बागलुङ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित जिल्लाका नागरिकको राहत तथा उद्धारका लागि बागलुङको विभिन्न पालिकाले सहयोग गर्ने भएका छन् ।
जिल्लाको ताराखोला गाउँपालिका ,बागलुङ नगरपालिका ,जैमिनी नगरपालिका, वडिगाड गाउँपालिका र काठेखोला गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।
पालिकाले रसुवा, नुवाकोट र धादिङ जिल्लाबाट बग्ने भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीले पु¥याएको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल राहतस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएका छन् । ताराखोला गाउँपालिकाले रु दुई लाख सहयोग गर्ने भएको प्रमुख प्रशासकीय अधिकृत विमल रिजालले जानकारी दिनुभयो । बागलुङ नगरपालिकाले रु पाँचलाख रुपैया सहयोग गर्ने भएको छ ।
यस्तै जैमिनी नगरपालिकाले एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । यसैविच काठेखोला गाउँपालिकाले पनि बाढी प्रभावितको राहत तथा पुनः स्थापनाका लागि रू. दुई लाख सहयोग गर्ने निर्णय गरेको छ । उता बडिगाड गाउँपालिकाले कर्मचारी तथा जनप्रतिनिधिहरूको ३ (तीन) दिनको तलब भत्ता सहित ५ लाख बराबरको रकम नेपाल सरकारको प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय घोषणा गरेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।
गलकोट नगरपालिकालेपनि बाढी प्रभावितकोलागि सहयोग गर्ने भएको छ । गलकोटले रु ६ लाख ७० हजार पठाउने गलकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डम्मर बहादुर जिसीले जानकारी दिनुभयो ।
बुधबार बिहान आएको भीषण बाढीले मानवीय तथा भौतिक क्षति पुर्याएपछि उद्धार तथा राहतका लागि सहयोग रकम जुट्न थालेको छ ।