सम्पादकीय । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको गत जेठ तेस्रो साता सम्पन्न प्रथम जिल्ला अधिवेशनको प्रक्रियाले जिल्लावासीलाई तरंगित मात्रै बनाएन, रास्वपाले गर्ने हठात निर्णयले स्वयं रास्वपाका नेता कार्यकर्ताहरुलाई समेत बिच्क्याएको छ । जिल्ला अधिवेशनमा छलफल चल्दै गर्दा निर्वाचन समितिले ११ जनाको समितिलाई पूर्णता नै नदिइ पदाधिकारीको मात्र नाम घोषणा गरेपछि त्यसले नयाँ भनिएको रास्वपाको राजनीतिक निर्णयमै प्रश्न चिन्ह खडा भएको छ । विगतमा अरु दलहरुले गरेका भन्दा पनि भद्दा खालका निर्णयहरु रास्वपाबाट हुन थालेपछि पुराना दलको विकल्प खोजेका मतदाताहरु समेत यतिबेला निरास बन्न थालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तोकिएको समय भन्दा केही दिन लम्बिएर सकिएको छ, महाधिवशेन सम्पन्न हुनु आफैंमा एउटा महत्वपूर्ण राजनीतिक घटना हो । स्थापना भएको करिब चार वर्षपछि महाधिवेशनमार्फत पार्टीले संगठनात्मक वैधानिकता प्राप्त गरेको छ । नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको दलले आफ्ना संरचना निर्माण गर्ने, नेतृत्व चयन गर्ने र संगठनलाई संस्थागत बनाउने दिशामा अघि बढ्नु लोकतान्त्रिक अभ्यासका लागि सकारात्मक पक्ष हो । तर महाधिवेशनको सफलतासँगै महाधिवेशन अवधीमा र त्यसयता देखिएका केही विवाद र कमजोरीले भने पार्टीभित्रको विधि, प्रक्रिया र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ । विशेषगरी महाधिवेशन प्रतिनिधिको चयन, निर्वाचन परिणाम घोषणा, निर्वाचित सदस्यको सूची संशोधन, उम्मेदवारको क्लस्टर व्यवस्थापन र निर्णय प्रक्रियामा देखिएको अन्योलले रास्वपाले आफैंले उठाउँदै आएको राजनीतिक संस्कार र पारदर्शिताको मापदण्डमाथि समीक्षा गर्नुपर्ने अवस्था आएको छ ।
महाधिवेशनमा निर्वाचित घोषणा भएका केन्द्रीय सदस्यहरुमध्ये पूजा बाँस्तोलाको उजुरीपछि मतपरिणाम सच्याइएको भन्दै दुई जना निर्वाचित सदस्यको नाम हटाइएको छ भने नयाँ सदस्य थपिएका छन् । यही क्रममा गण्डकी प्रदेश भूगोलबाट निर्वाचित सोम शर्मा र जनजाति क्लस्टरबाट निर्वाचित कृष्णमान श्रेष्ठले आफूहरुलाई जानकारी नदिई हटाइएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् । निर्वाचन प्रक्रिया आफैंमा त्रुटिरहित हुनुपर्छ । यदि प्राविधिक कमजोरी भएको हो भने त्यसलाई समयमै सच्याउने अधिकार निर्वाचन आयोगसँग हुन्छ । तर लोकतान्त्रिक प्रक्रियामा सबैभन्दा महत्वपूर्ण कुरा भनेको निर्णयको पारदर्शिता र सम्बन्धित व्यक्तिलाई सुनुवाइको अवसर दिनु हो । निर्वाचित भएको घोषणा भइसकेको व्यक्तिलाई कुनै जानकारी वा स्पष्टीकरणबिना सूचीबाट हटाउँदा स्वभाविक रूपमा असन्तुष्टि पैदा हुन्छ । यसले केवल व्यक्तिको भावनामा चोट पु¥याउँदैन, उनीहरुलाई मतदान गर्ने प्रतिनिधिको निर्णयमाथि पनि प्रश्न उठाउँछ । कृष्णमान श्रेष्ठको गुनासो पनि यही विषयसँग जोडिएको छ । पार्टी निर्माणमा लामो समय योगदान गरेको दाबी गर्दै उनले आफूलाई अन्याय भएको बताएका छन् । त्यस्तै सोम शर्माले ९९३ मत प्राप्त गरेर चौथो स्थानमा विजयी हुँदाहुँदै हटाइनु विधि र जनमतको सम्मान विपरीत भएको बताएका छन् । यी गुनासा व्यक्तिगत असन्तुष्टि मात्र होइनन्, नयाँ राजनीतिक दलले आफ्नो आन्तरिक लोकतन्त्र कसरी अभ्यास गर्छ भन्ने विषयसँग जोडिएका छन् ।
रास्वपाले आफूलाई पुराना राजनीतिक दलभन्दा फरक, पारदर्शी र विधिमा आधारित पार्टीका रूपमा प्रस्तुत गर्दै आएको छ । यही कारण जनताले यस दलबाट अझ उच्च अपेक्षा गरेका छन् । अरु दलमा देखिएको गुट, भागबन्डा, प्रक्रिया मिच्ने संस्कार र अपारदर्शी निर्णयको आलोचना गर्ने दलले आफ्नै संगठनभित्र पनि त्यही मापदण्ड कायम गर्न सक्नुपर्छ ।पहिलो महाधिवेशन भएकाले केही प्राविधिक र व्यवस्थापकीय कमजोरी हुनु अस्वाभाविक होइन । तर कमजोरीलाई स्वीकार गर्दै सुधार गर्ने संस्कार नै नयाँ राजनीतिक शक्तिको पहिचान बन्नुपर्छ । निर्वाचन प्रक्रिया स्पष्ट, विवाद समाधान संयन्त्र प्रभावकारी र निर्णय प्रक्रिया पारदर्शी बनाउन आवश्यक छ । अब रास्वपाको चुनौती केवल नेतृत्व चयनमा सीमित छैन । यो पार्टीले संसदमा ठूलो जिम्मेवारी पाएको छ । सरकार र प्रतिपक्ष दुवै भूमिकामा प्रभावकारी बन्न सक्ने शक्ति बन्नका लागि संगठनभित्रको लोकतन्त्र बलियो बनाउनुपर्छ । ठूलो दल बन्ने लक्ष्यसँगै ठूलो राजनीतिक संस्कार पनि देखाउनुपर्छ । महाधिवेशनले रास्वपालाई वैधानिकता दिएको छ, तर अबको यात्रा भने विश्वास निर्माणको हो । पार्टीभित्र उठेका प्रश्नलाई दबाउने होइन, सम्बोधन गर्ने साहस देखाउनुपर्छ । आलोचना सुन्ने, गल्ती सच्याउने र विधिलाई व्यवहारमा लागू गर्ने क्षमता नै नयाँ राजनीतिक शक्तिको वास्तविक परीक्षा हुनेछ । रास्वपाले आफ्नो पहिलो महाधिवेशनलाई केवल नेतृत्व चयनको अवसर होइन, नेपाली राजनीतिमा नयाँ संस्कार स्थापित गर्ने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्न सक्नुपर्छ । किनकि जनताले खोजेको परिवर्तन केवल नयाँ अनुहार होइन, नयाँ अभ्यास र नयाँ राजनीतिक संस्कार पनि हो ।
