• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

गाउँ रित्तिए, व्यक्तिगत र सरकारी संरचना पनि रित्तिँदैछन्, के छन् त सुधारका योजना ?

  • २०८३ आश्विन १४, बुधबार

सम्पादकीय । नेपालका गाउँहरूबाट मानिस मात्र बसाइँ सरेका छैनन्, गाउँको अर्थतन्त्र, सामाजिक सम्बन्ध र पुस्तौँको श्रम पनि विस्तारै पलायन भइरहेको छ । अहिले त अवस्था यतिसम्म पुगेको छ कि गाउँमा मानिस खोज्नुपर्ने मात्र होइन, मानिसले बनाएका घर, विद्यालय, स्वास्थ्यचौकी, सामुदायिक भवन र मन्दिरसमेत संरक्षण खोज्नुपर्ने अवस्था आएको छ । अनलाइनखबरले हालै प्रकाशित गरेको एक ‘रित्ता घरको अर्थशास्त्र’ सम्बन्धी सामग्रीले नेपालमा बस्नयोग्य करिब ४ लाख ७२ हजार घर खाली रहेको र ती संरचनामा लगानी भएको रकमलाई औसत हिसाब गर्दा करिब १० खर्ब रुपैयाँ बराबरको सम्पत्ति उपयोगविहीन अवस्थामा रहेको देखाएको छ । गण्डकी प्रदेशमा मात्रै ७.८ प्रतिशत घरमा मानिस बसोबास नगर्ने तथ्यसमेत प्रस्तुत गरिएको छ । तर प्रश्न घरको मात्रै होइन ।

हिजो गाउँकै विद्यालयमा पढेका धेरै मानिसले देश–विदेशमा राम्रो प्रगति गरे । गाउँकै सामुदायिक विद्यालयबाट पढेर डाक्टर, इन्जिनियर, शिक्षक, प्रशासक, पत्रकार, व्यवसायी र राजनीतिक नेतृत्वमा पुगेका उदाहरण कम छैनन् । तर पछिल्लो करिब तीन दशकमा गाउँको शिक्षा प्रणालीप्रति विश्वास घट्दै गयो । निजी विद्यालय, त्यो पनि बजारकेन्द्रित विद्यालयमा छोराछोरी पढाउने मोह बढ्यो । गाउँमा खुलेका निजी विद्यालयहरू क्रमशः बन्द भए, जबरजस्ती बन्द गराइयो । गाउँको शिक्षा गाउँमै टिकाउने आधार कमजोर हुँदै गयो । यससँगै गाउँको सामाजिक संरचना पनि बदलियो । गाउँमा अलिकति राम्रो घर भएका, व्यापार–व्यवसाय गर्ने, रोजगारी सिर्जना गर्ने वा आर्थिक हैसियत भएका मानिसलाई प्रोत्साहन गर्नेभन्दा उनीहरूलाई ‘सामन्त’को आँखाले हेर्ने प्रवृत्ति बढ्यो । गाउँको नेतृत्व, उद्यम र स्थानीय पुँजीलाई उत्पादनमा लगाउने वातावरण बन्न सकेन । परिणामतः गाउँमा अवसर खोज्नेभन्दा अवसर खोज्दै गाउँ छोड्ने प्रवृत्ति बलियो भयो । सडक गाउँ पुग्यो, तर रोजगारी पुगेन । बिजुली पुग्यो, सञ्चार पुग्यो, इन्टरनेट पुग्यो; तर उत्पादन र बजार जोडिएन । गाउँको खेत बाँझियो, घरमा ताला लाग्यो र परिवार सहर तथा विदेशतिर स¥यो । अनलाइनखबरको विश्लेषणले पनि सडकसँगै रोजगारी, कृषि, होमस्टे र स्थानीय अर्थतन्त्र विकास गर्ने नीति कमजोर हुँदा भौतिक विकासले गाउँ भर्न नसकेको प्रश्न उठाएको छ ।

अब दृश्य अझ भयावह हुँदैछ । गाउँका निजी घरहरू जीर्ण छन् । त्यतिमै सीमित छैन । कतिपय गाउँको स्वास्थ्यचौकीमा बिरामी छैनन्, विद्यालयमा विद्यार्थी घटिरहेका छन्, सामुदायिक भवनमा कार्यक्रम हुँदैन, मन्दिरमा नियमित पूजा गर्ने मानिस घटेका छन् । कतिपय ठाउँमा सरकारी लगानीमा बनेका संरचना आफैँ संरक्षण खोजिरहेका छन् । त्यसैले अब प्रश्न ‘गाउँमा घर कसरी भर्ने ?’ मात्र होइन, ‘गाउँमा मानिस कसरी रोक्ने ?’ भन्ने हो । गाउँमा मानिस रोक्न घरको रंगरोगन गरेर मात्र पुग्दैन । गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन, स्थानीय उद्योग, डिजिटल सेवा र बजारको सुनिश्चितता चाहिन्छ । गाउँको बाँझो जमिनलाई उत्पादनसँग जोड्नुपर्छ । रित्तिएका घरलाई होमस्टे, उद्यम, पर्यटन वा सामुदायिक प्रयोगमा ल्याउन सकिन्छ । विदेश र सहरमा रहेका गाउँलेको पुँजी र सीपलाई गाउँसँग जोड्ने नीति चाहिन्छ ।

गाउँ रित्तिँदा एउटा घर मात्र रित्तिँदैन । एउटा विद्यालयको भविष्य रित्तिन्छ, एउटा स्वास्थ्यचौकीको औचित्य कमजोर हुन्छ, एउटा खेत बाँझिन्छ, एउटा मन्दिर सुनसान हुन्छ र एउटा पुस्ताको गाउँसँगको सम्बन्ध टुट्छ । अब पनि नसोच्ने हो भने भोलि हामीले पुर्खाको घर हेर्न गाउँ जानेछौँ, तर त्यहाँ घर मात्र भेटिनेछ—घरमा बस्ने मान्छे, विद्यालयमा पढ्ने विद्यार्थी र गाउँलाई जीवन दिने समाज भेटिने छैन । गाउँ बचाउने प्रश्न अब भावनाको मात्र होइन, अर्थतन्त्र, जनशक्ति र सभ्यता बचाउने प्रश्न हो ।

  • २०८३ आश्विन १४, बुधबार