सम्पादकीय । नेपालमा कम्युनिष्ट नाम बोकेका पार्टीको संख्या कम छैन । दर्जनभन्दा बढी पार्टी छन् । बेला–बेला सहकार्य, कार्यगत एकता र एकीकरणका चर्चा चल्छन्, कतिपय अवस्थामा एकता भएका पनि छन् । तर विडम्बना के छ भने, नेपालका कम्युनिष्टहरू लामो समय मिल्नु र पश्चिमबाट घाम झुल्कनु उस्तै हो भन्ने निराशाजनक धारणा आम रूपमा स्थापित हुँदै गएको छ । कुनै समय समाजवाद र साम्यवादको सपना देखाउने कम्युनिष्ट शक्तिहरू आज आफैँ पुँजीवादको घेराबन्दीमा छन् । सत्तामा पुग्ने, सत्ता जोगाउने र त्यसैका माध्यमबाट शक्ति तथा सम्पत्ति आर्जन गर्ने दौडमा कम्युनिष्टहरू कांग्रेसभन्दा पनि अगाडि बढेको आरोप लाग्दै आएको छ । विचार, सिद्धान्त र आचरण कमजोर हुँदै जाँदा कम्युनिष्ट र गैरकम्युनिष्टबीचको भिन्नता जनताले छुट्याउन नसक्ने अवस्था आउनु त्यसैको परिणाम हो ।
हिजो कांग्रेससँग प्रतिस्पर्धा गर्ने कम्युनिष्टहरू आज सत्ता समीकरणका लागि कांग्रेससँगै काँध मिलाउँछन् । कहिले ‘वाम एकता’, कहिले ‘वाम–लोकतान्त्रिक सहकार्य’ र सत्ताको स्वादका लागि राप्रपा लगायतका राजावादी पार्टीसंग समेत सहकार्य गर्ने र त्यसको नारा राष्ट्रवादीहरुबीचको सहकार्य भन्न पनि पछि पर्दैनन् ? यस्तो राजनीतिले प्रश्न उठ्नु स्वाभाविक छ, सत्ता प्राप्तिका लागि सबैसँग मिल्न सकिन्छ भने कम्युनिष्ट हुनुको मौलिक अर्थ के रह्यो ? यही पृष्ठभूमिमा बागलुङका तीन प्रमुख वाम शक्तिका नेताहरूले गलकोटमा बसेर विगतका कमजोरीको समीक्षा गर्दै आगामी दिनमा सुधार गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूको निर्णयमा वर्तमान राजनीतिक परिस्थितिबारे गम्भीर चिन्ता, जनजीविकाका सवाल, लोकतन्त्र र जनअधिकारका विषय तथा सहकार्य र समन्वयको आवश्यकतामाथि जोड दिइएको देखिन्छ । यो सकारात्मक सुरुवात हो ।
तर प्रश्न निर्णयको होइन, कार्यान्वयनको हो ।
विगतमा पनि यस्ता प्रतिबद्धता नभएका होइनन् । केन्द्रमा शीर्ष नेताहरूबीच हुने सहमति तलसम्म आइपुग्दा कहिले सहकार्य र कहिले कटुतामा बदलिएका उदाहरण प्रशस्त छन् । माथि मिल्दा तल चाट्ने र माथि नमिल्दा तल काट्ने प्रवृत्तिले स्थानीय तहको वाम राजनीति कमजोर बनाएको तथ्य लुकाउन सकिँदैन ।
लुम्बिनी प्रदेश सरकार निर्माणका क्रममा केन्द्रमा भएको सहमतिको प्रभाव बागलुङमा पनि परेको छ । त्यसैले अहिलेको गलकोट बैठकलाई केवल त्यही राजनीतिक समीकरणको स्थानीय अभ्यासका रूपमा बुझ्ने कि साँच्चिकै विगतका कमजोरी सच्याउने नयाँ प्रयत्नका रूपमा लिने भन्ने प्रश्न महत्वपूर्ण छ ।
के बागलुङका वामपन्थीहरू केन्द्रको आदेश तामेली गर्ने राजनीतिक संस्कारबाट माथि उठ्न सक्छन् ?
स्थानीय आवश्यकता, जिल्लाको विकास र जनताको भावनालाई केन्द्रमा राखेर निर्णय गर्न सक्छन् ? सत्ता समीकरणभन्दा जनजीविकाका सवाललाई प्राथमिकता दिन सक्छन् ? आफ्नै विगतका कमजोरीमाथि निर्मम समीक्षा गरेर आत्मसुधार गर्न सक्छन् ? पार्टीको आन्तरिक लोकतन्त्र, सुशासन, नेतृत्व हस्तान्तरण र पुस्तान्तरण जस्ता विषयमा जिल्लाका नेताहरुको धारणा के हो ? चार दशक भन्दा बढी समय पार्टीको नेतृत्व एउटै व्यक्तिले गरिरहने, विधि विधान मिचेर वा सच्याएर जे जसरी पनि आफुले नेतृत्व नछोेडेने प्रवृतिप्रति जिल्लाका नेताहरुको धारणा के हो ? सच्याउने भनेको दलको लोकतान्त्रिककरणको आवाज बुलन्द गर्ने पनि पक्कै पर्छ होला ?
स्थानीय निर्वाचन नजिकिँदै गर्दा हुने सहकार्य केवल चुनाव जित्ने रणनीति बन्नु हुँदैन । यदि सहकार्यको उद्देश्य उम्मेदवार जिताउनु मात्रै हो भने त्यो राजनीतिक गणित हो; जिल्लाको आर्थिक–सामाजिक रूपान्तरण, सुशासन र समाजवादको आधार निर्माण गर्ने हो भने त्यो राजनीतिक प्रतिबद्धता हो । अब बागलुङका वाम शक्तिले स्पष्ट गर्नुपर्ने समय आएको छ, उनीहरूको एकता चुनावी तालमेलका लागि हो कि राजनीतिक संस्कार परिवर्तनका लागि ?
माथि पानी पर्दा तल छाता ओढ्ने कि आफ्नै आवश्यकताअनुसार बाटो बनाउने ?
विगतका कमजोरी सच्याउने प्रतिबद्धता आफैँमा स्वागतयोग्य छ । तर के सच्याउने ? कसरी सच्याउने ? सत्ता र संगठन सञ्चालनमा कस्तो आचरण अपनाउने ? जनतासँगको सम्बन्ध कसरी पुनःस्थापित गर्ने ? अनि फरक विचार भएका शक्तिसँगको सहकार्यको सीमा र आधार के हुने ?
यी प्रश्नको जवाफ आगामी बैठक र व्यवहारले दिनुपर्नेछ ।
गलकोटमा भएको बैठक इतिहास सच्याउने सुरुवात बनोस्, अर्को एउटा बैठकको निर्णयमा सीमित नहोस् ।
किनकि अहिले बागलुङका वामपन्थीहरूलाई एक ठाउँमा आउनुभन्दा पनि विश्वास फर्काउनुपर्ने चुनौती ठूलो छ । जनताले भाषण होइन, व्यवहारमा परिवर्तन खोजेका छन् ।
अब वामपन्थीहरूको परीक्षा सुरु भएको छ ।