• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

गण्डकीमा ३ हजार १७१ जनामा एचआइभी संक्रमण

बागलुङ । गण्डकी प्रदेशका एचआइभी संक्रमीतको संख्या तीन हजार १७१ पुगेको छ । गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै एचआइभी संक्रमित कास्की जिल्लामा रहेको पाइएको छ ।

पछिल्लो एक वर्षको तथ्याङ्क हेर्दा कास्की जिल्लामा सबैभन्दा धेरै १ हजार ६ सय २९ जनामा एचआइभी संक्रमण रहेको पाइएको हो । जसमध्ये २९ जना बालबालिका रहेका छन् । ८ सय ४८ पुरुष र ७ सय ४७ जना संक्रमित महिलाले प्रत्यक्ष उपचार (एआरटी) सेवामा रहेको पाइएको छ ।

समग्र गण्डकी प्रदेशमा ५६ जना बालबालिका, ११ जना अन्य, १ हजार ५ सय ८९ जना पुरुष र १ हजार ५ सय १५ जना महिला गरि ३ हजार १ सय ७१ जनामा एचआइभी संक्रमण रहेको पाइएको छ ।
कास्की पछि दोस्रो बढी संक्रमित स्याङ्जामा रहेका छन् । १ सय ६२ पुरुष, १ सय ८० महिला र २ जना बालबालिका गरि ३ सय ४४ जनामा एचआइभी संक्रमण रहेको छ । १ सय २७ महिला, १ सय २४ पुरुष, ४ जना अन्य र ५ जना बालबालिका गरि तनहुँमा २ सय ६० जना संक्रमित उपचारमा रहेका छन् ।

१ सय ३० पुरुष, १ सय ९ महिला र १ बालक गरि गोरखामा २ सय ४० जनामा संक्रमण रहेको छ । संक्रमितको संख्या धेरै हुनेमध्ये बागलुङ पाँचौं स्थानमा पर्छ । ६ बालबालिका सहित १ सय १३ जना महिला र ९९ जना पुरुष गरि बागलुङमा २ सय १८ जना संक्रमितले एआरटी सेवा लिइरहेका छन् ।

यसैगरी, नवलपरासी पूर्वमा २ बालबालिका २ अन्य, ८२ पुरुष र ७६ महिला गरि १ सय ६२ जनामा संक्रमण रहेको छ । ३ बालक, ७५ महिला र ६१ महिला गरि लमजुङमा १सय ३९ जना संक्रमित रहेका छन् । ४ बालबालिका सहित ४७ पुरुष र ४४ महिला गरि म्याग्दीमा ९५ जनामा संक्रमण रहेको छ ।

त्यसैगरी ४ बालबालिका, ४४ महिला र ३६ जना पुरुगा गरि पर्वतमा ८४ जना संक्रमित उपचारमा रहेको छन् । सबैभन्दा कम संक्रमित पर्वतमा देखिएको हो । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देव प्रकाश घिमिरेले जानकारी दिनुभयो । संक्रमितलाई समाजले हेर्ने हेयको दृष्टीका कारण अहिले पनि संक्रमितहरु खुल्न नसकेको उहाँको भनाई छ ।

मुख्यतया असुरक्षित यौन सम्पर्क, संक्रमित रगत वा रगतजन्य पदार्थको प्रयोग, संक्रमित आमाबाट बच्चामा सर्ने, र संक्रमित सुई वा सिरिन्ज प्रयोगबाट एचआइभी फैलिने भएपनि आम मानिसमा असुरक्षित यौन सम्पर्कका कारण मात्र संक्रमण हुन्छ भन्ने भ्रमका कारण संक्रमितले अपहेलित र एक्लो महशुस गर्ने गरेको उहाँको भनाई छ ।

घिमिरेले संक्रमितसँग सँगै बस्दा, खादा, हिड्डुल गर्दा वा छुँदा संक्रमण नहुने भन्दै एचआइभी नसर्नका लागि विविध उपाएहरु भएको बताउनु भयो । उहाँले सुरक्षित यौन सम्पर्क अपनाउने, एउटै सिरिन्ज वा सुई प्रयोग नगर्ने, रगत परीक्षण गरेर मात्र प्रयोग गर्ने, गर्भवती महिलाले समयमै स्वास्थ्य परीक्षण गर्ने, सामाजिक भेदभाव नगरी संक्रमितलाई उपचारमा प्रोत्साहन गर्ने गर्दा एक संक्रमितबाट अर्काे व्यक्तिमा संक्रमण हुने दर घटाउन सकिने बताउनुभयो ।