• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

बागलुङ दूग्ध उत्पादक सहकारी संघको २५ औं साधारणसभा

  • २०८३ आश्विन ९, शुक्रबार

बागलुङ । दूध उत्पादनसँगै प्रशोधन र बजारीकरणमा नमुना बनेको बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको २५औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

संघमा आबद्ध १५ वटा दुग्ध सहकारीका प्रतिनिधिको सहभागितामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटन गर्दै भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा. भरत रेग्मीले सहकारीमार्फत सहरको रकम गाउँसम्म पु¥याउने काम भएको बताउनुभयो ।

उहाँले दुग्ध किसानलाई एकीकृत गरी दूध उत्पादन, प्रशोधन तथा बजारीकरणमा संघले महत्वपूर्ण योगदान पु¥याएको भन्दै बागलुङलाई दूधमा आत्मनिर्भर बनाउन सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

“गाउँको रकम सहर आउने अवस्थामा दुग्ध उत्पादन यस्तो पेशा हो, जसले सहरको रकम गाउँमा पु¥याउँछ,” डा. रेग्मीले भन्नुभयो, “सहकारीमार्फत दुग्ध उत्पादनमा भएको क्रान्ति नेपालमै नमुनाका रूपमा रहेको पाइयो ।”

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले नौ लाख लिटर दूधमा अनुदान दिने कार्यक्रम रहेको जानकारी दिँदै उहाँले सहकारीमार्फत दूधको बजारीकरण गर्दा किसानले अनुदानसमेत प्राप्त गर्न सहज हुने बताउनुभयो । गाउँ–गाउँमा गाईभैँसी पालन तथा व्यावसायिक फार्म स्थापना गर्न सहकारीले सहयोग गर्दै आएको उहाँको भनाइ थियो ।

साधारणसभामा संघका सचिव गोविन्दप्रसाद सापकोटाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष केशवप्रसाद कँडेलले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक मणिभद्र कँडेलले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष खिम कार्कीले सहकारीप्रतिको निराशा र भ्रम चिर्न दुग्ध सहकारी राम्रो उदाहरण बनेको बताउनुभयो ।

बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका १५ वटा सहकारीमार्फत संकलन गरिएको दूध संघले संकलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ । संघले आर्थिक वर्ष २०८२/८३ मा रु. १३ करोड १० लाख ६० हजार आम्दानी गरेको छ । सो अवधिमा रु. १२ करोड ५९ लाख ८१ हजार ५०० खर्च भई रु. ५० लाख ७८ हजार ५०० बचत भएको संघले जनाएको छ ।

संघले दूधसँगै दही, छर्पी, मोही, घ्यू र पनिर उत्पादन तथा बिक्री गर्दै आएको छ । साधारणसभाका अवसरमा उत्कृष्ट कर्मचारीका रूपमा रुद्रप्रसाद उपाध्यायलाई नगद रु. चार हजारसहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

संघका अध्यक्ष दीपक गौतमको अध्यक्षता, उपाध्यक्ष रामबहादुर हमालको स्वागत र सचिव गोविन्दप्रसाद सापकोटाको सञ्चालनमा साधारणसभा सम्पन्न भएको हो ।

  • २०८३ आश्विन ९, शुक्रबार