• २०८३ मंसिर ४, बिहीबार
  • 2026 November 19, Thursday

प्रहरीसंग नागरिक मिले अपराधरहित समाज बनाउन सकिन्छ : प्रहरी महानिरीक्षक कार्की

  • २०८३ भाद्र १०, बुधबार

बागलुङ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी र नागरिकको सहकार्यबाट मात्रै सभ्य तथा अपराधरहित समाज निर्माण गर्न सकिने बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङमा हालै निर्माण सम्पन्न चार वटा ब्यारेक तथा आवास भवनहरुको उद्घाटन गर्दै उहाँले समुदायको अपनत्व र साथबिना प्रहरी सफल हुन नसक्ने बताउनुभयो । अपराध न्यूनीकरण तथा अनुसन्धानमा नागरिकको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो ।

“दिनभर सुरक्षामा खटिएको प्रहरीलाई आराम गर्ने कक्षको बागलुङ सदरमुकाममै अभाव थियो, गाउँका प्रहरी चौकीमा अझै समस्या छ,” प्रहरी महानिरीक्षक कार्कीले भन्नुभयो, “बागलुङ प्रहरीका लागि आवश्यक भौतिक पूर्वाधार एकैपटक निर्माण भएको छ, यसले प्रहरीलाई जनताको सेवामा थप उत्साहका साथ खटिन बल पुग्छ ।”
जिल्ला प्रहरी कार्यालय बागलुङमा रु. नौ करोड ७१ लाखको लागतमा ब्यारेक, मेस, हिरासत कक्ष र वरिष्ठ प्रहरी अधिकृत आवास तथा कार्यालय प्रमुख निवास गरी चार भवन निर्माण गरिएको छ । सुविधा सम्पन्न भौतिक संरचनाले प्रहरीको मनोबल उच्च बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।

नागरिक प्रहरी कार्यालयमा आउँदा आफ्नै घर सम्झेर विश्वासका साथ आउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै कार्कीले प्रहरीलाई थप प्रविधिमैत्री र परिस्कृत बनाउन आवश्यक रहेको बताउनुभयो । प्रहरी एपमार्फत नागरिकका गुनासा सुन्ने व्यवस्था गरिएको उल्लेख गर्दै उहाँले चोरी तथा सामान हराएको विषयमा समेत डिजिटल माध्यमबाट उजुरी गर्न सकिने बताउनुभयो । प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिकालाई अपराधबाट जोगाउन अभिभावक पनि सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।

“प्रहरीलाई प्रोत्साहन गर्ने समुदाय खुसी भएको पाइएको छ , प्रहरीलाई तिरस्कार र बहिष्कार गर्ने समाजमा अपराधका घटना बढी हुने गरेका छन्,” कार्कीले भन्नुभयो ।
अपराधसम्बन्धी सूचना समुदायबाटै प्राप्त हुनुपर्ने उल्लेख गर्दै उहाँले अपराध अनुसन्धानमा प्रहरी र समुदाय मिलेर काम गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । अनुसन्धान र अभियोजनमा सीप तथा ज्ञानको प्रयोग गर्दै नेपाल प्रहरी जनताको सहयोग र साथबाट अघि बढिरहेको उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले बागलुङलाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न ‘बागलुङ जाऔँ’ अभियान सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । धार्मिक पर्यटकलाई आकर्षित गर्न जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । कार्कीले नेपालभर २८५ वटा प्रहरी युनिट जोखिमपूर्ण अवस्थामा छन् भने थप ९७० प्रहरी युनिटको माग भइरहेको बताउनुभयो ।

चालु आर्थिक वर्षदेखि स्थानीय तहले समेत स्थानीयस्तरका प्रहरी चौकी तथा आवास व्यवस्थापनमा खर्च गर्न सक्ने व्यवस्था रहेको जानकारी दिँदै उहाँले प्रहरी चौकी तथा भवन निर्माणमा स्थानीय तहको सहयोग आवश्यक रहेको बताउनुभयो । २०७९ सालदेखि निर्माण सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङको उक्त भवन २०८३ जेठमा सम्पन्न भएकाले प्रहरीले भाडामा बस्नुपर्ने अवस्थाको अन्त्य भएको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक फडिन्द्र प्रसाईले जानकारी दिनुभयो ।

 

  • २०८३ भाद्र १०, बुधबार