बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागलुङको प्रथम जिल्ला अधिवेशन यही साउन १६ गते आयोजना गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले बागलुङ जिल्ला अधिवेशनबाट गठन गरिएको जिल्ला कार्यसमिति बदर गर्दै पुनः अधिवेशन गराउने निर्णय गरेपछि बागलुङ बजारमा अधिवेशनको आयोजना गरिएको रास्वपा नेता पुनम शर्माले प्रष्ट पार्नुभयो ।
केन्द्रीय निर्वाचन आयोगले बागलुङ जिल्ला अधिवेशन सम्पन्न भएपछि अधिवेशन सञ्चालन प्रक्रियासम्बन्धी प्राप्त उजुरी, उपलब्ध तथ्य तथा प्रमाण र सम्बन्धित पक्षबाट प्राप्त स्पष्टीकरणको विस्तृत अध्ययनपछि अधिवेशन पार्टीको जिल्ला अधिवेशन कार्यविधि अनुसार सञ्चालन नभएको निष्कर्ष निकालेपछि पुन अधिवेशनको आयोजना गरिएको हो ।
आयोगले बागलुङ जिल्ला अधिवेशनबाट गठन भएको भनिएको जिल्ला कार्यसमितिको घोषणा पूर्ण रूपमा बदर गर्ने निर्णय साउन ४ गते गरेको थियो ।
आयोगका प्रमुख भुवन केसीका अनुसार नयाँ जिल्ला अधिवेशनको मिति, समय, स्थान तथा निर्वाचन समिति गठनसम्बन्धी निर्णय आगामी सात दिनभित्र सार्वजनिक गर्ने निर्देशन अनुसार गलकोटमा भएको अधिवेशन अब बागलुङमा हुने भएको छ ।
२०८३ जेठ २३ गते गलकोटमा भएको प्रथम जिल्ला अधिवेशनबाट पुनम प्रसाद शर्माको नेतृत्वमा जिल्ला कार्यसमिति घोषणा भएपछि अर्का अध्यक्षका आकांक्षी ढालेन्द्र रायमाझी पक्षले अधिवेशनस्थलमै विरोध जनाएका थिए । केन्द्रमा प्रक्रियाको विषयमा उजुरी परेपछि स्थगनको सूचिमा बागलुङ परेको थियो ।