• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

मानसिक स्वास्थ्य र लैङ्गिक हिंसा न्यूनीकरणमा स्वास्थ्य स्वयंसेविका सक्रिय

  • २०८३ श्रावण ३१, आईतवार

बागलुङ । मानसिक स्वास्थ्य सचेतना, लैङ्गिक हिंसा न्यूनीकरण तथा मनोविमर्श सेवाबारे समुदायस्तरमा सचेतना फैलाउन स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिने भएको छ ।

अमलाचौर स्वास्थ्य चौकीका कर्मचारी तथा बागलुङ नगरपालिका–१२ का सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि आयोजित एकदिने मानसिक स्वास्थ्य सचेतना, लैङ्गिक हिंसा न्यूनीकरण तथा मनोविमर्शसम्बन्धी अन्तरसंवाद कार्यक्रममा सहभागीलाई समुदायस्तरमा सक्रिय भएर काम गर्न आग्रह गरिएको हो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले स्वास्थ्य स्वयंसेविकालाई मानसिक स्वास्थ्य, लैङ्गिक हिंसा न्यूनीकरण र मनोविमर्शसम्बन्धी आधारभूत ज्ञान प्रदान गर्दा प्रभावकारी परिणाम हासिल गर्न सकिने बताउनुभयो । उहाँले नगरपालिकाले स्वास्थ्य स्वयंसेविकासँग समन्वय गरी मानसिक स्वास्थ्य प्रवद्र्धन तथा हिंसा न्यूनीकरणका क्षेत्रमा काम गर्ने योजना बनाएको जानकारी दिनुभयो ।

लगातार दुई साताभन्दा बढी समय उदास रहने, चिन्ता गर्ने, निद्रा नलाग्ने, एक्लै बस्ने तथा मदिरा वा लागुऔषध सेवन गर्ने जस्ता व्यवहार देखिएमा समयमै मनोविमर्श सेवा उपलब्ध गराउनुपर्ने उहाँको भनाइ थियो । समुदायमा घरघरमा पुग्न सक्ने र मानिसका मनका कुरा सुन्ने विश्वासिलो पात्र स्वास्थ्य स्वयंसेविका भएकाले मानसिक स्वास्थ्य समस्या पहिचान तथा उपचारका लागि अस्पतालसम्म पु¥याउन उनीहरूको भूमिका महत्वपूर्ण हुने खड्काले बताउनुभयो ।

औषधि सेवन गरिरहेका मानसिक स्वास्थ्यका बिरामीलाई नियमित औषधि सेवन गर्न प्रेरित गर्ने तथा आवश्यक सहयोग र साथ दिने कार्यमा समेत स्वयंसेविका प्रभावकारी बन्न सक्ने उहाँले बताउनुभयो ।

धौलागिरि अस्पतालका चिकित्सक डा सन्दीप केसीले अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) मार्फत हिंसापीडितलाई उपलब्ध गराइरहेको सेवाबारे जानकारी गराउँदै लैङ्गिक हिंसाका कारण समाजमा आपराधिक घटनासमेत बढिरहेको बताउनुभयो । उहाँले हिंसा न्यूनीकरणका लागि समुदायस्तरबाटै सक्रिय भूमिका निर्वाह गर्न स्वास्थ्य स्वयंसेविकालाई आग्रह गर्नुभयो ।

मनोविमर्शकर्ता नारायण आचार्यले स्वास्थ्य स्वयंसेविकासँगको सहकार्यमा बागलुङ नगर क्षेत्रका समुदायमा मानसिक स्वास्थ्यबारे खुलेर छलफल गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई पहिचान गरी आवश्यक उपचार तथा मनोविमर्शका लागि अस्पतालसम्म पु¥याउन स्वयंसेविकाले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा अमलाचौर स्वास्थ्य चौकी प्रमुख कृष्ण पौडेल र जीवन विज्ञानका प्रशिक्षक प्रमानन्द पौडेलले मानसिक स्वास्थ्यलाई स्वच्छ र शान्त राख्न योग, ध्यान तथा समयमै उपचारमा ध्यान दिनुपर्ने बताउनुभयो ।

  • २०८३ श्रावण ३१, आईतवार