म्याग्दी । म्याग्दी जेसीजले आफ्नो १० हजार दिने यात्रा पूरा गर्न लागेको अवसरमा साविक धौलागिरी अञ्चलस्तरीय १० किलोमिटर पुरुष खुला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ। ‘लेट्स रन १०,००० डेज फर जेसीआई म्याग्दी’ नारासहित प्रतियोगिता २०८३ असोज १८ गते आयोजना गर्न लागिएको हो। म्याग्दी जेसीजले २०८३ कार्तिक ४ गते आफ्नो यात्राको १० हजार दिन पूरा गर्दैछ। उक्त दिन बडादसैँ परेको कारण ऐतिहासिक अवसरलाई लक्षित गर्दै प्रतियोगिता केही अगावै आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगितालाई जेसीआई म्याग्दीको नेतृत्व, सेवा, मित्रता, निरन्तरता र पुस्तान्तरणको यात्राको उत्सवका रूपमा लिइएको छ। प्रतियोगितामार्फत धावकलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुद र स्वस्थ जीवनशैलीप्रति सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक धावकले असोज १६ गतेसम्म नाम दर्ता गराउन सक्नेछन्। दर्ता शुल्क रु. ५०० निर्धारण गरिएको छ। प्रतियोगिताको प्रथम हुने धावकले रु. १५ हजार ९९, द्वितीयले रु. १० हजार ९९ र तृतीयले रु. ७ हजार ९९ सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै, दुई सान्त्वना स्थानका धावकलाई क्रमशः रु. ४ हजार ९९ र रु. २ हजार ५६ सहित प्रमाणपत्र प्रदान गरिने म्याग्दी जेसीजका अध्यक्ष दिनेश कुमार विश्वकर्माले जानकारी दिनुभयो।
म्याग्दी जेसीजको आयोजनामा हुने प्रतियोगिताको समन्वय नेपाल जेसीज क्षेत्र ‘ख’ राष्ट्रिय खेलकुद समितिले गर्नेछ। म्याग्दी जेसीजले प्रतियोगितामा सहभागी हुन सम्पूर्ण धावक तथा खेलप्रेमीलाई आह्वान गरेको छ। प्रतियोगितालाई ‘दौडौँ स्वास्थ्यका लागि, दौडौँ इतिहासका लागि’ भन्ने सन्देशसहित अघि बढाइएको छ।
