बागलुङ । बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ‘उत्पादन, रोजगारी, गुणस्तरीय सेवा र दिगो पूर्वाधारको वर्ष’ भन्ने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको १९ औँ नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रममा कृषि आधुनिकीकरण, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार, पर्यटन प्रवद्र्धन, सुशासन र भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमिकता दिइएको छ ।
नगर प्रमुख बसन्तकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा विगत चार वर्षमा सुशासन, पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा सामाजिक विकासका क्षेत्रमा भएका उपलब्धिलाई संस्थागत गर्दै आगामी वर्षलाई उत्पादन र आर्थिक समृद्धिको आधार वर्षका रूपमा अघि बढाउने उल्लेख गरिएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा ‘नगरको छोरी कार्यक्रम’ लाई निरन्तरता दिँदै छोरी जन्मलाई उत्सवका रूपमा विकास गर्न प्रदान गरिँदै आएको रकम वृद्धि गरी रु. १० हजार पु¥याउने घोषणा गरेको छ । पूर्वाधारतर्फ नगरपालिकाको केन्द्रदेखि वडा कार्यालयसम्म बाह्रै महिना सञ्चालन हुने सडक सञ्जाल विस्तार गर्ने लक्ष्य लिइएको छ । वडा नं. ९, १० र ११ लाई आगामी वर्षभित्र पक्की सडक सञ्जालमा जोड्ने योजना अघि सारिएको छ । साथै बागलुङ बजारको वर्षायामको भेलपानी समस्या समाधानलाई गौरवको आयोजनाका रूपमा अघि बढाइने उल्लेख छ । बजार क्षेत्रका मुख्य तथा सहायक सडक स्तरोन्नति, साना खाल्डाखुल्डी तत्काल मर्मतका लागि आवश्यक उपकरण व्यवस्थापन तथा बजार सौन्दर्यीकरण कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
कृषि क्षेत्रमा ‘एक बोट, सयको नोट’ कार्यक्रममार्फत बाँझो जमिन उपयोग, फलफूल तथा जडीबुटी खेती प्रवद्र्धन गर्ने योजना अघि सारिएको छ । किसानलाई उत्पादनसँग जोड्न सुन्तला, तरकारी, दूध र अण्डामा प्रोत्साहन अनुदान दिने नीति लिइएको छ । पशुपालनतर्फ ‘पाडा–पाडी संरक्षण कार्यक्रम’ सञ्चालन गरी प्रति पाडा–पाडी रु. १० हजार प्रोत्साहन दिने व्यवस्था गरिने भएको छ । कृषि उपज, फलफूल तथा मासु बजार व्यवस्थापनका लागि व्यवस्थित कृषि बजार स्थापना गर्ने योजना पनि कार्यक्रममा समेटिएको छ । शिक्षा क्षेत्रमा ‘सक्षम विद्यालय, सक्षम नागरिक’ अभियान सञ्चालन गर्दै प्रविधिमैत्री शिक्षा, स्मार्ट बोर्ड, डिजिटल सिकाइ, ई–लाइब्रेरी, कृत्रिम बुद्धिमत्ता तथा नवप्रवर्तनमा जोड दिइएको छ । स्वास्थ्य क्षेत्रमा बागलुङ नगर अस्पताललाई सुविधा सम्पन्न बनाउने, विशेषज्ञ सेवा विस्तार गर्ने, शून्य होम डेलिभरी अभियानलाई पूर्णता दिने तथा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने नीति सार्वजनिक गरिएको छ । पर्यटनतर्फ कालिका भगवती, पञ्चकोट, भैरवस्थान, शालिग्राम संग्रहालयलगायत धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रवद्र्धन, डिजिटल पर्यटन सूचना प्रणाली र ‘जाऊ है बागलुङ’ अभियानलाई विस्तार गर्ने योजना अघि सारिएको छ । न
गरपालिकाले बागलुङलाई हरित र स्वच्छ नगर बनाउन ‘एक घर–एक बिरुवा’, हरित करिडोर, फूल रोपण अभियान तथा वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । सामाजिक विकासतर्फ ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन, बेसहारा सडक मानवमुक्त नगरपालिका बनाउने अभियान, अपाङ्गता भएका व्यक्ति, महिला, दलित तथा विपन्न समुदाय लक्षित कार्यक्रमलाई प्राथमिकता दिइएको छ । समन्वय, सहकार्य र अन्तरसम्बन्धमा जोड नीति तथा कार्यक्रममा संघ र प्रदेश सरकारसँग समन्वय गरी नगरको दीर्घकालीन विकासमा योगदान पुग्ने ठूला तथा रणनीतिक आयोजना सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
अन्तरपालिका साझेदारी, निजी क्षेत्र, सहकारी संस्था, गैरसरकारी संस्था तथा नागरिक समाजसँग सहकार्य विस्तार गरी विकास कार्यक्रमलाई प्रभावकारी बनाउने नीति लिइएको छ । स्थानीय सरकारबीच असल अभ्यास आदानप्रदान, संस्थागत विकास तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि भगिनी सम्बन्ध र उपयोगी अन्तर्राष्ट्रिय संस्थाको सदस्यता प्राप्त गर्ने नीतिलाई निरन्तरता दिइने जनाइएको छ । अष्ट्रेलियाको प्रविधि, सीप, लगानी र संस्थागत अनुभवलाई उपयोग गर्दै बागलुङ नगरलाई वातावरणमैत्री, प्रविधिमैत्री र दिगो विकासको नमुना नगर बनाउने उद्देश्यले विन्डम इको ग्लोबल भिलेज प्रा.लि.सँगको सहकार्यमा हरित पूर्वाधार, नवीकरणीय ऊर्जा, डिजिटल सुशासन, नवप्रवर्तन, उद्यमशीलता तथा इको स्मार्ट सिटीसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने नीति अघि सारिएको छ । नीति तथा कार्यक्रम निर्माणमा सहयोग गर्ने जनप्रतिनिधि, राजनीतिक दल, विषयगत कार्यालय, उद्योग वाणिज्य संघ, सहकारी क्षेत्र, गैरसरकारी संस्था, नागरिक समाज तथा सञ्चारकर्मीलाई नगरपालिकाले धन्यवाद व्यक्त गरेको छ । नगर प्रमुख श्रेष्ठले प्राप्त सुझावलाई आगामी विकास यात्राको साझा सम्पत्तिका रूपमा उपयोग गरिने बताउँदै नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभएको छ । ‘समृद्ध, सुशासित, हरित र समावेशी बागलुङ निर्माणको साझा अभियानमा सबैको निरन्तर साथ र सहकार्य आवश्यक छ,’ नगर प्रमुख श्रेष्ठले भन्नुभएको छ ।