बागलुङ । बागलुङको जैमिनी नगरपालिका र बागलुङ नगरपालिकाका १ सय ४० घर तथा व्यवसाय बाढी तथा पहिरोको उच्च जोखिममा रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ नगरपालिकाका १ सय ११ घर तथा व्यवसाय र जैमिनी नगरपालिकाका २९ परिवारलाई उच्च जोखममा रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।
कालिगण्डकी नदी तथा विभिन्न खोलाको तटमा बसोबास रहेका तथा पहिरोको उच्च जोखिममा रहेका परिवारलाई नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको सूचना हेरेर सचेत रहन आग्रह गरिएको छ ।
बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले बागलुङ नगरपालिकाको निरयघाट, माझीबस्ती, मालढुङ्गा, ढोडेनी, दब्ल्याङ, कालाखोला, भाटेखोला, तैवे, नयाँपुल, देवलवगर र वोरका ४ सय १६ जना उच्च जोखिममा रहेको भन्दै वर्षाका कारण नदी तथा खोलामा पानीको बाहाव बढ्न सक्ने, आकस्मिक बाढी, पहिरो, डुबान तथा नदी किनारमा कटानको जोखिम बढ्ने भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गर्नुभयो ।
उहाँले जैमिनी नगरपालिकाको जैमिनीघाट, बेलबगर र बाँजाखेतका २९ परिवारका २ सय ९० जना जोखिममा रहेको बताउनु भएको छ । उहाँले बागलुङ नगरपालिका र जैमिनी नगरपालिकालाई जोखिम क्षेत्र, त्यहाँ बसोबास गर्ने व्यक्तिको नाम र नम्बर समेत उपलब्ध गराएर सचेत रहन आग्रह गरेको बताउनुभयो ।
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा गण्डकी प्रदेशका केही स्थानमा असोज ८ गते बिहीबारदेखि ११ गतेसम्म अति भारीदेखि भारी वर्षा हुने पूर्वानुमान गरेको भन्दै उहाँले आकस्मिक बाढी आउने, भेल बग्ने, डुबान हुने तथा नदी र खोलाको आसपास पहिरो जाने जोखिम उच्च रहने भन्दै उहाँले खोलाको किनारमा माछा मार्ने, पौडी खेल्ने, नुहाउने, लुगा धुने, दाउरा, बालुवा तथा गिट्टी निकाल्ने वा अन्य कुनै गतिविधि नगर्न आग्रह गर्नुभयो ।
प्रजिअ आचार्यले सवारी चालकलाई पनि सचेत भएर सवारी चलाउन आग्रह गर्नुभएको छ । उहाँले नदी तथा खोलाको किनारमा सवारीसाधन रोक्ने र पार्किङ गर्ने काम नगर्न आग्रह अनुरोध गर्नुभयो ।
बागलुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठले बाढी र पहिरोबाट मात्र नभएर चट्याङ र हावाहुरीबाट समेत जोगिनलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्नु भएको छ । उहाँले शुक्रबार बागलुङ नगरपालिकाका विद्यालय बन्द गर्ने निर्णय गरिएको भन्दै अति आवश्यक नपरे घरबाहिर ननिस्कन सबैलाई आग्रह गर्नु भएको छ ।
