बागलुङ । आदर्श सञ्चार सहकारीद्वारा प्रकाशित धौलागिरि जागरण दैनिकका सम्पादक सिर्जना पन्तलाई ‘टिका–विद्या स्मृति पत्रकारिता पुरस्कार–२०८१’ प्रदान गरिएको छ ।
ढोरपाटन दैनिकको २४औँ वार्षिकोत्सव समारोहमा नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्षसमेत रहनुभएका पन्तलाई नगद रु. १० हजारसहित उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार ढोरपाटन दैनिकका पूर्वअध्यक्ष कृष्णमैया अधिकारीले आफ्ना बाबुआमाको नाममा स्थापना गर्नुभएको हो ।
पन्तलाई गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री गोविन्द नेपालीले पुरस्कार प्रदान गर्नुभएको थियो ।
पन्त विगत १२ वर्षदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । उहाँले सयपत्री एफएमबाट पत्रकारिता सुरु गर्नुभएको थियो । हाल नेपाल समाचारपत्रमा समेत आबद्ध पन्तले इन्सेक बागलुङ प्रतिनिधिका रूपमा मानव अधिकारका विषयमा समेत कलम चलाउँदै आउनुभएको छ ।
उहाँले २०६९ सालदेखि धौलागिरि जागरण दैनिकमा संवाददाताका रूपमा पत्रकारिता सुरु गर्नुभएको थियो । संवाददाता हुँदै सह–सम्पादकको जिम्मेवारी सम्हाल्नुभएका पन्त २०८२ सालदेखि धौलागिरि जागरण दैनिकको सम्पादकका रूपमा कार्यरत हुनुहुन्छ ।