बागलुङ । लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा दोस्रो‘ढोरपाटन लायन्स ब्याडमिन्टन कप–२०८३’ सम्पन्न भएको छ ।
गत शनिबारदेखी सुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो । प्रतियोगितामा ४५ वर्षमाथिको राष्ट्रिय भेट्रान्स, ५५ वर्षमाथिको राष्ट्रिय सुपर भेट्रान्स, ‘बी’ लेभल खुला राष्ट्रिय र अन्तर– धौलागिरी ‘सी’ लेभल स्पर्धा समावेश गरिएको थियो ।
स्थानीयसँगै काठमाडौं, पोखरा, बुटवल, चितवन, गुल्मी, रुकुमसहित देशका विभिन्न भागबाट खेलाडीले उल्लेख्य सहभागिता जनाएका थिए ।
प्रतियोगिताको राष्ट्रिय सुपर भेट्रान्स (५५ वर्षमाथि)को स्पर्धामा गुल्मीका खगेन्द्र रेगामी मगर र तेज गलामी मगरको जोडी पहिलो तथा कास्कीका राजु श्रेष्ठ र प्रेमप्रसाद गुरुङको जोडी दोस्रो भए ।
उक्त स्पर्धामा कास्कीका प्रेमप्रसाद गुरुङ र रामबहादुर गुरुङ तथा बुटवलका गोपाल टन्डन र सरोज थापाको जोडी संयुक्त रूपमा तेस्रो भए ।
यसैगरी, राष्ट्रिय भेट्रान्स (४५ वर्षमाथि)को स्पर्धामा कास्कीका राजु गुप्ता र राजेन्द्र वाग्लेको जोडी पहिलो तथा कास्कीकै विरु थापा र विष्णुबहादुर अधिकारीको जोडी दोस्रो भए ।
उक्त स्पर्धामा चितवनका केवल न्यौपाने र शंकर श्रेष्ठ तथा बुर्तिबाङका राम सुवेदी र कृष्ण रानाको जोडी संयुक्त रूपमा तेस्रो भए । यसैगरी, ‘बी’ लेभल खुला राष्ट्रिय स्पर्धामा वाणगंगाका गिरु राना र तेजु मगरको जोडी पहिलो र तनहुँका सफल भुजेल र ललित बोहोराको जोडी दोस्रो भए ।

उक्त स्पर्धामा गुल्मीका संजोग थापा र राजन काउचा तथा रुकुमका पौल ठकुरी र गोविन्द मगरको जोडी संयुक्त रूपमा तेस्रो भए । यसैगरी, अन्तर–धौलागिरी ‘सी’ लेभल स्पर्धामा पर्वतका रामराज सुवेदी र आविष्कार जिसीको जोडी पहिलो तथा भीम गिठेका रेशम थापा र रामेश्वर खत्रीको जोडी दोस्रो भए । उक्त स्पर्धामा बुर्तिबाङका राजेन्द्र पवी र मिथुन पवीको जोडीले तेस्रो स्थान हासिल ग¥यो । प्रतियोगिताका विजयी खेलाडीलाई बुधबार नै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो । ४५ वर्षमाथि राष्ट्रिय भेट्रान र ५५ वर्षमाथि राष्ट्रिय सुपर भेट्रान विधामा प्रथम हुने खेलाडीले ५० हजार, द्वितीयले ३५ हजार र तृतीय हुने खेलाडीले १० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे । यसैगरी, ‘बी’ लेभल खुला राष्ट्रिय प्रतियोगितामा पनि प्रथम हुनेले ५० हजार, द्वितीयले ३५ हजार र तृतीय हुनेले १० हजार रूपैयाँ पुरस्कार पाए । अन्तर–धौलागिरी ‘सी’ लेभल स्पर्धामा प्रथम हुनेले ४० हजार, दोस्रोले २५ हजार र तेस्रो हुने खेलाडीले १४ हजार रूपैयाँ पुरस्कार हात पारे ।

प्रतियोगिताको आयोजक लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष हेमेन्द्र घर्तीले यो प्रतियोगिताले स्थानीय खेलाडीलाई राष्ट्रियस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै यस क्षेत्रको खेलकुद गतिविधिलाई चलायमान बनाउन मद्दत पु¥याएको बताउनु भयो । कार्यक्रमको उट्घातन समारोहको प्रमुख अतिथि ढोरपाटन नगरपालिका कार्यवाहक नगरप्रमुख धन बहादुर कायत कल्याणले गरेका थिए भने समापन समारोहको प्रमुख अतिथि लोकान्तर डटकमका प्रधान सम्पादक बिमल गौतम रहनुभएको थियो ।