सम्पादकीय । नेपालमा वर्षा, बाढी, पहिरो र डुबान नयाँ समस्या होइनन् । हरेक वर्ष मनसुनसँगै दोहोरिने यस्ता विपद्ले जनधनको क्षति गराउँदै आएका छन् । तर विपद् प्राकृतिक घटना भए पनि त्यसबाट हुने क्षतिको मात्रा भने हाम्रो तयारी, सावधानी र राज्य संयन्त्रको प्रभावकारितामा निर्भर हुन्छ । यसपटक असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको चेतावनीले सबैलाई गम्भीर बन्नुपर्ने अवस्था सिर्जना गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने सम्भावना छ । कोशी, बागमती, मधेश, सुदूरपश्चिम र कर्णालीका केही स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुनसक्ने अनुमान गरिएको छ । हिमाली क्षेत्रमा भारी हिमपात र स्नो स्ट्रोमको जोखिमसमेत औँल्याइएको छ । यस्तो अवस्थामा मौसमसम्बन्धी सूचनालाई सामान्य खबरका रूपमा लिएर बेवास्ता गर्नु गम्भीर भूल हुनेछ ।
भारी वर्षाले नदी तथा खोलामा पानीको सतह बढाउने, पहिरो र भूक्षय निम्त्याउने, गेग्रान बगाउने तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम बढाउने गर्दछ । यसबाट सडक, पुल, विद्युत्, सञ्चार, कृषि, पर्यटन र हवाई यातायात प्रभावित हुनसक्छन् । विशेषगरी नदी किनार, भिरालो भूभाग, पहिरोको जोखिम भएका बस्ती तथा कमजोर संरचनामा बसोबास गर्ने नागरिकले थप सतर्कता अपनाउन आवश्यक छ । सरकारले सुरक्षा निकायलाई ‘अलर्ट’ राखेको, उद्धार सामग्री तयारी अवस्थामा राखेको र स्थानीय तहसम्म पूर्वसूचना प्रवाह गर्ने तयारी गरेको जनाएको छ । सम्बन्धित मन्त्रीहरूले यात्रा गर्नुअघि मौसम र सडकको अवस्था बुझ्न, जोखिमयुक्त क्षेत्रमा नजान तथा प्राप्त सूचनालाई गम्भीरतापूर्वक पालना गर्न आग्रह गरेका छन् । यो आग्रह केवल सरकारी औपचारिकता होइन, नागरिक सुरक्षासँग जोडिएको महत्वपूर्ण सन्देश हो ।
यद्यपि विपद् व्यवस्थापनको जिम्मेवारी सरकार र सुरक्षा निकायको मात्र होइन । नागरिक आफैँ पनि सचेत र जिम्मेवार बन्नुपर्छ । अनावश्यक यात्रा रोक्ने, नदी–खोला र पहिरो जोखिम क्षेत्रमा नजाने, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षामा ध्यान दिने, आपत्कालीन सामग्री तयारी राख्ने र आधिकारिक सूचनामात्र विश्वास गर्ने बानी विकास गर्नुपर्छ । सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना र अफवाहले जोखिम झन् बढाउन सक्छ । चाडपर्व र आवतजावतको समय भएकाले यात्रा गर्नैपर्ने अवस्था भए पनि मौसम, सडक र स्थानीय प्रशासनको सूचना लिएर मात्र यात्रा गरौँ। कृषकले बाली भित्र्याउने काममा पनि मौसम विज्ञको सुझाव र स्थानीय अवस्थालाई ध्यान दिनुपर्छ। स्थानीय तहले जोखिमयुक्त बस्ती पहिचान, उद्धार मार्ग, सुरक्षित आश्रयस्थल र आपत्कालीन सम्पर्क प्रणालीलाई प्रभावकारी बनाउनुपर्छ । विपद् आएपछि उद्धारमा दौडिनुभन्दा विपद् आउनुअघि नै तयारी गर्नु बुद्धिमानी हो । पूर्वसूचना प्राप्त भइसकेको अवस्थामा त्यसलाई बेवास्ता गर्नु साहस होइन, लापरबाही हो । राज्यको तयारी, निकायबीचको समन्वय र नागरिकको सचेत व्यवहारले मात्र सम्भावित क्षति न्यूनीकरण गर्न सक्छ । त्यसैले आगामी दिनमा सबैले मौसमको सूचना नियमित रूपमा लिऔँ, जोखिमबाट टाढा रहौँ र आफू मात्र होइन, परिवार, छिमेकी तथा समुदायलाई समेत सचेत बनाऔँ ।