• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

दलहरुका दुख : कांग्रेसमा पुननिर्माणको प्रयास, अरूलाई घरझगडा मिलाउनै फसाद

  • २०८३ आश्विन ५, सोमबार

राजनीतिमा खाली ठाउँ धेरै समय खाली रहँदैन । एउटा शक्ति कमजोर हुँदा अर्को शक्तिले त्यसलाई भरिहाल्छ । अहिले नेपाली राजनीतिमा देखिन थालेको नयाँ परिदृश्यलाई यही आँखाबाट हेर्नुपर्ने अवस्था आएको छ । जेनजी आन्दोलनपछि नेपाली कांग्रेसभित्र पुस्तान्तरण र संगठन पुनर्गठनको बहसले गति लियो । विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्दै निर्वाचनमा गएको कांग्रेसले अपेक्षित परिणाम हासिल गर्न नसके पनि त्यसलाई केवल निर्वाचनको अंकगणितबाट मात्रै मूल्यांकन गर्न मिल्दैन । नयाँ पुस्ताले पुरानो नेतृत्वशैलीमाथि प्रश्न उठायो, पार्टीभित्र नेतृत्व हस्तान्तरणको बहसलाई संस्थागत प्रक्रियामा ल्यायो र अहिले १५औँ महाधिवेशनमार्फत त्यसलाई वडा तहसम्म पु¥याएको छ । असोज ३ र ४ गते देशभर वडा अधिवेशन हुँदैछ र त्यसपछि पालिका, क्षेत्रीय हुँदै केन्द्रीय नेतृत्व चयनको प्रक्रिया अघि बढ्दैछ । यसको अर्थ कांग्रेस तत्काल सत्ताको विकल्प भइसक्यो भन्ने होइन । तर संगठनभित्रको निर्वाचन, पुस्तान्तरण र नेतृत्व निर्माणको प्रक्रियाले उसलाई राजनीतिक प्रतिस्पर्धामा पुनः व्यवस्थित हुने अवसर भने दिएको छ । २३२ सदस्यीय ठूलो केन्द्रीय कार्यसमिति, युवाका लागि छुट्टै प्रतिनिधित्व, समावेशी संरचना तथा नयाँ प्रवेशीलाई समेत स्थान दिने विधान संशोधनले कांग्रेसले संगठनात्मक स्वरूप परिवर्तन गर्न खोजेको देखाउँछ ।

अर्कोतिर, सत्ताको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका लागि अब नाराभन्दा शासनको परीक्षा महत्वपूर्ण बनेको छ । पुराना दलको विकल्प, सुशासन, भ्रष्टाचार नियन्त्रण र नयाँ राजनीतिक संस्कारको वाचा गरेर मत प्राप्त गरेको शक्तिले सरकारमा पुगेपछि ती वाचालाई व्यवहारमा कति उतार्छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ । सरकारको कामबारे आलोचना र प्रतिरक्षा दुवै सार्वजनिक छन् । त्यसैले आगामी राजनीतिक मूल्यांकन सामाजिक सञ्जालको लोकप्रियताभन्दा नागरिकको दैनिक जीवनमा देखिने परिणामबाट हुनेछ । रास्वपाले सरकार सञ्चालनसँगै पार्टी संगठनलाई पनि संस्थागत लोकतन्त्रमा कसरी अघि बढाउँछ भन्ने प्रश्न उत्तिकै महत्वपूर्ण छ । उसको पहिलो महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय सदस्य चयन भइसकेको छ ।

वामपन्थी शक्तिको अवस्था पनि कम रोचक छैन । लामो समय नेपालको राजनीतिमा निर्णायक भूमिका खेलेका कम्युनिस्ट दलहरू अहिले नेतृत्व, संगठन, पुस्तान्तरण र आपसी सम्बन्धको प्रश्नमा अल्झिएका छन् । पार्टीभित्र नेतृत्व परिवर्तनको बहस कमजोर हुनु, गुटगत प्रतिस्पर्धा बढ्नु र नयाँ पुस्तालाई पर्याप्त ठाउँ नदिनुले उनीहरूको राजनीतिक पुनरुत्थानलाई चुनौती दिएको छ । अब वामपन्थी दलका लागि केवल विगतको जनमत सम्झेर पुग्ने अवस्था छैन; संगठनभित्रै लोकतन्त्र, पुस्तान्तरण र नयाँ राजनीतिक एजेन्डाको परीक्षण आवश्यक छ ।

कांग्रेसका लागि पनि चुनौती कम छैन । महाधिवेशनमा नयाँ नेतृत्व आएर मात्र पार्टी नयाँ हुँदैन । पुरानो कार्यशैली, गुटगत संस्कार, अवसरवादी गठबन्धन र सत्ताकेन्द्रित राजनीतिक अभ्यास बदलिएन भने नेतृत्वको अनुहार फेरिए पनि राजनीतिक चरित्र उही रहन सक्छ । त्यसैले अहिलेको राजनीतिक प्रतिस्पर्धालाई कांग्रेस भर्सेज रास्वपा वा कांग्रेस भर्सेज वामपन्थी भनेर धारणा बनाउनु हतार हुनेछ । कांग्रेस संगठन मिलाउँदैछ, रास्वपा शासनको परीक्षा दिँदैछ र वामपन्थी शक्तिहरू पुनर्संरचनाको प्रश्नमा छन् । जनताले आगामी दिनमा कसको नाराभन्दा कसको व्यवहार, संगठनभन्दा कसको परिणाम र नेतृत्वभन्दा कसको जवाफदेहिता हेर्छन्—त्यसैले नेपालको राजनीतिक दिशा निर्धारण गर्नेछ ।

राजनीतिमा कसैले आफ्नो ठाउँ दाबी गरेर मात्र ठाउँ पाउँदैन । ठाउँ बनाउने हो भने संगठन, नेतृत्व, नीति र व्यवहार चारै कुरा बदल्नुपर्छ । कांग्रेसको १५औँ महाधिवेशन अहिले त्यही परीक्षाको सुरुवात हो । महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन सक्दा कांग्रेस वर्तमान सत्ताको विकल्प बन्न सक्छ ।

  • २०८३ आश्विन ५, सोमबार