• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

सोलेडाँडामा थपिए ५५ लाखका पर्यटकीय पूर्वाधार

  • २०८३ असार १५, सोमबार

बागलुङ । पर्यटकीय स्थल सोलेडाँडामा ५५ लाखका पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । बागलुङको तमानखोला गाउँपालिकाले सोलेडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न रु. ५५ लाख खर्च गरेको हो ।
बागलुङको तमानखोला गाउँपालिका–४ र म्याग्दी जिल्लाको सिमानामा पर्ने सोलेडाँडामा अहिले सम्म ५५ लाखको पूर्वाधार बनेको हो ।

जसमध्ये गण्डकी प्रदेश सरकारको रु. १० लाख र तमानखोला गाउँपालिकाको रु.४५ लाख लगानी भइसकेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो ।

गाउँपालिकाले शहिदपार्क, खानेपानी, शौचालय, सत्तल, देउराली थान, स्विमङ पुल, पिकनिक स्पट लगायत र रेलिङ सहिको पदमार्ग लगायतका पूर्वाधारमा उक्त रकम खर्च भइसकेको छ । गाउँपालिकाले सोलेडाँडामा छ लाख खर्चेर जडीबुडी बगैचा समेत निर्माण गरेको छ ।

सात रोपनी जग्गामा तारबार गरेर सतुवा, चिराइतो, अर्सोगन्ध, वनमकै, वन लसुन लगायतका जडीबुटी लगाइएको छ । गाउँपालिका स्थापनाकालदेखि नै पूर्वाधार निर्माण थालेको थियो । गत वर्ष गण्डकी प्रदेश सरकारको लगानीमा रु. १० लाख खर्चेर परम्परागत शैली ढुङ्गा, माटो र काठबाट पर्यटक विश्राम स्थल निर्माण गरिएको छ । समुद्री सतहदेखि दुई हजार ६३० मिटरको उचाइमा अवस्थित सोलेडाँडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ ।
घना जंगलको बीचमा रहेको सोलेडाँडामा २०६७ वर्ष अघि सडक पुगेको थियो । गाउँपालिकाले संरचना निर्माणसँग प्रचार–प्रसारलाई जोड दिएपछि आन्तरिक पर्यटक बढ्न थालेका छन् । पर्यटकहरुका लागि आवश्यक सूचना बोर्ड राखिएको छ भने देउराली थानको पुननिर्माण गरेको छ भने स्लेट ढुङ्गाको एक सय मिटर रेलिङ सहितको पदमार्ग बनाइएको छ ।

हिमशृङ्खला र सूर्योदय÷सूर्यास्त अवलोकनका लागि उपयुक्त मानिने सोलेडाँडा बाह्रै महिना पर्यटकको रोजाइमा पर्ने गरेको छ । गुराँस फुल्दा र हिउँ पर्दा सोलेडाँडा थ रोमान्चित हुने गरेको छ । सोलेडाँडा पशु चरिचरनको लागि समेत भेडाका बथान रहनेगर्दछन् । यहाँबाट देखिने हिमशृङखला र दर्जनौँ प्राकृतिक मनोरम दृश्यले धेरैलाई लोभ्याउन थालेको स्थानीय सागर बुढाले जानकारी दिनुभयो ।

उच्च पहाडी क्षेत्रमा रहेको यसडाँडामा शान्त वातावरण, स्वच्छ हावापानीसँगै चारचुरीङ्गीको चिरबिर आवाजले मनमस्तिष्कलाई आनन्दित बनाउँछ । गाउँपालिकाले नेपालका प्रथम सहिद लखन थापा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दसहित सशस्त्र द्वन्द्वका बेला तमानखोलाका विभिन्न गाउँबाट ज्यान गुमाएका स्थानीयवासी दुर्गाबहादुर बुढा, प्रेम घर्तीमगर, ओमकार बुढा र गङ्गाबहादुर पुनको सालिक राखेर सम्मान समेत गरेको छ ।

नेपालको एक मौत्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षसंग नजिकै रहेका कारण ढोरपाटनमा आउने पर्यटकलाई तमानखोला भित्राएर सोलेडाँढा पु¥याउन आवश्यक रहेको बुढाको भनाई छ । बागलुङबाट सोलेडाँडा भ्रमण गर्नुभएको डम्मर केसीले सडक यात्राले सोलेडाँडालाई सहज बनाएको बताउनुभयो । तमानखोला गाउँपालिकाले सोलेडाँडासंगै पर्यटकीय गन्तव्य बनाउका लागि मुठाचौर बराहताल र नौडल्ले पहाड लगायतकोस्थानमा पूर्वाधार निर्माण गर्न थालेको गाउँपालिकाले जनाएको छ ।

  • २०८३ असार १५, सोमबार