभयो । उहाँले विद्वानहरूको सम्मेलनले समाजलाई दिशानिर्देश गर्ने र शैक्षिक संस्थाहरूलाई मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । सरकारी प्रशासनको उच्च तहबाट अनुसन्धान र उच्च शिक्षाप्रति व्यक्त गरिएको यस्तो सकारात्मक दृष्टिकोणले शैक्षिक संस्थाहरूलाई थप प्रेरणा प्रदान गर्ने देखिन्छ ।

कार्यक्रमका मुख्यवक्ता पूर्व शिक्षाध्यक्ष प्रा.डा. खडक केसीले उच्च शिक्षामा अनुसन्धान र नवप्रवर्तनलाई शैक्षिक गुणस्तरको प्रमुख आधारका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले विश्वविद्यालय तथा क्याम्पसहरू केवल पठनपाठनमा सीमित नभई ज्ञान उत्पादन, नवीन खोज तथा समाजका समस्याको समाधान खोज्ने केन्द्रका रूपमा विकसित हुनुपर्ने धारणा राख्नुभयो । अनुसन्धानले शिक्षण प्रक्रियालाई प्रभावकारी, तथ्यपरक र समयानुकूल बनाउने उल्लेख गर्दै अनुसन्धान संस्कृतिको विकासका लागि शिक्षक, विद्यार्थी तथा संस्थागत नेतृत्वबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । राजधानीबाहिरका शैक्षिक संस्थाहरूले पनि अनुसन्धानमा सक्रिय भूमिका निर्वाह गर्न थालेकोमा उहाँले खुसी व्यक्त गर्दै धवलागिरि बहुमुखी क्याम्पसको पहल प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

अर्का विशिष्टवक्ता गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले उच्च शिक्षा संस्थाहरूको प्रतिस्पर्धात्मक क्षमता अनुसन्धान र नवप्रवर्तनको स्तरबाट मापन हुने बताउनुभयो । उहाँले अनुसन्धानलाई समाज, उद्योग, प्रविधि र नीतिनिर्माणसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै विश्वविद्यालयहरूले सिर्जनशील सोच, नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न अनुसन्धानमुखी संस्कृति अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले यस्ता राष्ट्रिय सेमिनारहरूले अनुसन्धानकर्ताबीच अनुभव आदानप्रदान, सहकार्य विस्तार तथा नयाँ अनुसन्धानको सम्भावना खोज्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । साथै, दूरदराजका क्याम्पसहरूमा अनुसन्धान गतिविधि विस्तार हुनु उच्च शिक्षाको गुणस्तर सुधारका लागि सकारात्मक संकेत हो ।

क्याम्पस प्रमुखको प्रतिबद्धता

समापन समारोहलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख सहप्राध्यापक डा. सुदर्शन सिलवालले सबैको सक्रिय सहयोग र समन्वयका कारण तालिम सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो। उहाँले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त आर्थिक सहयोग तथा विभिन्न निकाय र व्यक्तिहरूको सहयोगका कारण कार्यक्रम भव्य र उपलब्धिमूलक बनेको उल्लेख गर्नुभयो ।

क्याम्पस प्रमुख सिलवालले प्राध्यापकहरूको प्रशासनिक क्षमता, सीप, दक्षता र गुणस्तर अभिवृद्धि गर्न क्याम्पस निरन्तर प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले संस्थाको समग्र विकासका लागि शिक्षक र कर्मचारी दुवै पक्षको क्षमता विकासलाई प्राथमिकतामा राखिने बताउँदै भविष्यमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो ।
सेमिनारको समापन समारोहमा बोल्दै धवलागिरि बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष प्रा.डा. दिनबहादुर थापाले क्याम्पस निरन्तर गुणस्तरीय शिक्षण, संस्थागत विकास तथा पूर्वाधार विस्तारको दिशामा अगाडि बढिरहेको बताउनुभयो । उहाँले क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि संस्थाको दीर्घकालीन विकासका लागि अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता कायृक्रमले प्राध्यापकहरूमा नयाँ ऊर्जा र उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । विभिन्न विषयमा तयार पारिएका पत्रहरुबाट प्राप्त ज्ञान, सीपले कार्यक्षेत्रमा देखिने व्यावहारिक समस्याहरू समाधान गर्न सहयोग पुग्ने अपेक्षा राख्नु भयो ।

धवलागिरि बहुमुखी क्याम्पसले पछिल्ला वर्षहरूमा शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान विस्तार, पूर्वाधार विकास, प्रविधिमैत्री शिक्षण तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । शिक्षकको क्षमता अभिवृद्धिले महत्वपूर्ण कडीका रूपमा रहेको देखिन्छ । धवलागिरि बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखहरू हरिप्रसाद पाण्डेय, हिरालाल रेग्मी तथा डा. डिल्लीराज गौतमले सहजीकरण गर्नुभएको थियो । समापनको क्रममा पत्रकार महासघका अध्यक्ष राम थापा अविरल, सहभागीका तर्फबाट आर आर क्याम्पसकी प्राध्यापक उमा भण्डारी, म्याग्दी क्याम्पसका सहप्राध्यापक टीकाराम सापकोटा र पोखरा विश्वबिद्यालयका मित्र राष्ट्र चिनका पिएचडी स्कलर सिनोन्न वाउले आफ्नो बिचार राखेका थिए । समापनमा सहभागी, प्रमुख अतिथि, बिशिष्ट अतिथी, अतिथिहरुले कार्यक्रम अत्यन्तै फलदायी भएको प्रतिक्रिया दिनुले उद्धेस्य मुलुक भएकोले सबैलाई सहायक क्याम्पस प्रमुख हिरालाल रेग्मीले धन्यवाद दिनुभयो । यस क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिको सक्रियतामा सम्पन्न उतm कार्यक्रम क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. डिल्लीराज गौतमको नेतृत्वमा गठित उपसमिति लगायत १७ वटा कार्य विभाजन गरिएका सबै शिक्षक कर्मचारीको अथक प्रयत्नले यो कार्य सम्पन्न भएको थियो । यसकार्यमा सहजीकरण सहायक क्याम्पस प्रमुखहरू हरिप्रसाद पाण्डेय गर्नुभएको थियो ।

धवलागिरि क्याम्पसको संस्थागत पहल

धवलागिरि बहुमुखी क्याम्पस विगत केही वर्षदेखि शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विस्तार तथा अनुसन्धान गतिविधि वृद्धि गर्ने दिशामा सक्रिय देखिन्छ । क्याम्पस प्रमुख डा. सुदर्शन सिलवालको मन्तव्यले क्याम्पसको दीर्घकालीन अनुसन्धान रणनीति स्पष्ट पार्दछ ।
उहाँका अनुसार राष्ट्रिय सेमिनारको आयोजना क्याम्पसलाई विश्वविद्यालयस्तरीय अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने प्रयासको महत्वपूर्ण हिस्सा हो । अनुसन्धान व्यवस्थापन समितिको सक्रियताले क्याम्पसमा अनुसन्धान संस्कृतिको विकास हुँदै गएको संकेत गर्दछ ।
सहायक क्याम्पस प्रमुख तथा सेमिनार संयोजक डा. डिल्लीराज गौतमको नेतृत्वमा सम्पन्न कार्यक्रमले क्याम्पसको व्यवस्थापकीय क्षमता र प्राज्ञिक सक्रियता दुवैलाई उजागर गरेको छ ।
अनुसन्धान र नवप्रवर्तनको वर्तमान आवश्यकता

२१औँ शताब्दी ज्ञान र नवपर्वतनको युग हो। कुनै पनि राष्ट्रको विकास केवल प्राकृतिक स्रोतसाधनमा आधारित हुँदैन; अनुसन्धान, प्रविधि र नवप्रवर्तनले नै आर्थिक तथा सामाजिक रूपान्तरणको आधार निर्माण गर्दछन् ।
नेपालमा अनुसन्धानका लागि पर्याप्त बजेट, प्रयोगशाला, प्रोत्साहन तथा संस्थागत सहयोगको अभाव देखिन्छ । अधिकांश अनुसन्धान पदोन्नति केन्द्रित हुने तथा समाजका वास्तविक समस्यासँग कम सम्बन्धित हुने आलोचना पनि गरिन्छ ।
यस्तो अवस्थामा धवलागिरि क्याम्पसले अनुसन्धान र नवप्रवर्तनलाई केन्द्रमा राखेर राष्ट्रिय सेमिनार आयोजना गर्नु निकै सान्दर्भिक छ । यसले अनुसन्धानलाई केवल शैक्षिक आवश्यकता नभई सामाजिक उत्तरदायित्वका रूपमा स्थापित गर्न सहयोग पुर्याउन सक्दछ ।

सेमिनारका उपलब्धि

यस राष्ट्रिय सेमिनारका प्रमुख उपलब्धिहरू निम्नानुसार रहेका छन–
१. अनुसन्धान संस्कृतिको विकास – क्याम्पसमा पहिलो पटक राष्ट्रिय स्तरको अनुसन्धानमूलक कार्यक्रम सम्पन्न हुनु आफैंमा ठूलो उपलब्धि हो । यसले शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरूमा अनुसन्धानप्रतिको रुचि अभिवृद्धि गर्नेछ ।
२. राष्ट्रिय स्तरको नेटवर्क निर्माण – विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा शोधार्थीहरूको सहभागिताले अन्तरविश्वविद्यालयीय सहकार्यको सम्भावना बढाएको छ ।
३. ज्ञान आदानप्रदान –४४ बटा कार्यपत्र प्रस्तुत हुनुले नयाँ ज्ञान, विचार तथा अनुभव आदानप्रदानको अवसर प्रदान गरेको छ ।
४. क्याम्पसको पहिचान विस्तार – यस कार्यक्रमले धवलागिरि बहुमुखी क्याम्पसलाई राष्ट्रिय स्तरमा अनुसन्धानमुखी शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सहयोग गरेको छ ।
५. स्थानीय स्तरमा शैक्षिक वातावरण निर्माण –बागलुङ जस्तो जिल्लामा राष्ट्रिय स्तरको प्राज्ञिक कार्यक्रम हुनु स्थानीय समुदाय तथा विद्यार्थीहरूका लागि प्रेरणादायी पक्ष हो ।
चुनौतीहरू
केही समस्याका बावजुद सेमिनार सफलतापूर्वक सम्पन्न भएको देखिन्छ, केही संरचनागत चुनौतीहरू भने कायम छन् ।
पहिलो, अनुसन्धानका निष्कर्षहरूलाई व्यवहारमा रूपान्तरण गर्ने संयन्त्र कमजोर छ ।
दोस्रो, अनुसन्धान प्रकाशन तथा अन्तर्राष्ट्रिय जर्नलसँगको पहुँच सीमित छ ।
तेस्रो, अनुसन्धानका लागि आवश्यक वित्तीय स्रोत र पूर्वाधार पर्याप्त छैन ।
चौथो, अधिकांश सामुदायिक क्याम्पसहरूमा अनुसन्धानलाई प्राथमिकता दिने संस्थागत संस्कृति अझै विकास हुन सकेको छैन ।
यदि सेमिनार केवल वार्षिक कार्यक्रमका रूपमा सीमित भयो भने यसको प्रभाव सीमित हुन सक्दछ । त्यसैले अनुसन्धानलाई निरन्तर संस्थागत प्रक्रियामा रूपान्तरण गर्न आवश्यक छ ।
भविष्यका सम्भावना
यस राष्ट्रिय सेमिनारले धवलागिरि क्याम्पस र यस क्षेत्रका लागि धेरै सम्भावनाहरू सिर्जना गरेको छ । अनुसन्धान जर्नल प्रकाशन, अनुसन्धान केन्द्र स्थापना, अन्तर्राष्ट्रिय सम्मेलन आयोजना, विश्वविद्यालय, स्थानीय संघसस्था तथा उद्योग व्यावसायीबीच सहकार्य, थप शिक्षक विद्यार्थी र समुदाय अनुसन्धान अनुदान कार्यक्रम, स्थानीय समस्या केन्द्रित अनुसन्धान परियोजना, विशेषगरी जलवायु परिवर्तन, बसाइँसराइ, कृषि, पर्यटन, जैविक विविधता तथा सामाजिक रूपान्तरण जस्ता बागलुङ र धवलागिरि क्षेत्रसँग सम्बन्धित विषयमा अनुसन्धान विस्तार गरी रोजगार प्रदान गर्न तथा स्वरोजगार हासिल गर्न सकिन्छ ।
निष्कर्ष
धवलागिरि बहुमुखी क्याम्पस, बागलुङद्वारा आयोजित “उच्च शैक्षिक संस्थाहरूमा अनुसन्धान र नवप्रवर्तनको भूमिका” विषयक प्रथम राष्ट्रिय सेमिनार क्याम्पसको इतिहासमा मात्र नभई समग्र धवलागिरि क्षेत्रको शैक्षिक विकास यात्रामा एउटा महत्वपूर्ण माइलस्टोनका रूपमा स्थापित भएको छ । यस कार्यक्रमले अनुसन्धान, नवप्रवर्तन र प्राज्ञिक सहकार्यलाई केन्द्रमा राखेर उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने दिशामा सकारात्मक सन्देश दिएको छ ।
नेपालको उच्च शिक्षाले सामना गरिरहेका गुणस्तर, अनुसन्धान तथा विश्वव्यापी प्रतिस्पर्धाका चुनौतीहरूलाई सम्बोधन गर्न यस्ता कार्यक्रमहरूको निरन्तरता अपरिहार्य छ । धवलागिरि क्याम्पसले प्रारम्भ गरेको यो अभियान आगामी दिनमा अनुसन्धानमुखी विश्वविद्यालय निर्माण तथा ज्ञानमा आधारित समाजको विकासतर्फ महत्वपूर्ण योगदान पुर्याउने विश्वास गर्न सकिन्छ । अन्ततः, राष्ट्रिय सेमिनार केवल दुई दिने कार्यक्रम मात्र नभई अनुसन्धान संस्कृतिको दीर्घकालीन जग बसाल्ने ऐतिहासिक प्रयासका रूपमा स्मरणीय रहनेछ ।