बागलुङ । बागलुङको बडिगाडमा एक महिला बाटोमै सुत्केरी भएकी छिन्।
बडिगाड गाउँपालिका–३ की २५ वर्षीया सरिता थापालाई प्रसव पीडा सुरु भएपछि डोकोमा बोकेर स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा आइतबार बिहान बाटोमै शिशु जन्म भएको हो।
असोज ८ गतेदेखि परेको पानी र हावाहुरीका कारण सडक अवरुद्ध भएपछि उहाँलाई स्वास्थ्य चौकी पु¥याउन कठिनाइ भएको थियो। शनिबार रातिदेखि नै प्रसव पीडा सुरु भएकी थापालाई परिवारले मोबाइल नेटवर्क नचलेपछि करिब दुई महिला स्वास्थ्य स्वयंसेविका तारा थापालाई घरमै बोलाएका थिए।
आइतबार बिहानसम्म विभिन्न ठाउँमा सम्पर्क गर्ने प्रयास असफल भएपछि डोकोमा बोकेर सिसाखानी स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमै प्रसूति भएको महिला स्वास्थ्य स्वयंसेविका तारा थापाले जानकारी दिनुभयो।
प्रसूति पछि आमा र नवजात शिशुलाई सुरक्षित रूपमा घरमा ल्याइएको उहाँले बताउनुभयो।