• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

बागलुङका ४ पालिकामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

बागलुङ । बुधबार बागलुङका ४ स्थानीय तहमा नेपाली कांग्रेसको सर्वसम्मत नेतृत्व चयन सम्पन्न भएको छ । अन्य स्थानीय तहमा नेतृत्व चयनको प्रक्रिया अगाडी बढेको छ ।
बागलुङको ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र ताराखोला गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन सम्पन्न भएको हो ।

ढोरपाटन नगरपालिकाको नगर सभापतिमा दिपक अदै सर्वसम्मत निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न ढोरपाटन नगर अधिवेशनले अदैलाई नगर सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेशनबाट नगर सभापतिमा निर्वाचित अदै सहित सम्पूर्ण पदाधिकारी तथा सदस्य सर्वसम्मत भएको हो । अधिवेशनले ढोरपाटनको नगर उपसभापतिमा श्याम बि.क, कमला बिक, सचिवमा गंगा केसी र सह–सचिवमा कृष्ण बुढा चयन हुनुभएको छ ।

नेपाली कांग्रेस जैमिनी नगरपालिकाको नगर सभापतिमा काशीराम आचार्य सर्वसम्मत निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न जैमिनी नगर अधिवेशनले आचार्यलाई नगर सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो ।

अधिवेशनबाट नगर सभापतिमा निर्वाचित आचार्यसहित सम्पूर्ण पदाधिकारी तथा सदस्य सर्वसम्मत भएको नेपाली कांग्रेसका सचिव हरिहर शर्माले जानकारी दिनुभयो ।
उपसभापतिमा गोबिन्द बहादुर शाही, उपसभापतिमा जमुना कँडेल सापकोटा, सचिवमा ओमकार शर्मा र सह–सचिवमा रन बहादुर क्षत्री चयन हुनुभएको छ । नेपाली कांग्रेस ताराखोला गाउँपालिकाको सभापतिमा भीमबहादुर रोका सर्वसम्मत चयन हुनुभएको छ । गाउँपालिका अधिवेशनले रोकाको सभापतित्वमा गाउँपालिका कार्यसमिति सर्वसम्मत चयन गरेको छ । ताराखोला गाउँपालिका उपाध्यक्ष समेत रहनुभएका रोका पार्टीको सभापतिमा चयन हुनुभएको हो । त्यसैगरि नेपाली कांग्रेस बरेङ गाउँ सभापतिमा मोतिराम गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न बरेङ गाउँ अधिवेशनले गौतमलाई गाउँ सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो ।
अधिवेशनबाट गाउँ सभापतिमा निर्वाचित गौतम सहित सम्पूर्ण पदाधिकारी तथा सदस्य सर्वसम्मत भएको छ । १५औँ महाधिवेशनअन्तर्गत जिल्लाका अन्य स्थानीय तहमा पनि पालिका अधिवेशनको प्रक्रिया अगाडी बढेको छ ।