बागलुङ । वर्खा सुरु हुने बेला विपद् सूचना दिएर आउँदैन भन्ने चेतावनीसहित बागलुङमा विपद् पूर्व तयारी अभ्यास सम्पन्न गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बागलुङको आयोजनामा गरिएको अभ्यासमा उद्दार, उपचार, व्यवस्थापन, राहत र पुनःस्थापना जस्ता चुनौतीपूर्ण पक्षलाई व्यवस्थित गर्ने उपायहरू प्रदर्शन गरिएको हो ।
बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी नवराज बरालले विपद् पूर्वको तयारी, उद्दार प्रक्रिया, स्वास्थ्य उपचार, सूचना र सञ्चार, राहात र पुनःस्थापना जस्ता पक्षलाई व्यवस्थित बनाउनका लागि सरोकारवालाई संवेदनशिल बनाउन यस प्रकारको अभ्यास गरिएको बताउनु भएको थियो ।
विपद् आउनुअघि आवश्यक उपकरण, तालिम र जनशक्ति तयारीमा राख्ने, नदी, खोला वा पहिरोमा फसेका व्यक्तिलाई सुरक्षित स्थानमा पु¥याउने तरिका, घाइतेलाई प्राथमिक उपचार र अस्पतालसम्म पु¥याउने व्यवस्था, प्रभावितलाई तत्काल खाद्यान्न, पानी, वस्त्र र आश्रय उपलब्ध गराउने, विपद्पछि प्रभावित परिवारलाई दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्ने र विपद् पूर्व र विपद्पछि समेत भ्रामक सूचना फैलिन नदिन प्रभावकारी सञ्चार व्यवस्थापन गर्नका लागि यस प्रकारको अभ्यास महत्वपूर्ण हुने निमित्त प्रमुख जिल्ला अधिकारी नवराज बरालले बताउनु भयो ।
बागलुङ नगरपालिका–१ निरयघाटमा गरिएको अभ्यासमा कालिगण्डकी नदी थुनिँदा वा बाढीमा फसेका व्यक्तिहरुलाई कसरी सुरक्षित उद्दार गर्ने भन्नेबारे प्रत्यक्ष डेमो देखाइएको थियो । प्रहरी, नेपाली सेना, स्वास्थ्यकर्मी तथा स्वयंसेवक, विद्यार्थी र सञ्चारकर्मीको संयुक्त सहभागितामा गरिएको अभ्यासले विपद् व्यवस्थापनमा बहु–संस्थागत सहकार्यको आवश्यकता स्पष्ट पारेको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले बताउनु भयो । समयमै तयारी, संस्थागत सहकार्य र नागरिक सचेतनाले विपद् नियन्त्रणलाई सहज बनाउन सक्ने उहाँको भनाई थियो ।
विद्यार्थीलाई विपद् व्यवस्थापनको डेमो देखाउन लगेका न्यू ओएसिस एकडेमी बागलुङका शिक्षक सागर क्षत्रीले यस प्रकारको अभ्यासले विपद् व्यवस्थापन औपचारिकता मात्र नभएर जीवनरक्षासँग प्रत्यक्ष सम्बन्धित विषय हो भन्ने सन्देश दिएको बताउनु भयो ।