बागलुङ । महिला हित सहकारीले आफ्ना शेयर सदस्यहरूलाई लक्षित गर्दै वित्तीय साक्षरता तथा आगामी वर्षको कार्ययोजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा संस्थाका जेष्ठ सदस्य सुमित्रा शाक्यले गमलामा जलसिंचन गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
राष्ट्रिय सहकारी महासंघकी सञ्चालक हुमा कुमारी जी.सी.ले सहकारीका सदस्यलाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा हालसम्मका क्रियाकलापहरूको जानकारी दिइएको थियो भने आगामी वर्षका लागि कार्ययोजना, बजेट व्यवस्थापन तथा संस्थागत व्यवस्थापनबारे विस्तृत छलफल गरिएको थियो ।
शेयर सदस्यहरूको सेवा अझ प्रभावकारी बनाउन र संस्थालाई तीव्र गतिमा अघि बढाउन आवश्यक योजनाबारे सदस्यहरूको भनाइ तथा लेखाइमार्फत सुझाव संकलन गरिएको छ । कार्यक्रममा १०६ जना शेयर सदस्यहरूको उपस्थिति रहेको थियो । उद्यमशीलता र पारदर्शितालाई थप मजबुत बनाएर अगाडी बढ्ने बताइएको छ ।
कार्यक्रममा सल्लाहकार मन के.सी., शेयर सदस्य रेवती किसान, जेष्ठ सदस्य तिलकुमारी रानाले मन्तव्य व्यक्त गर्नुभएको थियो । महिला हित सहकारीका अध्यक्ष लिला देवी के.सी. खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव पम्फा किसानले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष विद्या खड्काले दिनुभएको थियो ।