• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

आदर्शसञ्चार अनलाइन आठौ वर्षमा : विश्वास र नयाँ संकल्प

  • २०८३ भाद्र २१, आईतवार

 

सात वर्ष । समयको हिसाबले हेर्दा सात वर्ष लामो अवधि हो । तर पत्रकारिताको यात्रामा सात वर्ष पूरा गर्नु केवल पात्रोमा सात वर्ष थपिनु होइन । यो हरेक दिनको संघर्ष, अनगिन्ती चुनौती, निरन्तर मेहनत, असंख्य प्रश्न, आलोचना, जोखिम र सबैभन्दा ठूलो कुरा, पाठकको विश्वास जितेर अघि बढेको यात्रा हो ।

साविक धौलागिरी अञ्चल अर्थात् आजको धौलागिरी क्षेत्रमा सहकारीमार्फत सञ्चारमाध्यम सञ्चालन गर्ने पहिलो प्रयासका रूपमा स्थापित आदर्श सञ्चार सहकारी संस्था लिमिटेडको तेस्रो सञ्चारमाध्यमका रूपमा आदर्श सञ्चार अनलाइनले आजदेखि सात वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गर्दैछ । यो हाम्रा लागि सामान्य वार्षिकोत्सव होइन । यो आफैँले हिँडेको बाटोतर्फ फर्केर हेर्ने, आफ्ना उपलब्धि र कमजोरीको समीक्षा गर्ने र आगामी यात्राको नयाँ संकल्प गर्ने अवसर हो ।

हामीले सात वर्षको यो यात्रामा केवल समाचार प्रकाशित गरेका छैनौँ । समाजका आवाज सुन्ने, आवाजविहीनका आवाज बोल्ने, गलतलाई गलत भन्ने, सहीलाई सही भन्ने र सार्वजनिक सरोकारका विषयमा निरन्तर प्रश्न उठाउने प्रयास गरेका छौँ । यही प्रयासमा हामीलाई माया गर्ने, विश्वास गर्ने र निरन्तर साथ दिने हजारौँ पाठक हाम्रो यात्राका सबैभन्दा ठूला सहयात्री बन्नु हाम्रा लागि सुखद कुरा हो ।

हाम्रो यात्रा आजबाट सुरु भएको होइन । धौलागिरी जागरण दैनिकको दुई दशक र अग्रसर साप्ताहिकको डेढ दशकको अनुभव बोकेर हामी डिजिटल पत्रकारिताको नयाँ यात्रामा आएका हौँ । माध्यम फेरिएको छ । प्रविधि फेरिएको छ । समाचार पढ्ने शैली फेरिएको छ । पाठकको हातमा पत्रिकाको ठाउँमा मोबाइल पुगेको छ । तर हाम्रो उद्देश्य फेरिएको छैन, समाजलाई सही सूचना दिनु र पत्रकारितामार्फत समाजप्रति जिम्मेवार हुनु ।

यो यात्रा सजिलो थिएन । हामी आफु नाच्ने आँगन आफैँ बनाउँदै, भत्किएको ठाउँ आफैँ सम्याउँदै र फेरि त्यही आँगनमा उभिएर नाच्दै आएका छौँ । कहिले आर्थिक संकट आयो, कहिले प्राविधिक चुनौती आए, कहिले राजनीतिक तथा सामाजिक दबाब आए । कहिले आफ्नै निर्णयमाथि प्रश्न उठे । कहिले प्रकाशित समाचारकै कारण असहज परिस्थिति सिर्जना भयो । तर कठिन घडीमा उभिनु नै हाम्रो पहिचान बन्यो ।

दुई दशकभन्दा लामो सञ्चार यात्रामा हामीले धेरै काँडा पन्छाएका छौँ । धेरै तगाराहरू भत्काएका छौँ । कतिपय बाटा आफैँ बनाएका छौँ । बाटोमा लड्यौँ होला, थाक्यौँ होला, कहिलेकाहीँ निराश पनि भयौँ होला । तर मैदान छोडेनौँ ।

आज पत्रकारिता आफैँ एउटा ठूलो चुनौतीको बीचमा छ । सामाजिक सञ्जालले सूचना छिटो बनाएको छ, तर सत्य र असत्य छुट्याउने चुनौती झन् गम्भीर बनेको छ । प्रविधिले समाचार उत्पादन सहज बनाएको छ, तर विश्वसनीयता जोगाउनु झन् कठिन भएको छ । कृत्रिम बुद्धिमत्ताको विकाससँगै पत्रकारिताको स्वरूप बदलिँदैछ । यस्तो अवस्थामा स्थानीय पत्रकारिताको जिम्मेवारी झन् बढेको हाम्रो ठम्याइ छ ।

त्यसैले आठौँ वर्षमा हामी केही नयाँ गर्ने तयारीमा थियौँ । नयाँ योजना, नयाँ कार्यक्रम र केही परिमार्जित स्वरूपसहित पाठकमाझ आउने हाम्रो तयारी थियो । तर केही प्राविधिक कठिनाइ र मुलुकमा देखिएको विपत्तिलाई समेत मध्यनजर गर्दै तत्कालका लागि केही योजना थाती राखेका छौँ । तर थाती राख्नु भनेको छोड्नु होइन । हामी अझ व्यवस्थित, अझ जिम्मेवार र अझ प्रभावकारी ढंगले ती योजनालाई निकट भविष्यमा अघि बढाउनेछौँ ।

आठौँ वर्षमा हाम्रो प्राथमिकता केवल धेरै समाचार दिनु हुनेछैन । विश्वसनीय समाचार दिनु हुनेछ । केवल घटना लेख्ने होइन, घटनाको कारण खोज्नेछौँ । केवल समस्या देखाउने होइन, समाधानका सम्भावनासमेत खोज्नेछौँ । सत्ता र शक्तिको वरिपरि मात्र होइन, गाउँका कुनाकाप्चामा रहेका नागरिकका आवाजलाई पनि उत्तिकै महत्व दिनेछौँ ।

हामीलाई थाहा छ, हामीसँग ठूलो पूँजी छैन । अत्याधुनिक स्रोत–साधन पनि पर्याप्त नहुन सक्छन् । तर हामीसँग एउटा अमूल्य सम्पत्ति छ, पाठकको विश्वास । त्यही विश्वासलाई हाम्रो सबैभन्दा ठूलो पूँजी मानेर आठौँ वर्षमा प्रवेश गर्दैछौँ ।

सात वर्षसम्म हामीलाई पढ्नुहुने, शेयर गर्नुहुने, प्रतिक्रिया दिनुहुने, आलोचना गर्नुहुने, गल्ती औँल्याइदिनुहुने, समाचारका लागि सूचना उपलब्ध गराउनुहुने र कठिन समयमा समेत हाम्रो साथमा उभिनुहुने सम्पूर्ण पाठक, शुभेच्छुक, विज्ञापनदाता, सहकारीका सम्पूर्ण सदस्य, सञ्चालक, पत्रकार तथा सहयोगीप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।

हाम्रो यात्रा अझै सकिएको छैन । सात वर्ष पूरा भएको छ, तर हाम्रो संकल्प अझै अधुरो छ । हामी फेरि नयाँ उत्साहका साथ उठ्नेछौँ । नयाँ योजना बनाउनेछौँ । नयाँ बाटो खोज्नेछौँ । र फेरि त्यही विश्वासका साथ अघि बढ्नेछौँ । आदर्श सञ्चार अनलाइनको सात वर्ष केवल हाम्रो उपलब्धि होइन, हामीलाई विश्वास गर्ने पाठकको साझा यात्रा हो । ‘आठौँ वर्षमा हाम्रो एउटै संकल्प छ, सत्यको पक्षमा उभिने, जनताको आवाज बोल्ने, धौलागिरीको पहिचान उठाउने र विश्वासलाई अझ बलियो बनाउने ।’ सात वर्षको विश्वाससहित आठौँ वर्षमा प्रवेश गर्दैछौँ । यात्रामा साथ पाइरहने अपेक्षा सहित ? धन्यवाद !

  • २०८३ भाद्र २१, आईतवार