बागलुङ । नेपाली कांग्रेसको प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सरकारले गरेको राजनीतिक स्टन्ट भन्दा काम गर्नुपर्नेमा जोड दिनुयभो ।
सरकारले कामको सट्टा समाजलाई भड्काउने गतिविभि गरेको भन्दै त्यसका विरुद्धमा काँग्रेसले निरन्तर खबरदारी गरेको बताउनुभयो । नेपाली काँग्रेस बागलुङका पूर्व सभापती एवं पूर्व सांसद गोविन्द प्रसाद शर्मा कंडेलको प्रथम बार्षिक पुण्य तिथिको अवसरमा आयोजित स्मृती सभा तथा स्व. कंडेलको नाममा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता आङ्देम्बले सरकार आफ्नै पार्टीका सांसदबाट घेरामा आरोप लगाउनुभयो ।
प्रमुख प्रतिपक्ष दलको नाताले सरकारलाई सच्चिनुहोस भनेर आग्रह गरिएको तर सच्चिने छाटकाट नभएको बताउदै जनताले दिएको सवैभन्दा ठुलो विश्वासलाई अहिलेको सरकारले आत्मसाथ गरेर काम गर्न नसकेकोमा जिकिर गर्नुभयो ।
नेता आङ्देम्बाले सरकार कहाँबाट सञ्चालित भइरहेको छ भन्ने कुरा कसैलाई पनि स्पष्ट नभएको बताउनुभयो । सरकारको कार्यशैलीले मुलुकलाई भड्खालोतर्फ धकेल्ने त होइन भन्ने काँग्रेसलाई चिन्ता रहेको बताउनुभयो । सरकारले उत्ताउलोपन देखाउन खोजेका धेरै विषयमा हामीले पटक–पटक खबरदारी गरेको बताउनुभयो । “विगतमा सत्ता प्राप्तिका लागि विरोध गर्ने प्रवृत्ति हुन सक्थ्यो, तर आजको प्रतिपक्ष त्यस उद्देश्यले संसदमा आएको होइन” आङ्देम्बेले भन्नुभयो “हामी परिणाममुखी भूमिका निर्वाह गर्न चाहन्छौँ र सदनभित्र नेपाली कांग्रेसको गहकिलो तथा जिम्मेवार उपस्थिति देखाउन चाहन्छौँ,त्यसअनुसार नै आफ्ना विचार र धारणा प्रस्तुत गरिरहेका छौँ ।”
स्वर्गीय गोविन्द प्रसाद शर्मा कँडेलको योगदान स्मरण गर्दै आङ्देम्बले भन्नुभयो “कँडेल निष्ठा, इमानदारी र समर्पणका प्रतीक नेता रहेको र उहाँको योगदान अतुलनिय रहेको र स्व. कंडेलको योगदानलाई पार्टीले मात्र होइन, देशले पनि कहिल्यै बिर्सनु हुँदैन ।”