• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

नेपाल रेडक्रस सोसाइटी पैयुपाटा उपशाखाद्वारा ३ दिने विपद् व्यवस्थापन तालिम

  • २०८३ असार ७, आईतवार

बागलुङ । नेपाल रेडक्रस सोसाइटी पैयुपाटा उपशाखाको आयोजना तथा बागलुङ नगरपालिका वडा नं. १३ पैयुपाटाको आर्थिक सहयोगमा सञ्चालित तीन दिने विपद् व्यवस्थापन तालिम आज असार ७ गते सफलतापूर्वक सम्पन्न भएको छ। तालिम असार ५ गतेदेखि सञ्चालन गरिएको थियो। कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी पैयुपाटा उपशाखाका सभापति टिकाराम शर्माले गर्नुभएको थियो।

प्रमुख अतिथिका रूपमा वडा सदस्य आशा के.सी. रोका रहनुभएको थियो भने विशिष्ट अतिथिहरूमा नेपाल रेडक्रस सोसाइटीका विशिष्ट सदस्य चूडामणि शर्मा पौडेल, नेपाली कांग्रेसका सभापति चन्द्रबहादुर के.सी., नेकपा (एमाले) का अध्यक्ष नरसिंहबहादुर खत्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष रेशमबहादुर खत्रीको उपस्थिति रहेको थियो। तालिममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेल र उपमहासचिव कृष्णचन्द्र पाण्डेले विपद् व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो।

तालिममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष, महिला सञ्जालका पदाधिकारी, सहकारी संस्थाका अध्यक्ष तथा प्रबन्धक, त्रिभुवन माध्यमिक विद्यालयको जुनियर रेडक्रस सर्कलका विद्यार्थी तथा विभिन्न सामाजिक एवं शैक्षिक संघसंस्थाका प्रतिनिधिसहित ३७ जनाको सहभागिता रहेको थियो।

तालिम सभ्य र भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। समापन कार्यक्रममा पैयुपाटा सिकाइ केन्द्रका सहजकर्ता दुर्गा शर्मा, साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक चन्द्रप्रसाद शर्मा, बलेवा नो–लाइटका कर्मचारी विष्णुप्रसाद रेग्मी, सामाजिक व्यक्तित्व उमानाथ शर्मा, चन्द्रबहादुर खत्री तथा विशिष्ट सदस्य चूडामणि शर्मा पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा उपशाखाका कोषाध्यक्ष रेशमबहादुर खत्रीले स्वागत मन्तव्यसहित आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उपशाखाका सचिव पूर्णप्रसाद पौडेलले गर्नुभएको थियो। विपद्का बेला समुदायलाई सुरक्षित, सक्षम र सचेत बनाउने उद्देश्यले आयोजना गरिएको उक्त तालिम सहभागीहरूका लागि ज्ञान र सीप अभिवृद्धिमा प्रभावकारी भएको आयोजकले जनाएको छ।

  • २०८३ असार ७, आईतवार