बागलुङ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै इस्कोन बागलुङले यस वर्ष आयोजना गर्न लागेको श्रीकृष्ण जन्माष्टमी महोत्सवका सार्वजनिक कार्यक्रमहरू स्थगित गरेको छ।
इस्कोन बागलुङले विगत १५ वर्षदेखि नियमित रूपमा श्रीकृष्ण जन्माष्टमी महोत्सव आयोजना गर्दै आएको थियो। तर बाढीका कारण सर्वत्र शोकको वातावरण सिर्जना भएकाले यस वर्षका महोत्सवसम्बन्धी कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको जिल्ला अध्यक्ष जगतगुरु गिरिधारी दासले जानकारी दिनुभयो।
यद्यपि, भगवान् श्रीकृष्णको पूजा–आराधना, दर्शन तथा जन्माष्टमीका नित्य धार्मिक कार्यक्रमहरू भने यथावत् सञ्चालन हुने इस्कोन बागलुङले जनाएको छ।
भक्तजन तथा श्रद्धालुका लागि दर्शन तथा पूजा व्यवस्था बिहान ४ः३० बजेदेखि राति १२ बजेसम्म खुला रहनेछ।
बाढीपीडितहरूको शान्ति, उद्धार तथा राहतका लागि विशेष भजन–कीर्तन र प्रार्थना समेत आयोजना गरिने जनाइएको छ।