बागलुङ । “किसानलाई बाँदरबाट खेती जोगाउन मुश्किल भयो, छ महिनाको खेति एक दिनमै बाँदरले सखाप पार्दछ, बरु हामलिाई अनुदान चाहिएन, बाँदरबाट मुक्ति चाहियो” जैमिनी नगरपालिका प्रमुख नर बहादुर पुनलाई सार्वजनिक सुनुवाईमा प्रश्नकर्ता सकस बहादुर क्षत्रीले भन्नुभयो “तपाईले दिएको अनुदान, बिउपल उव्जाएर घरमा ल्याउन बाँदरले दिएन, अब अनुदानमुखी कार्यक्रम हैन बाँदर नियन्त्रणको योजना ल्याउनु ।”
जैमिनीकै अर्का किसान पदम बहादुर श्रीसले बाँदरपार्क खै भनेर नगरप्रमुखलाई प्रश्न राख्नुभयो ।
जैमिनीमा सधैजसको स्थानीयको गुनासो बाँदर नियन्त्रणको रहेको पाइएको छ । उनिहरुले बाँदर भित्रने र नागरिक बसाईसराइले बाहिरिने प्रवृतिको नगरपालिका मुखदर्शक बन्न नमिल्ने धार व्यक्त गरेका छन् । “खेतमा मकै पाक्ने बेला हुन्छ, धान कोदो, गहुँ झुल्ने बेला तर किसानले घरभित्र बसेर खुसी मान्ने अवस्था छैन, खेत र बाँदरको दौडधुपमै दिन बित्छ” उहाँले भन्नुभयो “घरमा लगाएको तरकारीबाली सबै नष्ट गरिदिन्छ, घरभित्रै छिरेर भकारीको अन्नबालीसमेत नष्ट बनाउँछ, हामीलाई त हैरानै पारिदियो, हुनेखाने त शहर छिरे हामी किसान कता जाने ।”
अर्का किसान काशिराम आचार्यले किसानलाई अनुदान नभएर बाँदर समस्या अन्त्य हुनुपर्ने बताउनुहुन्छ । नगरपालिकाले किसानलाई दिने अनुदानको सट्टा बाँदर नियन्त्रणमा खर्च गर्नुपर्ने बताउनुहुन्छ । नगरपालिकाले किसानलाई बाढ्ने अनुदानको सट्टा बाँदर नियन्त्रण गर्न सके किसानले आफै गरेर खाने आचार्यको भनाई छ ।
“हामीलाई मल, बिउ वा अनुदानका कार्यक्रमभन्दा पहिले हामीले लगाएको खेती बाँदरबाट जोगाइदिनुस् । बाँदर नियन्त्रण गरिदिनुभयो भने हामी आफ्नै पसिनाले बाँच्न सक्छौँ” आचार्यले भन्नुभयो “मान्छे भोकै पारेर बाँदर जोगाउन सकिदैन, जैमिनीका किसानलाई बाँदरको विकल्प चाहियो ।”
नगरप्रमुख नरबहादुर पुनले बाँदर नियन्त्रका लागि बाँदर बगैचाको अवधारणा ल्याएपनि कानुनी जटिलताले कार्यक्रम सफल नभएको बताउनुभयो । जैमिनी क्षेत्रमा बाँदर आतंककै कारण खेतीपाती गर्नै कठिन भएको महशुस नगरपालिकाले गरेपनि बाँदरलाई थुन्ने कानून नभएकाले बाँदर बगैचा बनाउने काम छोडिएको नगरप्रमुख पुनले बताउनुभयो । किसानहरूले नगरपालिका समक्ष बाँदर आतंकका कारण खेतीपाती छाड्नुपर्ने अवस्था आएको, उत्पादन घट्दै गएको र कतिपय गाउँमा बसाइँसराइसमेत बढ्न थालेको बताए । उनीहरूले बाँदर पार्क बनाउने योजना मात्रै पर्याप्त नहुने भन्दै खेतीबालीमा निरन्तर क्षति पु¥याउने वन्यजन्तु व्यवस्थापनका लागि कानुन संशोधन गरी प्रभावकारी नीति बनाउनुपर्ने बताउदै आएका छन् ।
नगरप्रमुख नरबहादुर पुनले किसानको समस्या वास्तविक र गम्भीर रहेको स्वीकार गर्दै बाँदर नियन्त्रणका लागि नगरपालिका सुरुदेखि नै विकल्प खोजिरहेको बताउनुभयो । बाँदरलाई एउटै क्षेत्रमा आकर्षित गरी खेतीयोग्य बस्तीबाट टाढा राख्ने उद्देश्यले ‘बाँदर बगैंचा’ निर्माण गर्ने योजना अघि बढाइएको बताउदै बाँदरलाइ थुनेर बगैचामा राख्ने कानून नभएकाले समस्या भएकाले मसला बालीमा किसानलाई आकर्षित गर्ने योजना नगरपालिकाको रहेको नगरउपप्रमुख हरिरह शर्माले जानकारी दिनुभयो । शर्माले बाँदर व्यवस्थापन स्थानीय तहको सीमित स्रोत–साधनले मात्रै सम्भव नहुने बताउदै बाँदर बगैंचा निर्माणका लागि आवश्यक बजेट, प्राविधिक तयारी तथा कानुनी प्रक्रियाका कारण योजना कार्यान्वयनमा समय लागेको बताउनुभयो । छिस्तीको पुरानो गाउँ क्षेत्रमा केही पूर्वाधार निर्माण गरेर बाँदरलाई आवश्यक पर्ने फलफूलका बिरुवा पनि रोपिएको भएपनि काम गर्न नसकिएको बताउनुभयो ।