• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

सम्बन्ध विच्छेदको कारक बन्दै वैदेशिक रोजगारी र सामाजिक सञ्जाल

  • २०८३ भाद्र १३, शनिबार

बागलुङ । बागलुङमा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको पाइएको छ । जिल्ला अदालत बागलुङमा आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका तथा अघिल्लो वर्षबाट जिम्मेवारी सरेका मुद्दामध्ये सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी रहेका छन् ।

अदालतका अनुसार एक वर्षमा रहेका कुल ८९३ मुद्दामध्ये ४७३ वटा सम्बन्ध विच्छेदका छन् । तीमध्ये ३८५ वटा फछ्र्योट भएका छन् भने ८८ वटा मुद्दा बाँकी छन् ।

जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीका अनुसार पछिल्ला वर्षमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएका छन् । वैदेशिक रोजगारी, लामो समयसम्म श्रीमान्–श्रीमतीबीच भेट नहुनु, सामाजिक सञ्जालको प्रयोग, देखासिकी तथा आर्थिक स्वार्थलगायत कारणले सम्बन्ध विच्छेदका घटना बढेको उहाँले बताउनुभयो ।

“मुद्दाको प्रकृतिका आधारमा देवानी मुद्दा सबैभन्दा बढी छन्, जसमध्ये सम्बन्ध विच्छेदका मुद्दा अधिक छन्”, न्यायाधीश अधिकारीले भन्नुभयो, “वैदेशिक रोजगारी र त्यसपछिका घटनाक्रम, सामाजिक सञ्जाल तथा लामो समयसम्म श्रीमान्–श्रीमतीबीच भेट नहुनुलगायत कारणले सम्बन्ध विच्छेदका मुद्दा बढेको देखिन्छ ।”

उहाँका अनुसार आर्थिक लाभका लागि विवाह तथा सम्बन्ध विच्छेद गर्ने, वैदेशिक रोजगारीका लागि विवाह गर्ने र विदेश गएपछि सम्बन्धमा आएको समस्या, पेन्सनलगायत आर्थिक प्रयोजनका कारणसमेत सम्बन्ध विच्छेद हुने गरेको पाइएको छ ।

अदालतमा आर्थिक वर्ष २०८२/८३ मा कुल ८९३ मुद्दामध्ये ६९६ मुद्दा फछ्र्योट भएका छन् भने १९७ मुद्दा बाँकी रहेका छन् । देवानीतर्फका ६३७ मुद्दामध्ये ५०३ मुद्दा फछ्र्योट भएका छन् । विवाहसम्बन्धी ४८ मुद्दामध्ये ४१, लेनदेनका ३४ मध्ये २८, अंशबण्डाका ३९ मध्ये १९ तथा अन्य ४३ मध्ये ३० मुद्दा फछ्र्योट भएका छन् ।

सरकारीवादी फौजदारीतर्फका १९२ मुद्दामध्ये १३९ फछ्र्योट भएका छन् भने ५३ मुद्दा बाँकी छन् । जबर्जस्ती करणीसम्बन्धी ३६ मुद्दामध्ये २३, लागूऔषधसम्बन्धी १२ मध्ये ११, सवारी ज्यानसम्बन्धी १५ मध्ये १२, बैंकिङ कसुरका ३१ मध्ये २४ तथा ज्यान मार्ने उद्योगका १४ मध्ये आठ मुद्दा फछ्र्योट भएका छन् ।

त्यस्तै चोरीसम्बन्धी नौवटै मुद्दा फछ्र्योट भएका छन् । बहुविवाहसम्बन्धी ११ मध्ये पाँच, बालविवाहसम्बन्धी चारवटै, कर्तव्य ज्यानसम्बन्धी आठमध्ये सात तथा गर्भपतनसम्बन्धी एउटा मुद्दा फछ्र्योट भएको अदालतले जनाएको छ ।  दुनियावादी फौजदारीतर्फका ५९ मुद्दामध्ये ४९ फछ्र्योट भएका छन् भने १० बाँकी छन् । जालसाजीका २३ मध्ये २०, चेक अनादरका १८ मध्ये १६ तथा घरेलु हिंसाका चारवटै मुद्दा फछ्र्योट भएका छन् ।

त्यसैगरी आर्थिक वर्षमा दर्ता भएका निषेधाज्ञासम्बन्धी पाँचवटै मुद्दा फछ्र्योट भएका छन् । बाँकी १९७ मुद्दा चालु आर्थिक वर्षमा जिम्मेवारी सरेर आएको अदालतले जनाएको छ ।

  • २०८३ भाद्र १३, शनिबार