• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

गौरिधाममा भक्तजनको स्वास्थ्य परीक्षण

  • २०८३ श्रावण १९, मंगलवार

बागलुङ । साउनको तेस्रो सोमबार गौरिधाम मन्दिर दर्शनका लागि पुग्ने भक्तजनको स्वास्थ्यलाई मध्यनजर गर्दै बागलुङ उद्योग वाणिज्य संघले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित गौरिधाम मन्दिर परिसरमा सञ्चालन गरिएको शिविरमा दर्शनार्थी भक्तजनको स्वास्थ्य परीक्षण गरिएको थियो । मन्दिर दर्शनका क्रममा भक्तजनलाई स्वास्थ्य समस्या पर्न सक्ने अवस्थालाई ध्यानमा राखेर शिविर सञ्चालन गरिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले बताउनुभयो ।
संघका महासचिव इन्द्रमणि पौडेल (अर्जुन) का अनुसार शिविरबाट एक सय ४१ जना भक्तजन लाभान्वित भएका छन् । शिविरमा एक सय ११ महिला र ३० जना पुरुषले स्वास्थ्य परिक्षण गरेको महासचिव पौडेलले जानकारी दिनुभयो ।

शिविरमा रक्तचाप (प्रेसर), शरीरको तापक्रम लगायत आधारभूत स्वास्थ्य परीक्षण गरिनुका साथै आवश्यक पर्ने निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

शिविरको अवसरमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले स्वास्थ्य सेवाको महत्व र यस्ता सामाजिक सेवामूलक कार्यक्रमको आवश्यकतालाई ध्यानमा राखेर कार्यक्रम गरेको भन्दै संघलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।