बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बागलुङ क्षेत्र नं.१ मा सम्पन्न भएको अधिवेशन प्रक्रियामा नयाँ मोड आएको छ ।
पार्टीभित्र सहमति र सम्मानजनक सहभागिताको वातावरण नबनेको भन्दै क्षेत्रीय सभापती पदका उम्मेदवार नारायणप्रसाद श्रेष्ठ पक्षले आफ्नो प्यानलबाट मनोनयन भएका सम्पूर्ण उम्मेदवारको उम्मेदवारी फिर्ता लिएको जनाएको छ । श्रेष्ठले असोज १५ गते जारी गरेको अपिलमा आफ्नो प्यानलबाट उम्मेदवारी दिएका सबै साथीहरूले एकमुष्ट रूपमा उम्मेदवारी फिर्ता लिई निर्वाचन प्रक्रियाबाट बाहिरिने निर्णय गरेको उल्लेख गर्नु भएको छ । पार्टीको १५औँ महाधिवेशनलाई सफल बनाउन वडा तथा स्थानीय तहदेखि नै उत्साहपूर्वक तयारीमा सहभागी हुँदै आएको उल्लेख गर्दै उहाले विशेष महाधिवेशनपछि उत्पन्न विभाजन तथा निर्वाचन आयोगका निर्णयलगायतका राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर नियमित महाधिवेशनको पक्षमा आफूहरू सक्रिय रहेको बताउनु भएको छ ।
वडा तहका अधिवेशनमा कतिपय ठाउँमा विवाद देखिए पनि त्यसलाई समाधान गर्दै अघि बढेको उल्लेख गर्दै श्रेष्ठले बागलुङ क्षेत्र नं। १ का सबै तहका अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने धारणा आफूहरूले राखेको बताउनु भएको छ ।
यसैक्रममा पालिका तहको अधिवेशनमा उम्मेदवार मनोनयनदेखि निर्वाचन प्रक्रियामा प्रवेश गर्नुअघि दुई पक्षबीच विभिन्न चरणमा सहमति कायम गर्ने प्रयास भएको उहाको भनाइ छ । तर, छलफल र वार्ताका क्रममा सहमतिको वातावरण बन्न नसकेको तथा बागलुङ नगर कार्यसमितिको नेतृत्व एकतर्फी रूपमा चयन गरिएको उहाले आरोप लगाउनु भएको छ ।
श्रेष्ठले आगामी प्रदेश, क्षेत्र तथा जिल्ला अधिवेशनमा सबै पक्षको सम्मानजनक सहभागिता हुने अपेक्षा गरिएको भए पनि त्यसअनुसारको वातावरण बन्न नसकेको उल्लेख गर्नु भएको छ ।
उहाका अनुसार क्षेत्रीय अधिवेशनको प्रक्रिया सुरु भएपछि क्षेत्रीय सभापति, प्रदेश प्रतिनिधि, महाधिवेशन प्रतिनिधिलगायत विभिन्न पदमा सम्मानजनक सहभागिताका लागि तयारी गरिएको थियो । बागलुङ क्षेत्र नं। १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, प्रदेश तहका नेता तथा अन्य जिम्मेवार व्यक्तिहरूको उपस्थितिमा दुवै पक्षको सम्मानजनक सहभागितासहित नेतृत्व चयन हुनेमा आफूहरू विश्वस्त रहेको पनि पत्रमा उल्लेख छ ।
तर, पटक–पटक भएका दुईपक्षीय बैठकमा राखिएका प्रस्तावबाट आफ्नो पक्षको अस्तित्व स्वीकार नगरिएको अनुभूति भएको श्रेष्ठको भनाइ छ । उहाले जिल्ला तहका पूर्व पार्टी सभापति, गण्डकी प्रदेशका कोषाध्यक्ष, पूर्व केन्द्रीय सदस्यलगायत जिम्मेवार व्यक्तिहरू सम्मिलित गरी प्यानल बनाएर मनोनयन गरिएको भए पनि त्यसलाई समेत स्वीकार गर्ने वातावरण नबनेको अपिलमा जनाउनु भएको छ ।
लामो समयदेखि पार्टीमा सहकार्य गर्दै आएका नेता–कार्यकर्तामाथि निषेधको राजनीति सुरु भएको महसुस भएको भन्दै श्रेष्ठले असन्तुष्टि व्यक्त गर्नु भएको छ । आफूहरूले पार्टी गलत बाटोमा जान नदिन निरन्तर खबरदारी गरिरहेको उल्लेख गर्दै उहाले पार्टीभित्र सहमति र सहकार्यको वातावरण निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।
“हाम्रो प्यानलबाट मनोनयन भएका सम्पूर्ण साथीहरूले एकमुष्ट रूपमा उम्मेदवारी फिर्ता लिई निर्वाचन प्रक्रियाबाट बाहिरिने निर्णय गरेका छौ्,” श्रेष्ठले जारी गरेको अपिलमा भनिएको छ । यद्यपि उहाले उम्मेदवारी फिर्ता लिए पनि पार्टीको एकता र अभियानप्रति आफ्नो प्रतिबद्धता कायमै रहेको बताउनु भएको छ । उम्मेदवारी दिने तथा फिर्ता लिने क्रममा सहभागी सम्पूर्ण उम्मेदवार साथीहरूप्रति आभार व्यक्त गर्दै उहाले पार्टीको एकता अभियानमा विश्वास गरी मतदान गर्न तयार रहेका क्षेत्रीय प्रतिनिधिहरूप्रति समेत क्षमायाचना गर्नु भएको छ ।
श्रेष्ठले नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य र मान्यतालाई अझ बलियो बनाउने तथा पार्टीको एकता र संगठन सुदृढीकरणका लागि निरन्तर लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ ।
उहाले आगामी असोज १८ गते सम्पन्न हुने नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सबै साथीहरूलाई सक्रियतापूर्वक सहभागी हुनसमेत अपिल गर्नु भएको छ ।
क्षेत्रीय अधिवेशनले खड्क बहादुर थापा मगरको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको जनाएको छ ।