• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

जेसीज सप्ताह : बागलुङका दुई युवा प्रतिभा सम्मानित

  • २०८३ भाद्र ९, मंगलवार

बागलुङ । बागलुङ जेसीजको ‘जेसीज सप्ताह’ शुभारम्भ भएको छ । समारोहकोे उद्घाटन कार्यक्रममा दुई युवा प्रतिभा सम्मानित भएका छन् ।

युवाको नेतृत्व क्षमता, व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको सप्ताहको पहिलो दिन युवा सम्मान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन बागलुङ जेसीजका पूर्वअध्यक्ष एवं बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले गर्नुभएको थियो ।
उद्घाटनपछि बोल्दै श्रेष्ठले युवाहरुलाई उत्प्रेरता दिन आवश्यक रहेको बताउनुभयो । युवाहरुका विभिन्न प्रतिभा प्रोत्साहन लगायतका काममा जेसीजले हौसला प्रदान गर्दै आउनु प्रशंसनीय रहेको बताउनुभयो ।

बागलुङ जेसीजले समाज रूपान्तरणमा योगदान पु¥याएको भन्दै ट्राभलर तथा युवा फोटोग्राफर सन्दीप शर्मा र सन्ध्या क्रिएसन बुटिक एण्ड मेकअप स्टुडियोका सञ्चालक तथा युवा व्यवसायी सन्ध्या राजभण्डारी श्रेष्ठलाई सम्मान गरेको हो ।  नगर प्रमुख श्रेष्ठ र जेसीजका अध्यक्ष अञ्जिला श्रेष्ठले संयुक्तरूपमा शर्मा र राजभण्डारीलाई सम्मान गर्नुभयो ।

जेसीजले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विभिन्न रचनात्मक गतिविधिसहित हरेक वर्ष जेसीज सप्ताह आयोजना गर्दै आएको छ । जेसीजका पूर्वअध्यक्ष दिवाकर शाक्यका बुबा कृष्णप्रसाद शाक्यको स्मृतिमा स्थापित कृष्णप्रसाद शाक्य स्मृति कोषबाट ‘युवा सम्मान’ प्रदान गरिएको हो । कार्यक्रममा जेसीजका पूर्वअध्यक्ष पार्वती अधिकारी, बोर्ड अफ ट्रस्टीका अध्यक्ष सुरेशप्रसाद श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जेसीज अध्यक्ष अञ्जिला श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष एवं मूल संयोजक सुलभ खड्काले स्वागत तथा महासचिव स्वीकृति भारीले सञ्चालन गर्नुभएको थियो । यस वर्षको जेसीज सप्ताह भदौ ९ देखि १५ गतेसम्म सञ्चालन हुँदैछ । सप्ताहअन्तर्गत भदौ १० गते धवलागिरि बहुमुखी क्याम्पसमा मनोपरामर्श कार्यक्रम, भदौ ११ गते लोकतान्त्रिक चोकमा ‘सत्यदेवी स्मृति स्लो बाइक रेस’ प्रतियोगिता, भदौ १२ गते होटल दि राजनमा उद्घोषण कला तालिम र भदौ १३ गते रस आवर फुटसलमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिने भएको छ ।

त्यस्तै, भदौ १४ गते राधाकृष्ण मन्दिरमा १२औँ अन्तरविद्यालय नृत्य प्रतियोगिता तथा भदौ १५ गते होटल पिस प्यालेसमा मूल समारोह र प्रगतीकुमार श्रेष्ठ स्मृति वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने बागलुङ जेसीज बागलुङले जनाएको छ ।

  • २०८३ भाद्र ९, मंगलवार