बागलुङ ।उच्च अदालत पोखरा, बागलुङ इजलाशमा हरेक वर्ष मुद्दाको संख्या कम हुँदै गएको छ ।
आर्थिक वर्ष २०८२÷०८३मा उच्च अदालतमा जम्मा ३ सय ७१ थान मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष ०८०÷०८१मा ५ सय ५२ थान मुद्दा दर्ता भएको थियो । आर्थिक वर्ष ०८१÷०८२मा मुद्दाको संख्या कम भएर ४ सय १ थान मात्र दर्ता भए । हरेक वर्ष अदालतमा दर्ता हुने मुद्दाको संख्या कम हुँँदै जाँदा ०८२÷०८३मा भन्दा ०८१÷०८२मा ३० थान मुद्दा कम परेका छन् ।
मुद्दाको संख्या कम भएजस्तै फर्छाैट हुने दरमा पनि कमी आएको छ । आर्थिक वर्ष ०८०÷०८१मा ४ सय ५८ थान मुद्दा फर्छाैट भएका थिए । आर्थिक वर्ष ०८१÷०८२मा ३ सय ३६ थान मुद्दा फर्छाैट भएकोमा आर्थिक वर्ष ०८२÷०८३मा २ सय ८२ थान मात्र मुद्दा फर्छाैट भएका छन् ।
गत आर्थिक वर्षमा निर्वाचन भएको हुँदा न्यायाधीश सहित अदालतका कमचारी निर्वाचनमा खटिदा मुद्दाहरु कम फर्छाैट भएको उच्च अदालत पोखरा, बागलुङ इजलाशका ध्यायाधीश नातिबाबु लामिछानेले जानकारी दिनुभयो । अदालतमा पर्ने मुद्दाको संख्या कम भएपनि राज्यले दिएको जिम्मेवारी अनुसार कार्यसम्पादनमा भने कमी नभएको उहाँको भनाई छ । उच्च अदालतमा ६ महिना समय नाघेका मुद्दा ७ थान मात्र रहेको उहाँले बताउनुभयो । अघिल्लो वर्षबाट सरेर आएका मुद्दाको संख्या शुन्य रहेको उहाँको भनाई छ ।
तराईं र उच्च जनघनत्व भएका जिल्लाका तुलनामा पहाडी जिल्लामा बनावटी मुद्दा न्यून हुने भन्दै उहाँले साइबर अपराध, ठगी मुद्दा कम भएका कारणले पनि मुद्दाको संख्या कम भएको उहाँको भनाई छ । बनावटी मुद्दा कम हुने हुँदा परेका सबै मुद्दालाई गम्भिर भएर तल्लो तहसम्मै पुगेर हेर्नुपर्ने भएकाले अन्य जिल्लाको तुलनामा काम गर्न जटिल हुने लामिछानेले बताउनु भयो ।
०८२÷०८३ मा देवानी तर्फ जाल साँझ सम्बन्धी १३, चेक अनाधर सम्बन्धी १४, सम्बन्ध विच्छेदका १६, अंश वण्डा १७, लेखदेन १७, लिखित बदर १८ र अंश दपोट सम्बन्धी ३ वटा मुद्दा दर्ता भएका छन् । फौजदारी तर्फ कर्तव्य ज्यान सम्बन्धी ३७, जबरजस्ती करणी सम्बन्धी २५, हाडनाता जबरजस्ती करणी सम्बन्धी ९ वटा, जबरजस्ती करणी उद्योग सम्बन्धी ९ र अपहरण तथा शरिर बन्धक कसुर सम्बन्धी १ थान मुद्दा दर्ता भएका छन् ।
त्यसैगरी बन्दीप्रत्यक्षीकरण ३, निषेधाज्ञा १२, परमादेश २५, उत्प्रेषण २८ थान दर्ता भएको उच्च अदालत पोखरा, बागलुङ इजलाशका रजिष्ट्रार रामबहादुर थापा क्षत्रीले जानकारी दिनुभयो ।
