• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

समाजको भरोसा, सेवाको पर्याय : स्वर्गीय जब्बर बहादुर लामिछाने

कुनै–कुनै मानिसको परिचय उसका पदले दिँदैन, कर्मले दिन्छ । उनीहरू जीवित रहँदा समाजका लागि छाता बन्छन्, र बिदा भएपछि समाजकै सम्झनामा इतिहास बन्छन् । स्वर्गीय जब्बर बहादुर लामिछाने त्यस्तै व्यक्तित्व हुनुहुन्थ्यो । उहाँलाई चिन्ने प्रत्येक व्यक्तिको स्मृतिमा फरक–फरक कथा छन्, तर सबै कथाको सार एउटै छ—उहाँ एक असल मानिस हुनुहुन्थ्यो ।

२०१० साल फागुन १९ गते काठेखोला गाउँपालिका–७ रेशको काफलबोटमा जन्मिएका उहाँको जीवन कुनै सामान्य यात्राको कथा थिएन । बुवा नर बहादुर लामिछाने र आमा इन्द्रकला लामिछानेका कोखबाट जन्मिएका लामिछानेका पाँच दिदीबहिनीहरु हुनुहुन्छ । भारतीय सेनामा रहेका उहाँका पिता, आमा इन्द्रकला र समाजबाट उहाँले बाल्यकालदेखि नै जिम्मेवारी, अनुशासन र नेतृत्व सिक्नुभयो । नेपाल प्रहरीको जागिरबाट सार्वजनिक जीवनको यात्रा सुरु गरेर व्यापार, राजनीति, समाजसेवा, शिक्षा, धर्म र मानवीय सेवाको विशाल वृक्ष बन्नुभयो ।

समाजले उहाँलाई कहिले रेडक्रसका सभापतिका रूपमा चिन्यो, कहिले भीमसेन माध्यमिक विद्यालयको अध्यक्षका रुपमा, अहिले भीमसेन क्याम्पसको अध्यक्षका रूपमा, कहिले विश्व हिन्दु महासंघ बागलुङका अध्यक्षका रूपमा, त कहिले गाउँ–समाजका अभिभावकका रूपमा । तर उहाँ आफैंलाई कुनै पदले बाँध्नुभएन । उहाँका लागि पद जिम्मेवारी थियो, प्रतिष्ठा होइन ।

उहाँको जीवनको सबैभन्दा ठूलो विशेषता थियो, जहाँ समस्या, त्यहाँ जब्बर बहादुर । कसैलाई अस्पताल पु¥याउनुपरे रात होस् वा दिन, कसैको घरमा दुःख पर्दा सान्त्वना दिनुपरे, विद्यालय निर्माण गर्न श्रमदान र रकम जुटाउनुपरे होस्, मठमन्दिर व्यवस्थापन गर्नुपरे होस् वा सामाजिक विवाद मिलाउनुपरे होस, उहाँ अग्रपङ्क्तिमै देखिनुहुन्थ्यो । त्यसैले उहाँलाई धेरैले नेता भन्दा पहिले अभिभावक भन्न रुचाउँथे । उहाँको अभिभावकत्व धेरैका लागि अभावका रुपमा प्रकट भएको छ ।

सामाजिक सञ्जालमा उहाँप्रति व्यक्त भएका श्रद्धाञ्जलीहरू पढ्दा एउटा दृश्य स्पष्ट देखिन्छ । कसैले लेखेका छन्, ‘हामीले अभिभावक गुमायौं ।’ कसैले भन्नुभएको छ, ‘दुःखको बेला सबैभन्दा पहिले सम्झिने मानिस हुनुहुन्थ्यो ।’ कसैले उहाँलाई ‘हक्की तर न्यायप्रेमी’ भन्नुभएको छ भने कसैले ‘दयाको खानी’ । विदेशमा रहेका बुहारीले उहाँलाई आफ्नै बाबाको माया दिने ससुरा सम्झनुभएको छ । कसैले द्वन्द्वकालमा आफ्नो परिवारको ज्यान जोगाइदिएको घटना सम्झनुभएको छ । कसैले विद्यालय निर्माणको संघर्ष सम्झनुभएको छ । कसैले उहाँको प्रेरणाले जीवनको बाटो समातेको स्वीकार गर्नुभएको छ । यति धेरै फरक मानिसका मनमा एउटै व्यक्तिप्रति यति समान सम्मान हुनु आफैंमा एउटा जीवनको सफलता हो ।

नेपाल रेडक्रस सोसाइटी बागलुङसँग उहाँको सम्बन्ध केवल संस्थागत थिएन, मानवीय थियो । रेडक्रसको सिद्धान्तलाई व्यवहारमा उतार्दै उहाँले सेवा, समर्पण र निष्पक्षताको उदाहरण प्रस्तुत गर्नुभयो । आज पनि धेरै रेडक्रसकर्मी उहाँलाई आफ्ना मार्गदर्शकका रूपमा सम्झन्छन् ।

शिक्षाप्रतिको उहाँको समर्पण झन् प्रेरणादायी थियो । युवा उमेरमै भीमसेन माध्यमिक विद्यालय स्थापनामा अग्रसर हुनु, विद्यालय सञ्चालनमा सदैव अग्रणी भूमिकामा रहनु, पछि भीमसेन माध्यमिक विद्यालय र भीमसेन क्याम्पसको नेतृत्व गर्दै उच्च शिक्षाको विस्तारमा योगदान पु¥याउनु उहाँको दूरदृष्टिको परिचायक हो । उहाँलाई थाहा थियो, सडकले गाउँ जोड्छ, तर शिक्षाले भविष्य जोड्छ ।

धार्मिक आस्था उहाँको अर्को परिचय थियो । तर उहाँको धर्म केवल पूजा–आराधनामा सीमित थिएन । उहाँका लागि धर्म भनेको सेवा थियो, संस्कार थियो, सद्भाव थियो । विश्व हिन्दु महासंघको नेतृत्वदेखि मठ–मन्दिर संरक्षण र धार्मिक कार्यक्रमसम्म उहाँले निर्वाह गर्नुभएको भूमिका समाजले सधैं स्मरण गर्नेछ ।

राजनीतिमा पनि उहाँको यात्रा लामो रह्यो । पञ्चायतकालदेखि बहुदलीय व्यवस्थासम्म सक्रिय रहँदा उहाँले विचारको राजनीति गर्नुभयो, वैमनस्यको होइन । उहाँका लागि दलभन्दा ठूलो समाज थियो । त्यसैले फरक विचारका मानिसहरूले समेत आज उहाँलाई समान सम्मानका साथ सम्झिरहेका छन् ।

उहाँको व्यक्तित्वको अर्को महत्वपूर्ण पक्ष थियो, स्पष्टता । सहीलाई सही र गलतलाई गलत भन्न उहाँ कहिल्यै डराउनुभएन । यही कारण कतिपयले उहाँलाई ‘हक्की’ भन्नुभयो । तर त्यो हक्कीपनमा अहंकार थिएन, न्यायको पक्षधरता थियो ।

जीवनको अन्तिम दिन पनि उहाँ दुःखमा होइन, खुसीमा सहभागी हुनुहुन्थ्यो । पर्वतको कुश्मामा वैवाहिक समारोहमा पञ्चेबाजाको तालमा रमाइरहेका बेला आएको हृदयाघातले उहाँलाई हामीबाट टाढा लग्यो । तर उहाँको बिदाइले एउटा गहिरो सन्देश छोडेर गयो, जीवनको अन्तिम क्षणसम्म समाजसँगै रमाएर बाँच्ने मानिस कहिल्यै मर्दैन ।

आज दोबिल्लाको पक्की पुल, बाटो, रेशको माटो, भीमसेन विद्यालयको प्राङ्गण, रेडक्रसको कार्यालय, धार्मिक सभाहरू, सामाजिक अभियान र उहाँसँग हातेमालो गरेका हजारौं मानिसका सम्झनामा उहाँ जीवित हुनुहुन्छ । उहाँको अनुपस्थितिले एउटा कुर्सी मात्र खाली भएको छैन, एउटा युगको अनुभूति भएको छ ।

कहिलेकाहीँ समाजले कुनै व्यक्तिलाई ‘संस्था’ भन्छ । जब्बर बहादुर लामिछाने त्यही अर्थमा एउटा संस्था हुनुहुन्थ्यो । उहाँले भवन मात्र बनाउनुभएन, विश्वास बनाउनुभयो । संस्था मात्र चलाउनुभएन, संस्कार बसाल्नुभयो । भाषण मात्र गर्नुभएन, कर्मले उदाहरण देखाउनुभयो ।

आज उहाँ हामीबीच शारीरिक रूपमा हुनुहुन्न । तर उहाँले सिकाउनुभएको सेवा, उहाँले रोप्नुभएको सद्भाव, उहाँले दिएको प्रेरणा र उहाँले छोडेर जानुभएको मानवीय विरासत सधैं बाँचिरहनेछ ।

मानिसको आयु वर्षले मापन हुन्छ, तर उसको जीवन समाजमा छोडेको प्रभावले । स्वर्गीय जब्बर बहादुर लामिछानेले आफ्नो जीवनलाई केवल बाँच्नुभएन, समाजका लागि समर्पित गर्नुभयो । त्यसैले उहाँ अब स्मृतिमा मात्र होइन, बागलुङको सामाजिक इतिहासमा सदैव जीवित रहनुहुनेछ । हार्दिक श्रद्धाञ्जली ।