बागलुङ । प्रतिनिधिसभा सदस्य सुशील खड्काले वन्यजन्तुका कारण किसानले व्यहोर्दै आएको कृषि क्षति न्यूनीकरण गर्न सङ्घीय र स्थानीय तहको समन्वयमा तत्काल ‘वन्यजन्तु हेरालो तथा नियन्त्रण कार्यक्रम’ सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले आफ्नो निर्वाचन क्षेत्र बागलुङमा किसानका बारीमा सुन्तलाका बोट लटरम्म फले पनि बाँदरबाट उत्पादन नष्ट हुने त्रासका कारण किसान चिन्तित रहेको बताउनुभयो । वन्यजन्तुको समस्याका कारण कतिपय किसानले नयाँ बिरुवा रोप्नसमेत छाडेको उहाँको भनाइ थियो ।
पहाडी क्षेत्रमा बाँदर तथा तराईमा बँदेल र निलगाईका कारण कृषि उत्पादनमा ठूलो क्षति पुगेको उल्लेख गर्दै उहाँले कतिपय स्थानमा किसान खेतीपाती नै छाड्न बाध्य भएको बताउनुभयो ।
सांसद खड्काले गत वर्ष बागलुङ, म्याग्दी र पर्वत जिल्लाबाट मात्रै रु. १०० करोडभन्दा बढीको सुन्तला बिक्री भएको जानकारी दिँदै सुन्तला उत्पादनबाट हुने आम्दानीको पाँच प्रतिशत रकम वन्यजन्तुबाट कृषि जोगाउने कार्यक्रममा लगानी गर्ने हो भने सुन्तला उत्पादन हुने प्रत्येक वडामा वर्षभरि हेरालो परिचालन गर्न सकिने बताउनुभयो ।
उहाँले उक्त कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सके गाउँमै तीन लाखभन्दा बढी हरित रोजगारी सिर्जना हुने र कृषिमा रु. ५० अर्बभन्दा बढीको आर्थिक लाभ लिन सकिने दाबी गर्नुभयो ।
वन्यजन्तु नियन्त्रणका लागि मोसन सेन्सर, अलार्म, ड्रोनलगायत प्रविधिको प्रयोग गर्न सकिने भए पनि तत्काल किसानलाई राहत आवश्यक रहेको उहाँले जोड दिनुभयो ।
किसानलाई राज्यको उपस्थिति महसुस गराउन, कृषि उत्पादन वृद्धि गर्न, आयात प्रतिस्थापन गर्न तथा गाउँमै रोजगारी सिर्जना गर्न ‘वन्यजन्तु हेरालो तथा नियन्त्रण कार्यक्रम’ तत्काल सञ्चालन गरी त्यसलाई दिगो र प्रभावकारी बनाउन आवश्यक ऐन वा विधेयकसमेत अघि बढाउन सांसद खड्काले सरकारसँग आग्रह गर्नुभयो ।