बागलुङ । धौलागिरि अस्पताल बागलुङले नाक, कान, घाँटी, मनोरोग र छालारोग विशेषज्ञ सेवा थप गर्ने भएको छ ।
अस्पतालले विशेषज्ञ चिकित्सकको व्यवस्था गरी नयाँ सेवा सञ्चालनमा ल्याउने तयारी गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८२÷८३ को सेवा प्रवाहबारे आयोजित सार्वजनिक सुनुवाइमा उहाँले सबै प्रकारका विशेषज्ञ सेवा उपलब्ध गराउने गरी अस्पतालको सेवा विस्तार भइरहेको बताउनुभयो । “अस्पताललाई प्रदेशकै अब्बल अस्पताल बनाउन सबैखाले प्रयास भइरहेको छ, अब रिफर भएर जाने अवस्थाको अन्त्य हुन्छ सबैखाले सुविधा दिने प्रयास गरेका छौं”, अध्यक्ष शर्माले भन्नुभयो “अस्पताल व्यवस्थापन समितिले ठूलो आर्थिक भार बहन गरेर विशेषज्ञ सेवाका लागि चिकित्सक राखेका छौं ।”
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीका अनुसार गत आर्थिक वर्षमा एक लाख दुई हजार नागरिकले अस्पतालबाट सेवा लिएका र जसमध्ये ७१ हजार बिरामीले स्वास्थ्य बीमामा आबद्द भएको बताउनुभयो । उहाँले अस्पतालले रु. ११ करोड बजेट प्रदेशबाट विभिन्न सेवा विस्तारमा पाएको सुनाउनुभयो । हाल स्नायु प्रणालीसम्बन्धी समस्या र हृदयघात भएका बिरामीलाई मात्रै अन्यत्र रिफर गर्नुपर्ने अवस्था रहेको बताउदै अन्य विरामीलाई अस्पतालमै सेवा दिइरहने प्रयास भएको डा. तिवारीले बताउनुभयो । उहाँले अस्पतालले डाइलाइसिस सेवा विस्तार गरेको प्रसव पीडा बिनै सुत्केरी गराएको र सर्पले टोकेको उपचार केन्द्र स्थापना गरेको बताउनुभयो ।
अस्पतालमा हाल १८ विशेषज्ञ तथा १३ मेडिकल अधिकृत ३१ जना चिकित्सक कार्यरत छन् । तत्कालीन बागलुङ जिल्ला अस्पताल स्तरोन्नति भई प्रदेश अस्पतालका रूपमा सञ्चालनमा आएको धौलागिरि अस्पतालले हाल १०० शैयाको प्रदेश अस्पतालको रुपमा सेवा दिइरहेको छ । अस्पताल व्यवस्थापन समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ बागलुङको सहजीकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’, उपाध्यक्ष सुवास आचार्य, अस्पतालकी सूचना अधिकारी शान्ति पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण कार्कीलगायतले धारणा राख्नुभएको थियो । कार्यक्रममा स्थानीय उपभोक्ता तथा बिरामीहरु योगराज कँडेल, तारानाथ शर्मा, चुडामणी शर्मा, हरीदक्त पन्त, माइकल कँडेल, रितादेवी कार्की, सिताराम रसाईली, राम बहादुर केसी, नारायण शर्मा, रोहित सुनार र प्रेम बहादुर बोहोराले जिज्ञासा र प्रश्न राख्नुभएको थियो ।
अस्पतालमा हाडजोर्नी, नाक, कान, घाँटी, स्त्री तथा प्रसूति, हेमोडायलायसिस, सुरक्षित गर्भपतन, आँखा उपचार केन्द्र तथा पाठेघरको क्यान्सरसम्बन्धी उपचार सेवा सञ्चालनमा छन् । हाल ६३ जनाले नियमित डायलायसिस सेवा लिइरहेका छन् । गत आर्थिक वर्षमा अस्पतालमा ७८५ जना सुत्केरी भएका थिए । तीमध्ये २४८ जनाको शल्यक्रियामार्फत प्रसूति गराइएको डा. तिवारीले जानकारी दिनुभयो ।
एक वर्षमा अस्पतालमा स्वास्थ्य बीमामार्फत ७१ हजार ७२९ जनाले सेवा लिएका छन् । स्वास्थ्य बीमाले अस्पतालको सेवा विस्तार र पहुँच बढाउन महत्वपूर्ण भूमिका खेलेको बताउदै रु. ११ करोड रकम स्वास्थ्य बीमामार्फत अस्पतालमा सेवा दिएवापत आएको डा. तिवारीले बताउनुभयो । अस्पतालमा प्रमाणपत्र तहको स्टाफ नर्स पढाइ सञ्चालन गर्ने तयारीसमेत भइरहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।