• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

प्रेस स्वतन्त्रताको पक्षमा काठेखोलाको प्रतिवद्धता, सञ्चार क्षेत्रको खर्चबारे मौन

  • २०८३ असार ६, शनिबार

बागलुङ। काठेखोला गाउँपालिकाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा पत्रकारसँगको सहकार्यप्रति आफ्नो प्रतिबद्धता दोहो¥याएको छ ।

केही दिनअघि गाउँपालिकासँग सम्बन्धित समाचार प्रकाशित भएपछि अध्यक्षको प्रतिक्रिया तथा नेपाल पत्रकार महासंघ बागलुङ शाखाले जारी गरेको प्रेस विज्ञप्तिलाई लिएर विभिन्न धारणा सार्वजनिक भइरहेका बेला गाउँपालिकाले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

गाउँपालिकाका प्रवक्ता टिका संगम विकले पालिकाको आधिकारीक फेसबुकमा शनिवार गरेको सार्वजनिक पोष्टमा काठेखोला गाउँपालिका सधैं प्रेस स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गरिएको छ । प्रवक्ता विकले गरेको सार्वजनिक प्रतिवद्धतामा स्वतन्त्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई लोकतन्त्रको आधारस्तम्भका रूपमा व्याख्या गर्दै समृद्ध र विकसित समाज निर्माणका लागि स्थानीय सरकार, जनप्रतिनिधि र पत्रकारबीच सहकार्य तथा सुमधुर सम्बन्ध आवश्यक रहेको उल्लेख छ ।

गाउँपालिकाले आगामी दिनमा पनि जनता, समाज र देशप्रति उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, समाचारमा उठाइएका विषयप्रति सचेत रहँदै नागरिकको सूचनाको हकको सम्मान, सुशासनको प्रवद्र्धन तथा नागरिकमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने जनाएको छ ।

गाउँपालिकाले पछिल्ला घटनाक्रमलाई संवाद र सहकार्यका माध्यमबाट समाधान गर्दै लोकतान्त्रिक मूल्य–मान्यता र प्रेससँगको सम्मानपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै जाने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

तर गाउँपालिकाका प्रवक्ता टिका संगम विकले सार्वजनिक गरेको विज्ञप्तिमा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, पत्रकारसँगको सहकार्य तथा नागरिकप्रति उत्तरदायी रहने प्रतिबद्धताबारे उल्लेख गरिए पनि पत्रकार तथा सञ्चारमाध्यमका लागि गरिएको खर्चको विवरण सार्वजनिक गर्ने विषय समावेश गरिएको छैन ।
विगत ३ वर्षमा पत्रकार र सञ्चारमाध्यमका लागि पालिकाले गरेको खर्च सार्वजनिक गर्ने सहमति भएको थियो, पत्रकारको व्यक्तिगत आर्थिक गतिविधिका बारेमा भएको छलफलमा गाउँपालिकाले पत्रकार र सञ्चारमाध्यमका लागि गरेको खर्च सार्वजनिक गर्ने सहमति भएको हो, प्रवक्ताको प्रतिवद्धतामा उक्त कुरा उल्लेख छैन, आशा गरौ, पालिकाले छिटै ति विषय सार्वजनिक गर्नेछ, धौलागिरी जागरण दैनिकका प्रधान सम्पादक राम बहादुर जिसीले भन्नुभयो ।

  • २०८३ असार ६, शनिबार