बागलुङ । बागलुङ बजारको चिप्लेटी बसपार्कलाई अब जीपपार्कका रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । उपल्लाचौरमा आधुनिक बागलुङ बसपार्क सञ्चालनमा आएपछि खाली रहेको चिप्लेटी बसपार्कलाई साना सवारी साधनको पार्किङ तथा सञ्चालनस्थलका रूपमा प्रयोग गर्ने सहमति भएको हो ।
बागलुङ नगरपालिका–४ दावगरामा निर्माण भएको नयाँ बसपार्कबाट लामो तथा छोटो दूरीका बस, मिनिबस र भ्यान सञ्चालनमा आएपछि चिप्लेटी बसपार्क खाली थियो । बसपार्क खाली भएपछि आसपासको व्यापार व्यवसाय प्रभावित भएको भन्दै स्थानीयले उक्त क्षेत्रलाई पुनः चलायमान बनाउन माग गर्दै आएका थिए ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको संयोजकत्वमा बुधबार बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, सुरक्षा निकाय, वडा अध्यक्ष तथा अन्य सरोकारवालाबीच भएको छलफलले बागलुङ नगरपालिका–३ स्थित चिप्लेटी बसपार्कलाई जीपपार्कका रूपमा सञ्चालन गर्ने सहमति गरेको हो ।
प्रजिअ आचार्यका अनुसार चिप्लेटीबाट पिकअप जीप, ट्याक्सी, तीनपाङ्ग्रे तथा अन्य साना सवारी साधन सञ्चालन र पार्किङ गर्ने व्यवस्था मिलाइनेछ । उहाँले जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्रप्रसाईलाई चिप्लेटीमा जीप पार्किङको व्यवस्था मिलाउन निर्देशन दिइएको बताउनुभयो ।
नगरप्रमुख श्रेष्ठले बजार क्षेत्रका सबै वडाका अध्यक्षसहितको बैठकले चिप्लेटीलाई जीपपार्क तथा अन्य साना सवारी साधन पार्किङस्थलका रूपमा सञ्चालन गर्ने सहमति गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार चिप्लेटीबाट जीप, ट्याक्सी तथा गाउँबाट आउने पिकअप जीप सञ्चालनमा ल्याउँदा बजार क्षेत्रमा भइरहेको अव्यवस्थित पार्किङ हटाउन सहयोग पुग्नेछ । हाल बागलुङ नगरपालिका–२ स्थित जीपपार्कबाट जीप सञ्चालन हुँदै आएका छन् भने ट्राफिक चोकमा ट्याक्सी पार्किङ हुँदै आएका छन् ।
साना सवारी साधनका लागि आवश्यक पूर्वाधारको व्यवस्थापन गरी चिप्लेटीबाटै सञ्चालन र पार्किङ गर्ने तयारी थालिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । गाउँबाट आउने पिकअप जीपले बजार क्षेत्रमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको गुनासोसमेत यस व्यवस्थाले सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।
धौलागिरि कालिका यातायात प्रालिका अध्यक्ष दिनेश बोहोराले सर्वपक्षीय बैठकबाट भएको सहमतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । व्यवसायीलाई असर नपर्ने र यात्रुलाई सहज हुने गरी निश्चित समय निर्धारण गरेर जीप, पिकअप तथा ट्याक्सीलाई यात्रु चढाउने र ओराल्ने व्यवस्था मिलाउनुपर्ने उहाँको भनाइ छ ।
प्रशासन र नगरपालिकाले गरेका निर्णयलाई यातायात व्यवसायीले सधैँ सहयोग गर्दै आएको बताउँदै बोहोराले व्यवसायीलाई पनि सरोकारवाला निकायले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
करिब २४ वर्षदेखि सञ्चालनमा रहेको चिप्लेटी बसपार्क गत भदौदेखि खाली भएको थियो । नयाँ बसपार्क दावगरामा स्थानान्तरण भएपछि चिप्लेटी क्षेत्र सुनसान बनेको थियो । स्थानीय, वडा अध्यक्ष तथा व्यवसायीले उक्त क्षेत्रमा पुनः बसपार्क वा जीपपार्क सञ्चालन गरी व्यापार व्यवसायलाई चलायमान बनाउन माग गर्दै आएका थिए ।