बागलुङ । बागलुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । असोज ९ देखि ११ गते सम्म आएको अविरल वर्षापछि आएको पहिरोमा परी १२ जनाको मृत्यु भएको थियो भने एक वेपत्ता थिए ।
वेपत्ता तमानखोला गाउँपालिका–४ स्थित सन्तर निवासी ५३ वर्षीया पुनसरा बिकको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईँले जानकारी दिनुभयो । तमानखोलामा असोज ११ गते आएको पहिरोमा परी बिक वेपत्ता हुनुभएको थियो ।
वेपत्ताको शव फेला परेपछि बागलुङमा अविरल वर्षापछि आएको विपद्मा परि मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
पहिरोले घर पुरिदा निसीखोला गाउँपालिकामा पाँच, तमानखोला गाउँपालिकामा पाँच र ताराखोला गाउँपालिकामा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तमानखोला गाउँपालिकाका बुध्दिराज घर्ती, भिमदेवि घर्ती, हस्तविर श्रीपाली र उडिसरा श्रीपालीको मृत्यु भएको छ ।
यस्तै निसीखोला गाउँपालिकाका सुर्ज बहादुर घर्ती, श्याम कुमारी बिक, मनोज बिक, मुकेश बिक र निशान बिकको मृत्यु भएको छ । यस्तै ताराखोला गाउँपालिकामा मनबहादुर रोका, दिलबहादुर पुन र नरमाया रोकाको मृत्यु भएको हो ।