बागलुङ। बागलुङको निसीखोला गाउँपालिका–३ धाराखर्क निवासी ३९ वर्षीया सुत्केरी मीना सुनारको उपचारका लागि हेलिकोप्टरमार्फत रिफर गरिएको अवस्थामा पोखरामा निधन भएको छ।
सुनारले मंगलबार बिहान करिब ७ बजे बोहरागाउँ स्वास्थ्य चौकीमा शिशुलाई जन्म दिनुभएको थियो। सुत्केरीपछि प्रारम्भिक स्वास्थ्य अवस्था सामान्य देखिए पनि केही समयपछि अत्यधिक आन्तरिक रक्तस्राव भई अवस्था गम्भीर बनेको थियो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बुधबार बिहान उहाँलाई थप उपचारका लागि बुर्तिबाङ प्रदेशिक अस्पताल ल्याइएको थियो।
प्रदेशिक अस्पताल बुर्तिबाङका मेडिकल सुपरिटेन्डेन्ट डा। अबिनाश पोखरेलका अनुसार अस्पतालमा आवश्यक विशेषज्ञ उपचार सम्भव नभएकाले थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत डा। सागर विश्वकर्मासहित काठमाडौं रिफर गर्ने व्यवस्था गरिएको थियो।
तर उडानका क्रममा बिरामीको स्वास्थ्य अवस्था झन् नाजुक बन्दै गएपछि हेलिकोप्टरलाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आकस्मिक अवतरण गराइएको थियो। अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले सुनारलाई मृत घोषणा गरेको डा। पोखरेलले जानकारी दिनुभयो।
यता, नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रदेशिक अस्पताल बुर्तिबाङका प्रशासन शाखा प्रमुख झमबहादुर सिर्पालीले जानकारी दिनुभयो।