• २०८३ मंसिर ४, बिहीबार
  • 2026 November 19, Thursday

काठमाडौंमा युवाको आत्मदाह प्रयास : सत्य खोजौँ, प्रणाली सुधारौँ

सम्पादकीय। काठमाडौं त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाह प्रयास एउटा व्यक्तिको मात्र पीडा होइन, राज्य र समाज दुवैका लागि गम्भीर चेतावनी हो । कुनै पनि नागरिकले सार्वजनिक स्थलमै आफ्नै शरीरमा आगो लगाउने निर्णय सहज परिस्थितिमा गर्दैन । त्यसैले यो घटनालाई केवल ‘ह्वील लकको विवाद’ वा ‘व्यक्तिगत आवेग’ मा सीमित गरेर हेर्नु पर्याप्त हुँदैन । यसको पछाडिको वास्तविक कारण तथ्यका आधारमा खोजिनु आवश्यक छ । प्रारम्भिक विवरणअनुसार गणेश नेपालीको मोटरसाइकलमा काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको संयुक्त टोलीले अवैध पार्किङका कारण ह्वील लक लगाएको थियो । महानगर प्रहरी प्रमुखले यो नियमित कानुनी प्रक्रिया भएको र घटना आफूहरूका कारणले मात्र नभएको बताएका छन् । वास्तवमा सडक व्यवस्थापनका लागि नियम कार्यान्वयन गर्नु राज्यको दायित्व हो । यदि सार्वजनिक स्थानमा जथाभावी पार्किङ गरिएको छ भने कारबाही गर्नु अस्वाभाविक होइन । तर, कानुनको कार्यान्वयन हुँदैमा राज्यको जिम्मेवारी समाप्त हुँदैन । कानुन कार्यान्वयन गर्ने निकायले मानवीय संवेदनशीलता, परिस्थितिको मूल्याङ्कन र सम्भावित जोखिमलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ । विशेषगरी कुनै व्यक्ति अत्यधिक तनाव, आक्रोश वा असामान्य व्यवहारमा देखिएमा त्यसलाई सामान्य प्रशासनिक प्रक्रियाको रूपमा मात्र नहेरी आवश्यक मनोवैज्ञानिक र सुरक्षा दृष्टिकोणबाट पनि हेर्न सक्ने क्षमता राज्यका निकायमा विकास हुनुपर्छ ।

अर्कोतर्फ, एक हजार रुपैयाँ जरिवाना वा एउटा ह्वील लकका कारण मात्र कसैले आत्मदाह प्रयास गर्छ भन्ने निष्कर्षमा पुग्नु पनि हतार हुनेछ । घटनाका पछाडि आर्थिक, मानसिक, पारिवारिक, सामाजिक वा अन्य कुनै गहिरा कारण थिए कि थिएनन् भन्ने विषय निष्पक्ष अनुसन्धानबाट मात्र स्पष्ट हुन्छ । अहिले सामाजिक सञ्जालमा भइरहेका अनुमान र आरोप–प्रत्यारोपले सत्य पत्ता लगाउन होइन, भ्रम फैलाउन मात्र सहयोग पु¥याउँछन् । त्यसैले पहिलो आवश्यकता निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन हो । घटनाको सम्पूर्ण क्रम, प्रहरी र महानगरको भूमिका, सम्बन्धित व्यक्तिको मानसिक अवस्था, प्रत्यक्षदर्शीका भनाइ तथा उपलब्ध सबै प्रमाणका आधारमा सत्य सार्वजनिक गरिनुपर्छ । यदि कानुन कार्यान्वयनका क्रममा कुनै लापरबाही, असंवेदनशीलता वा अधिकारको दुरुपयोग भएको प्रमाणित हुन्छ भने जिम्मेवार अधिकारीमाथि कानुनबमोजिम कारबाही हुनुपर्छ । त्यसैगरी कुनै अन्य कारण प्रमुख देखिएमा त्यसलाई पनि तथ्यका आधारमा सार्वजनिक गर्न राज्य पछि हट्नु हुँदैन ।

गणेश नेपालीको उपचार राज्यको पहिलो दायित्व हो । उनको उपचारमा कुनै कमी हुन दिनु हुँदैन । साथै परिवारलाई आवश्यक सहयोग, मनोसामाजिक परामर्श र आर्थिक सहायताको व्यवस्था पनि गरिनुपर्छ । आत्मदाह प्रयास केवल शारीरिक उपचारको विषय होइन, गम्भीर मानसिक र सामाजिक संकटको संकेत पनि हो । यो घटनाले अर्को प्रश्न पनि उठाएको छ, हाम्रा सार्वजनिक निकायमा नागरिकसँग व्यवहार गर्ने संस्कार कत्तिको मानवीय छ ? कानुनको कठोर कार्यान्वयनसँगै संवाद, सहजीकरण र संकट व्यवस्थापनको क्षमता विकास गर्न अब ढिला गर्नु हुँदैन । प्रहरी, नगरप्रहरी र सार्वजनिक सेवामा खटिएका कर्मचारीलाई तनावग्रस्त वा जोखिममा रहेका व्यक्तिसँग कसरी व्यवहार गर्ने भन्ने विशेष तालिम आवश्यक देखिएको छ । एउटा नागरिकले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था लोकतान्त्रिक राज्यका लागि सफलता होइन, आत्मसमीक्षाको विषय हो । यस घटनाबाट दोषारोपण होइन, सत्यको खोजी, न्यायको सुनिश्चितता र प्रणाली सुधारको बाटो खुल्नुपर्छ । यही नै गणेश नेपालीप्रतिको वास्तविक न्याय र भविष्यमा यस्ता दुःखद घटना दोहोरिन नदिने सबैभन्दा जिम्मेवार कदम हुनेछ ।