• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

देशकै पहिलो पोषणमैत्री गाउँपालिका बन्दै बडिगाड

  • २०८३ असार ८, सोमबार

बागलुङ । जिल्लाको बडिगाड गाउँपालिकाका सबै वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । सबै वडा पोषणमैत्री घोषणासंगै गाउँपालिका पोषणमैत्री घोषणाको चरणमा छ । बडिगाड गाउँपालिका पोषणमैत्री स्थानीय शासन युक्त घोषणाका लागि आवश्यक सबै वडा पोषणमैत्री घोषण भइसकेको बडिगाड गाउँपालिकाले जनाएको छ ।

बडिगाड गाउँपालिका देशकै पहिलो पोषणमैत्री बन्ने तयारीमा जुटेको हो । देशभरको तथ्याङ्क अनुसार बागलुङको बडिगाड गाउँपालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिका पोषणमैत्री वडा घोषणा गरेर पालिका घोषणाको चरणमा पुगेका छन् ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले समेत सबै वडा पोषणमैत्री घोषणा गरिसकेको र पालिका घोषणमा बडिगाड र कालीगण्डकीमा जस्ले पहिला घोषण गर्छ त्यो नै देशको पहिलो पोषणमैत्री गाउँपालिका हुने पोषण र बालमैत्री विषयका राष्ट्रिय प्रशिक्षक बिष्णु प्रसाद चौबेले जानकारी दिनुभयो ।

बडिगाड गाउँपालिकाले संघीय सरकारको सहयोगमा तीन वर्ष यता पोषणमैत्री गाउँपालिका बनाउने अभियान सफल भएर बडिगाड गाउँपालिका १० वटै वडालाई पोषणमैत्री वडा घोषणा सम्पन्न गरिएको छ भने बडिगाड गाउँपालिकानै पोषणमैत्री गाउँपालिका घोषणा गर्ने तयारी गरिएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।

थापाका अनुसार जेठ २८ गते बडिगाड गाउँपालिका–९ दर्लिङलाई पहिलो वडाको रुपमा घोषणा गरिएको र असार ५ गते सम्म सबै वडा घोषणा गरिएको छ ।

पोषणमैत्री गाउँपालिका निर्माणका लागि आवश्यक ३४ वटै सूचक पूरा भएपछि पोषणमैत्री वडा घोषणा भएको हो । जिल्ला स्तरीय अनुगमन समितिको अनुमतीमा पोषणमैत्री वडा घोषणा भएको र प्रदेश सरकारको अनुमतीमा जिल्ला घोषणाका लागि तयारी थालिएको छ ।

बडिगाड गाउँपालिकामा तीन वर्ष यता पोषण सुधारमा थुप्रै काम भएको स्थलगत अनुगमनमा देखिएको र विभिन्न समूहहरु गठनगरी पोषण सचेतना सहित आवश्यक सबै तयारी पुरा भई सबै वडाहरु पोषणमैत्री घोषणा सम्पन्न भएको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनले जानकारी दिनुभयो ।

कार्यविधिले तोकेका ३४ वटै सूचक पूरा भइसकेको जिल्ला स्तरीय अनुगमन समितिले प्रमाणीकरण पश्चात वडा घोषणा भएको वनको भनाई छ ।

जिल्लास्तरीय अनुगमन सिफारिस समितिको सिफारिसमा वडा घोषणका लागि आवश्यक कार्यतालिका अनुसार सबै वडा घोषणा भएको छ भने पालिका घोषणाका लागि प्रदेशस्तरीय अनुगमन सिफारिस समितिको सिफारिसमा पोषणमैत्री गाउँपालिका घोषणा गर्ने कार्यविधि अनुसार अघि बढेको उहाँको भनाई छ । बडिगाड गाउँपालिकामा २०७९÷०८० देखि गाउँपालिकाले पोषणमैत्री स्थानीय शासन कार्यक्रम कार्यान्वयनमा ल्याएर वडा–वडामा सहजकर्ता खटाउने, तालिम दिने, करेशावारी, भान्सा, गोठ सुधार संगै रैथाने अन्नबालीको उपयोगमा जोड दिएपछि गाउँपालिका पोषणमैत्री बनेको हो ।

विद्यालयका विद्यार्थीले विद्यालयमा पत्रुखाजा निषेध गरेर सातु, कोदोको हलुवा, खिर, चना र अण्डा लगायतका खाजा खुवाउन थालिएको छ । अहिले विद्यालयमा शुद्ध खानेपानी देखि तौल गर्न स्वास्थ्य चौकी आएका बालबालिकालाई अण्डा उपहार समेत दिन थालिएको बडिगाड गाउँपालिका–१० स्थित दुर्गममा रहेको दर्लिङ आधारभूत स्वास्थ्य केन्द्रका भीम कुमारी बुढा मगरले जानकारी दिनुभयो ।

बडिगाडका सबै विद्यालयमा पत्रु खाना (जङ्क फुड) लैजान रोक लगाइएको छ । विद्यार्थीले घरबाटै ल्याउनुपरेमा पनि पोषणयुक्त खाना मात्र विद्यालयमा ल्याउन पाइने नियम छ । विद्यालयबाहेकको समयमा पनि घर र समुदायमा पुगी पोषणयुक्त खानेकुराको महत्व र प्रयोगका बारेमा सचेतना जगाउने काम भइरहेको बडिगाड गाउँपालिका–१ का पोषण सहजकर्ता टीका गिरीले बताउनुभयो ।

गाउँपालिकाका पोषणमैत्री घोषणा गर्न दसवटै वडामा पोषण प्रवद्र्धन तथा सुधारका गतिविधि सञ्चालन सम्पन्न भइसकेको र स्वास्थ्य, शिक्षा, कृषि, पशु, खानेपानी तथा सरसफाइ, महिला तथा बालबालिका र शासकीय प्रबन्धका क्षेत्रमा तोकिएका सूचकहरु पूरा भएको कार्यक्रमका संयोजक शेरबहादुर बुढाले बताउनुभयो । गाउँपालिकाभित्र रहेका ६९ टोल पूर्ण सरसफाइयुक्त घोषणा, सबै स्वास्थ्य संस्था समेत पोषणमैत्री बनिसकेको उहाँको भनाई छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ल्याएको ‘पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि–२०८०’ ले पोषणमैत्री स्थानीय तह घोषणाका लागि ३४ वटा सूचक तय गरेको मा सबै सूचकमा नतिजा हासिल भइसकेको छ ।

  • २०८३ असार ८, सोमबार